नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले राष्ट्रिय आयोजना र लोकतन्त्र दुवैलाई पछाडि धकेलिरहेको भन्दै आलोचना गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले सरकारको आलोचना गरेका हुन्। उनले सरकारले मुलुकमा सुशासन कायम गर्नुको सट्टा विपक्षी दलहरूमाथि अपमानजनक व्यवहार गरिरहेको आरोप लगाए।
लोकतन्त्रमा जहाँ सरकार त्यहाँ भरोसा हुनुपर्नेमा जनतामा निराशा बढ्दै गएको उनको टिप्पणी छ। उनले राष्ट्रिय गौरवका आयोजनाहरू दुई दशकसम्म पनि नहुँदा पनि प्रधानमन्त्रीले ससंदको रोष्ट्रमबाट देश स्वर्गै भएको जस्तो घोषणा गरेको भन्दै आपत्ति समेत जनाए।
उनले भने, ‘लोकतन्त्रमा जहाँ सरकार त्यहाँ भरोसा हुनुपर्थ्यो। अवसर वा संयोगले अहिले कांग्रेस र एमालेलाई सरकार चलाउने जिम्मेवारी दिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू दुई दशकसम्म पनि पूरा हुँदैनन्। तर प्रभानमन्त्रीले सम्मानित सदनको रोष्ट्रमबाट देश स्वर्गै भएको जस्तो घोषणा गर्नुहुन्छ।’
उनले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले संसद बहिस्कार गर्ने गरेपनि सरकारले संवादमार्फत समस्याको समाधान गर्न कुनै पहल नगरेको आरोप समेत लगाए। उनले वर्तमान सरकारको धुन र संगीत केही नमिलेको भन्दै कटाक्ष गरे।
मुलुकमा सुशासन कायम हुने तथा जनतामा आशा जगाउने कार्यहरु गर्न सरकारलाई आग्रह गरे।
Shares

प्रतिक्रिया