राजनीति


चक्रे मिलनसहित १९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता, एक वर्षसम्म कैदको माग

चक्रे मिलनसहित १९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता, एक वर्षसम्म कैदको माग

उजिर कार्की
साउन २७, २०८२ मंगलबार २०:८, काठमाडौँ

चक्रे मिलन भन्ने मिलन गुरुङसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। 

प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा मुद्दा दायर गरेको प्रवक्ता दीपक श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। 

पहिलो पटक अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले निर्णय गर्ने भए पनि चक्रे मिलनसहितका प्रतिवादीहरूले पटक-पटक यस्ता कसुर गरेकाले मुद्दा अदालत पुगेको हो। 

गोरखाका ५४ वर्षीय गुरुङसँगै बाँकेका गणेशबहादुर बोगटी, काठमाडौँका निराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, भक्तपुरका रोजेश खड्का, राहुल खड्का, चितवनका यामु पौडेल, ललितपुरका सौरव सुनार, बाग्लुङका डिल्लीराज कँडेलविरुद्ध मुद्दा दायर भएको हो। 

यस्तै मकवानपुरका रितिक थापा, काठमाडौँका चन्द्रदेव कार्की, जीतबहादुर लामा, सिन्धुपाल्चोकका आकाश गोले, ओखलढुंगाका अमीर आले मगर, ललितपुरका उत्तम महर्जन, सुनसरीका प्रनिश कट्टेल, स्याङ्जाका राजु परियार र सफल भन्ने सुजल शाहीविरुद्ध अभियोग पत्र दायर भएको छ। 

उनीहरूले काठमाडौँको चक्रपथस्थित होटल साम्बालामा चक्रे मिलनको जन्मदिन मनाउँदा स्थानीयलाई त्रसित हुने गरी गतिविधि गरेको आरोप छ। सडकमै सवारी साधान रोकेर आवतजावतमा अवरोध गरेको, गाडीमा हरेलु हतियार बोकेको र समूह बनाइ होहल्ला गरी सर्वसाधारण नागरिकलाई डर धाक धम्की दिएको आरोप छ। 

साउन १६ गते राति साढे १ बजेसम्म होटलमा बसेर ठूलो आवाजमा चिच्याउने, अश्लिल अपशब्दहरू प्रयोग गरेर कराउने, विगत केही दिनदेखि नै विभिन्न स्थानमा केक काटेर जन्म दिन मनाउँदा सार्वजनिक स्थानहरूमा हो हल्ला गरेको, घरेलु हतियार प्रदर्शन गरेको, ती गतिविधिका भिडिओ सामाजिक सञ्जालमा राखेर थप आतंकित पारेको र शान्ति भंग गरेको आरोप उनीहरूलाई लगाइएको छ।

उनीहरूले यस्ता गतिविधि गरेको सूचनापछि पुगेको प्रहरीलाई समेत तथानाम गालिगलौज गरेको, हातपातको प्रयास गरेको र अभद्र व्यवहार गरेको अभियोग पत्रमा उल्लेख छ। उनीहरूको गाडीबाट प्रहरीले दुई थान खुकुरी, स्प्रेको बट्टा एक थान, फलामको रड २ थान पनि बरामद गरेको थियो। 

चक्रे मिलनसहितका प्रतिवादीहरू यसअघि पनि पटक-पटक विभिन्न मुद्दाहरूमा पक्राउ परी छुट्दै आएको प्रहरीको अभिलेखमा फेला परेको छ। गणेशबहादुर बोगटीलाई यसअघि २०८० मंसिर ६ गते ७ दिनको कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला  भएको थियो। 

उनी २०७९ चैत २७ गते पक्राउ परेका थिए। त्यसपछि उनी २०८० वैशाख ३ गतेसम्म हिरासतमा बसेकाले उनको कैद कट्टा भएको थियो। जिल्ला प्रशासन कार्यालय बाँकेले कैद कट्टा भइसकेको जानकारी दिएको छ। 

डिल्लीराज कँडेललाई पनि यसअघि अभद्र व्यवहारको कसुरमा एक हजार ८ सय जरिवाना तोकिएको थियो। रितिक लामाविरुद्ध पनि यसअघि अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०८० असार ६ गते ३ हजार रुपैयाँ जरिवाना र १६ दिन कैद तोकिएको थियो। 

यसअघि समेत उनीहरूले कसुर गरेकै कारण यसपटक भने अभद्रै व्यवहारको मुद्दा अदालत पुगेको हो। उनीहरूलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। 

अदालतमा अब बकपत्र सुरु हुनेछ। पकपत्र सकिएपछि जिल्ला अदालत काठमाडौँबाट थुनछेक आदेश हुनेछ। चक्रे मिलनविरुद्ध भने भक्तपुरमा पनि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी छ। यसअघिकै घटनामा उनलाई बयान गराइसकिएको छ। केही दिनमै त्यहाँ पनि मुद्दा दर्ता गर्ने तयारी गरिएको छ। 

चक्रे मिलनको बयान:  
हाल म नेकपा एमाले पार्टीको गोरखास्तरीय पार्टीको सदस्य भई पार्टीगत रुपमा नेपालको विभिन्न वडाहरूमा आयोजना हुने कार्यक्रम र सामाजिक सेवा विशेष कार्यहरूमा सहभागी भई संयोगात्मक कार्य गर्दै आइरहेको छु।

मेरो चिनाअनुसारको वास्तविक जन्म २०२९ साल साउन महिना १४ गते हो। तर मैले नागरिकतामा आफ्नो जन्म २०२९ साल साउन १९ गते राखेर नागरिकता लिएको छु। 

विगत केही वर्ष अगाडिदेखि सक्रिय रुपमा सामाजिक सेवा र राजनितिक पार्टीमा आवद्ध भई समाजसेवी कार्यहरू गर्दै आउने क्रममा मेरो प्रस्तुत मुद्दामा मसँगै पक्राउ परी आएका साथी भाइहरूसँग चिनजान हुन पुगेको हो।

पक्राउ परी आएका प्रतिवादीमध्ये कतिलाई मैले नामले मात्र चिन्दछु। निजहरू सबै जना मेरो नाम र मैले गरेको सामाजिक कार्यहरू मन पराइ मेरो जन्म दिन मनाउन निजहरू आफैँ उपस्थित हुन आएका थिए। 

मेरो जन्म साउन महिनामा पर्ने हुँदा कतिपय मलाई पार्टीगत हिसाबले सहयोग र साथ दिने व्यक्तिहरूले मलाई श्रावण महिनाको सुरु हप्तादेखि नै विभिन्न स्थानहरूमा बोलाए।

निजहरू आफैँले केक ल्याएर मलाई शुभकामना दिने गरेको हुँदा मैले आफूलाई सहयोग गर्ने र मन पराउने सबै साथी भाइहरूको मन राख्न भनी साउन महिनाको सुरु हप्तादेखि नै काठमाडौँ, पोखरा, बुटवल र अन्य स्थानहरूमा समेत साथी भाइहरूको अनुरोधमा उपस्थित हुन गई आफ्नो जन्म दिन मनाउँदै आइरहेको थिएँ।

यसरी विभिन्न स्थानहरूमा मलाई माया र साथसहयोग गर्ने साथी भाइहरूले बोलाई केक काटी रमाईलो गराएको हुँदा मैले पनि सबै जनालाई साउन १५ गते बेलुकी महाराजगंजस्थित होटल साम्बालामा उपस्थित हुन आउनु भनी निमन्त्रणा दिएको हुँ। मैले महाराजगंजस्थित होटल साम्बालाको ग्राउन्ड फ्लोर र माथिको रुफ टप बुकिङ गरी राखेको थिएँ।

साउन १५ गते महराजगंजस्थित होटल साम्बालामा मलाई साथ सहयोग गर्ने मेरो निमन्त्रणा सुनी जन्मदिन मनाउन आएका व्यक्तिहरू सबै जना बेलुकीको समयमा होटलको ग्राउन्ड फ्लोरमा भेला जम्मा भई सबै जनासँगै बसेर ग्राउन्ड फ्लोरमा खाना खाइ रातको १२ बजेभन्दा अगाडि नै केक काट्ने कुरा भएको थियो। 

केक काट्नको लागि हामीहरू सबै जना होटलको रुफ टपमा गई राती ११ बजेको समयमा सबै जनाले माया गरी लिएर आएको केकहरू मैले पालै पालो काटी सबै जनालाई खुवाइ सबै जना मिलेर नाँच्दै गाउँदै रमाइलो गरी बसिरहेका थियौँ।

सोही समयमा साउन १६ गते बिहानको राति १ः३० बजेको समयमा हामी रमाइलो गरी बसिरहेको स्थानमा एक्कासि डिउटीमा खटिएका प्रहरी आइ हामीहरू सबै जनालाई रातभर किन हो हल्ला गरेको भनि सम्झाइ बुझाइ गर्न आउँदा हामीहरू मध्ये केही भाइहरूको प्रहरीसँग सामान्य भनाभान मात्र हुन पुगेको थियो।

तर हामीले प्रतिवेदनमा उल्लिखित कुनै किसिमको अभद्रजन्य कार्य गरेको छैन, थिएन। प्रतिवेदनमा उल्लिखित धारिलो तथा जोखिमी हतियारहरू प्रदर्शन गर्ने, सार्वजनिक स्थान, सडक, बाटो नै अवरोध हुने गरी स्थानीय व्यक्तिहरूलाई गाली गलौज गर्ने, डर धाक धम्की दिनेलगायतको कार्य मबाट भए गरेको छैन।

मलाई देखाइएका प्रतिवेदन साथ पेस भएको भिडिओ तथा फोटोहरू उक्त वारदातभन्दा अघिल्लो दिनहरूमा अन्य भाइहरूको निमन्त्रणामा म आफैँ आफ्नो जन्म दिनको केक काट्न जाँदाको फोटाहरू हुन्। 

हामीले सार्वजनिक स्थानमा भेला जम्मा भई केक मात्र काटी रमाइलो गरेका थियौँ। तर धारिलो हतियार प्रदर्शन गर्ने, सार्वजनिक आवगमनमा नै अवरोध खडा गर्ने जस्ता कार्यहरू गरेको थिएन, छैन। यसरी ठूलो संख्यामा युवाहरूलाई भेला जम्मा गरी आफ्नो जन्मदिन मनाउने कार्यक्रम सञ्‍चालन गर्नु नै मेरो गल्ती भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad