कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवार आइतबार टुंगो लगायो। आन्तरिक रूपमा विभिन्न चरणका परीक्षणबाट रास्वपाले ९ जना आकांक्षीमध्येबाट डा लेखजंग थापालाई उम्मेदवार छानेको हो।
जब उनी उम्मेदवारका रूपमा रास्वपाले घोषणा गर्यो, त्यसपछि उनको दाम्पत्य जीवनका विषयमा प्रश्न उठ्यो? उनीमाथि बहुविवाहको आरोप अहिले रास्वपा र उनी आफैँलाई पनि टाउको दुखाइको विषय बनेको छ।
उनका दुई श्रीमती अहिले पनि सँगै रहेको भन्दै बहुविवाह गर्ने व्यक्तिलाई रास्वपाले टिकट दिएको भन्दै सामाजिक सञ्जालमा 'जान्नेलाई छान्ने' भन्ने रास्वपाको नारासँग जोडेर व्यंग्य गरिरहेका छन्।
थापा ०७९ को प्रतिनिधि सभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार सूचीमा थिए। उनको नाम उम्मेदवारको बन्द सूचीमा अझै रहेको भनेर पनि आलोचना भइरहेको छ।
बहुविवाह र समानुपातिक सूचीमा नाम रहेको विषयमा रास्वपाका शीर्ष नेताले थापासँग सोधपुछ गरिसकेको एक नेताले जानकारी दिए। उनीसँग सोधपुछ गरिसकेपछि रास्वपाभित्र ४ प्रकारका बुझाइ देखिएका छन्-
१. टिकटका आकांक्षीहरूले नै विवाद उचाले
रास्वपाभित्र रुपन्देही–३ को टिकटका आकांक्षीहरू ९ जना थिए। तीमध्ये जसले टिकट पाएनन्, उनीहरूले नै थापामाथि प्रश्न उठाएको हुन सक्ने केही नेताहरूले बताए।
आन्तरिक निर्वाचनको मत परिणाम सार्वजनिक नहुनु, मतदाताले मत दिन नपाएको भन्ने विषय सार्वजनिक हुनुले पनि उनको विवादमा थप बल पुगेको रास्वपाका नेताको बुझाइ छ।
२. नाउपाको बन्द सूचीमा नाम
थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीका सदस्य थिए। उनलाई ०७९ को प्रतिनिधि सभाको निर्वाचनमा नाउपाले खस आर्यतर्फको समानुपातिक सूचीमा उम्मेदवार बनाएको थियो।
उनले चार महिनाअघि मात्र राजीनामा दिएर समानुपातिक बन्दसूचीबाट नाम हटाउन अध्यक्ष रञ्जिता श्रेष्ठलाई पत्र बुझाएका थिए। रञ्जिताले राजीनामा स्वीकृत गरेर निर्वाचन आयोगलाई उनको नाम बन्दसूचीबाट हटाउन पत्राचार गरेको पाइएको छ। जसअनुसार आयोगले गत साउन २१ गते मात्रै उनको नाम बन्द सूचीबाट हटाएको जानकारी दिएको थियो। रुपन्देही-३ मा उपनिर्वाचन हुने भएपछि थापा रास्वपासँग नजिक भएका थिए।
३. उम्मेदवार छनोट प्रक्रिया
रास्वपाले उम्मेदवार छनोटमा बेग्लै शैली अपनाएको छ। अन्य विषयमा अनेक टीकाटिप्पणी भए पनि छनोट शैलीमा भने रास्वपाले प्रशंसा नै धेरै पाएको छ।
रास्वपाले एउटा मापदण्ड बनाएर उम्मेदवार छनोटका लागि सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको थियो। उक्त समितिले उम्मेदवारको आकांक्षीको नाम संकलन, स्थानीय तहमा आकांक्षीको घरदैलो, पार्टी नेतृत्वसँग एक्काएक्लै अन्तर्क्रिया, सामूहिक छलफल र प्राइमरी इलेक्सन गरेर उम्मेदवार छनोट गरेको हो।
रास्वपाले अपनाएको निर्णय प्रक्रिया नै अन्य दलसँग अलग देखिने आधारभूत विशेषता भएकाले पहिलोपल्ट नै यो निर्णय उल्टाउनुपरे राम्रो सन्देश जाँदैन भन्ने एकथरीको बुझाइ छ।
४. सचिवालयको छानबिन र निर्णय
रास्वपाका एक पदाधिकारीका भनाइमा थापाको वैवाहिक स्थितिका विषयमा पहिला नै कुरा उठेको थियो र सचिवालयले छानबिन पनि गरेको थियो।
ती पदाधिकारी भन्छन्, ‘सम्बन्ध विच्छेद भएको पाइयो। सम्बन्ध विच्छेद भएपछि पहिलाकी श्रीमतीसँग सम्बन्ध नराम्रो नै हुनुपर्ने हो र? सम्बन्ध सुमधुर हुनु त झन् राम्रो कुरा हो नि।’
अर्का एक पदाधिकारीले पछिल्लो श्रीमतीसँगको विवाह दर्ता भइसकेको कारण पनि अब विवाद बढाउन नहुने तर्क गरे।
‘पहिलेको श्रीमतीसँग सम्बन्ध विच्छेद भएर नै कान्छीसँगको विवाह दर्ता भयो होला नि,’ ती पदाधिकारी तर्क गर्छन्।
ती नेताका अनुसार, पार्टी सचिवालयले थापासँग यी विषयमा पहिले नै सोधपुछ गरेको थियो। उनी भन्छन्, 'उहाँको परिवार दुईवटा थियो भन्ने कुरा उठेपछि पार्टीले पहिले नै सोधेको हो। सोधेर एकसँग सम्बन्ध विच्छेद भएको भनेपछि यो निर्णय लिइएको हो। यो विषयले यति ठूलो रूप लिन्छ भन्नेचाहिँ अनुमान थिएन।’
Shares

प्रतिक्रिया