नेपालका लागि इजरायलका राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उनकै निवास बूढानीलकण्ठमा आज शिष्टाचार भेट गरेका छन्।
पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री समेत रहेका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिँदो भूराजनीतिक आयामहरू र यसले थपेका जटिलताहरूले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा समेत असर पारेको बुझ्न सकिने चर्चा गर्दै राजदूतले राखेका सरोकारका विषयहरूमाथि नेपाल सरकारको सरोकारवाला निकायसम्म पुर्याउने बताए।
साथै क्षेत्रीय शान्तिका लागि एउटा जिम्मेवार राष्ट्रको रुपमा इजरायलले चालु युद्धको समाप्ति लगायत स्थायी शान्तिको लागि आवश्यक महत्वपूर्ण दायित्व निर्वाह गर्ने कुरामा थापाले विश्वास समेत ब्यक्त गरे। इजरायलले नेपाली श्रमिकहरुलाई रोजगारीको अवसर उपलव्ध गराएको, विद्यार्थीहरुलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा पुर्याएको सहयोगको लागि थापाले धन्यवाद समेत व्यक्त गरेका थिए।
हमासको बन्धकको रुपमा रहेको विपिन जोशीको रिहाईको लागि आवश्यक पहल लगायत गाजामा देखिएको भोकमरी लगायतका मानवीय संकट यथासिघ्र समाधानको लागि उनले सम्बद्ध ईजरायली पक्षसँग अनुरोध गरेका छन्।
भेटका क्रममा राजदूतले हमासले ईजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको ज्यान गएको विषय र एक जना विपिन जोशीलाई बन्धक बनाएको विषयमा दुःख व्यक्त गरे। साथै ६७० दिनसम्म पनि विपिन लगायत बन्धकहरूलाई छुटाउन नसकिएकोमा समेत उनले दुःख व्यक्त गरेका छन्।
हमासको बन्धकमा अझै ५० जनाभन्दा बढी रहेको जसमध्ये बीसजना जीवितै रहेको कुरा बताए। विपिन जोशीको आमा र बहिनीलाई ईजरायल लगेर बन्धक छुटाउन अन्तर्राष्ट्रियरुपमा दबाब दिन प्रयास गरिएको समेत उनले बताए।
नेपाल र ईजरायलबीचको कुटनीतिक सम्बन्धको चर्चा गर्दै आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रहरुमा पक्षहरुमा इजरायलले सहयोग गर्दै आएको स्मरण गरे।
विपिनलाई हमासले बन्धक बनाएपछि नेपाल सरकारले ‘लर्न, अर्न एण्ड रिटर्न’कार्यक्रमअन्तर्गत अध्ययनको लागि ईजरायल जाने विद्यार्थीहरूलाई जानबाट रोकेको भन्दै विद्यार्थीहरूको हित र रक्षामा इजरायल सरकार सचेत रहेकोले यस किसिमको रोक हटाई दिन राजदूतले अनुरोध गरे।
भेटका क्रममा पार्टीका अन्तर्रास्ट्रिय सम्बन्ध विभागका सदस्य सचिव राजाराम बर्तौलाको पनि उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया