राजनीति


विधेयक सच्याउन माग गर्दै रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना

विधेयक सच्याउन माग गर्दै रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १२:४१, काठमाडौँ

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा धर्ना दिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकार र महासंघबीच विगतमा भएका सहमतिअनुसार विधेयक सच्याउन दबाब दिने उद्देश्यले पहिलो चरणको आन्दोलन अन्तर्गत धर्ना कार्यक्रम सञ्चालन गरिएको हो। महासंघले भदौ २० सम्म धर्ना जारी राख्ने जनाएको छ।

संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको विद्यालय शिक्षा विधेयकमा महासंघका मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रिएको महासंघले सार्वजनिक शिक्षालाई उन्नत गर्न शिक्षक, कर्मचारी र महासंघका माग सम्बोधन गर्नु अपरिहार्य रहेको जनाएको छ।

महासंघले अस्थायी शिक्षकको पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको छ। तर समितिले विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्था गर्दै प्रतिनिधि सभामा पठाएको छ।

त्यसैगरी विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, बालकक्षा शिक्षकको सेवा-सुविधा स्पष्ट नभएको र संस्थागत विद्यालयका शिक्षकको सरुवा प्रणाली अव्यवहारिक रहेको भन्दै महासंघ असन्तुष्ट भएको छ।

विद्यालय शिक्षा विधेयक भदौ ५ मा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको थियो। विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad