सिरानचोक गाउँपालिकाको केन्द्र वडा नम्बर ५ चित्रेपोखरीमा रहने भएको छ। सिरानचोक गाउँपालिकाको वडा नं. ५ छोप्राक मैदानमा रहेको केन्द्र परिवर्तन गरी २०७७ असार ३१ गते सोही वडाकै चित्रेपोखरी कायम गर्ने गाउँसभाले दुई तिहाई बहुमतले निर्णय गरेको थियो ।
तर सो विषयमा असहमति जनाउँदै मुद्दा परेपछि कार्यान्वयन नगर्न २०७७ असोज २७ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले २०८२ साल भदौ १५ गते (आइतबार) उक्त रिट खारेज गरिदिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए।
अब गाउँपालिका केन्द्रको विषयमा कुनै अन्यौलता नरहेको उनले बताए । हाल वडा नं. ५ चित्रेपोखरीमा रहेको विस्तारित सेवा कार्यालयबाट नै सेवा प्रवाह भइरहेको छ ।
आधिकारिक रुपमा केन्द्र कायम हुन केही प्रक्रिया अझै बाँकी रहेको अध्यक्ष गुरुङको भनाइ छ।
‘सर्वोच्च अदालतले गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै रहने भनेर आदेश जारी गरिसकेको छ,’ उनले भने, ‘अब मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रमा प्रकाशित भएपछि हामीले प्रशासनिक कामहरु गर्न पाउँछौं ।’
न्यायाधीशहरू विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको हो ।
Shares

प्रतिक्रिया