राजनीति


निजामती विधेयकको छलफल छोडेर हिँडिन् मन्त्री न्यौपाने, अवकाशको उमेरबारे मिलेन कुरा

निजामती विधेयकको छलफल छोडेर हिँडिन् मन्त्री न्यौपाने, अवकाशको उमेरबारे मिलेन कुरा

नेपालखबर
भदौ १६, २०८२ सोमबार १५:९, काठमाडौँ

संघीय निजामती सेवा विधेयकको विषयमा छलफल जारी रहँदा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने बीचमै निस्किएकी छन्।

सोमबार विधायन व्यवस्थापन समितिमा निजामती विधेयकबारे छलफल जारी रहँदा समय मागेर मन्त्री न्यौपाने निस्किएको समिति सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन्।  

‘मन्त्रीज्यू केही समय चाहियो भनेर बैठकबाट निस्किनुभयो,’ उनले नेपालखबरसँग भनिन्, ‘मैले नजानू भन्ने कुरा पनि भएन।’ 

उनले यो विषयमा सरकार र प्रतिपक्षी दुवैले पेचिलो बनाइरहेको पनि बताइन्। निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको विषयमा सत्तारुढ दल र प्रतिपक्षीबीच सहमति जुटेको छैन।  

मन्त्री निस्किए पनि सांसदहरू भने अहिले पनि बैठक कक्षमै रहेको दाहालको भनाइ छ। सांसदहरूले यसबारे आजै ठोस निर्णय गर्नुपर्ने भन्दै दबाब दिइरहेको पनि बताएन्।  

निजामती विधेयकमा ६० वर्ष उमेरमा अवकाश हुने व्यवस्था छ। तर, विधेयक प्रमाणीकरण भएपछिको पहिलो आर्थिक वर्ष ५९ वर्षमा अवकाश हुने र दोस्रो वर्षबाट मात्र ६० वर्षे उमेर हद लागू हुने प्रावधान राखिएको छ। 

तर, सत्तारूढ दलहरू कांग्रेस र एमालेले यही वर्षबाट ५९ वर्षे उमेर हद लागू हुनुपर्ने व्यवस्था राख्नुपर्ने अडान राखेपछि विवाद सुरू भएको हो। माओवादी र एकीकृत समाजवादी सांसदहरू भने प्रतिनिधि सभाबाट पारित भएको प्रावधानमा तलमाथि पार्न नहुने पक्षमा देखिएका छन्।

मुख्यसचिव एकनारायण अर्यालसहित करिब १० जना सचिव यसै वर्ष ५८ वर्षे उमेर हदले अवकाश पाउने भएकाले उनीहरूकोथमौतीका लागि कांग्रेस–एमालेले निजामती विधेयकमा फेरि चलखेल गर्न खोजेको विपक्षीको आरोप छ।

बैठक भोलि बिहान ९ बजे बस्ने गरी सकिएको समितिका सदस्य आनन्दराज ढुंगानाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad