प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही-३ को उपचुनावमा काठमाडौँ महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले पनि उम्मेदवारी दिने तयारी गरेका छन्।
आगामी कात्तिक १७ गतेका लागि तय भएको चुनावमा उठ्न अधिवक्ता अर्यालले परामर्श तीव्र पारेका हुन्। एक हप्तायता उनी यसकै लागि दौडधुपमा गरिरहेका छन्।
२०७९ को स्थानीय निर्वाचनबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरका प्रमुख निर्वाचित भएपछि अर्याल कानुनी सल्लाहकार नियुक्त भएका थिए। अब उनी महानगरपालिकाबाट अलग भएर चुनावी मैदानमा उत्रिने योजनामा छन्।
‘अन्डर डिस्कसनचाहिँ हो। समय र परिस्थितिको मूल्यांकन गर्दै छु, राय सुझाव सल्लाहका लागि अहिले खुला छु,’ अर्यालले नेपालखबरसँग भने, ‘समय आएपछि निर्णय पनि दिनुपर्ला।’
रुपन्देहीको उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार छनोट प्रक्रियाको अन्तिम चरणमा छ। कांग्रेसले उम्मेदवारको नाम पठाउन प्रदेश समितिलाई निर्देशन दिइसकेको छ। एमालेका नेताहरू सम्भावित उम्मेदवार खोज्दै छन्। एमालेबाट उम्मेदवारका लागि खिमलाल भट्टराईको नाम छलफलमा छ।
अर्यालले कुनै दलको उम्मेदवार बन्ने सम्भावना भने नरहेको बताए।
‘स्वतन्त्र रुपमा उम्मेदवारी दिने हो। तर, अगाडि बढ्ने स्थिति के छ, कस्तो छ, हेर्दैछु। पहिला आफ्नै खुट्टामा उभिनुपर्यो। आफूले गरेको काम, आफ्ना विचारधारा र आफ्नो सिद्धान्तलाई उभ्याउनुपर्यो,' उनले भने, 'कति आकर्षित गर्न सकिन्छ? समय र परिस्थिति कस्तो छ? त्यो हेरेर निर्णय गर्छु।’
यसबारे छिट्टै निष्कर्ष निकाल्ने उनको भनाइ छ।
‘अहिले समर्थक, शुभेच्छुकसँग छलफलका लागि विषय खुला गरेँ,' उनले भने।
अर्याल संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष पनि हुन्। उनले सार्वजनिक सरोकारका धेरै मुद्दामार्फत सार्वजनिक सम्पत्ति संरक्षण र राज्य संरचनामा थिति र विधि कायम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले दायर गरेका रिटकै कारण अख्तियारअनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति नै बदर भएको थियो भने गिरीबन्धु टी स्टेटका नाममा भएको नीतिगत भ्रष्टाचार काण्ड विफल भएको थियो।
काठमाडौँ महानगरपालिकाको कानुनी सल्लाहकार छँदा पनि उनकै कारण धेरै अतिक्रमित सम्पत्ति सार्वजनिक तथा सरकारी कायम भएको छ।
चिकित्सा शिक्षा क्षेत्रका बेथितिविरूद्धका अभियानमा पनि उनी सक्रिय सहभागी थिए।
२०७९ मंसिर ४ मा सम्पन्न चुनावमा यस क्षेत्रबाट एमाले र जसपाको समर्थन पाएका राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए। उनको गत चैत १९ गते निधन भएपछि सो क्षेत्र रिक्त छ।
राप्रपाको स्थानीय कार्यसमितिले बोहराकै २ छोरासहित ६ जना सिफारिस गरी केन्द्रमा पठाएको छ।
Shares

प्रतिक्रिया