त्यो दिन विन्ध्यवासिनी कंसाकार भारतको एक अस्पतालको बेडमा छटपटाइरहेकी थिइन्। भर्खरै उनको अनुहारको शल्यक्रिया सकिएको थियो। शरीर पूरै गलेको थियो, मन उस्तै बेचैन। त्यहीबेला नेपालबाट एउटा फोन आयो।
फोन थियो, जलन पीडितका लागि लामो समयदेखि काम गरिरहेका अभियन्ता उज्ज्वलविक्रम थापाको।
‘छोरी, तिमीलाई राष्ट्रिय स्वतन्त्र पार्टी भनेको थाहा छ?’ सुरुमै उनले सोधे।
विन्ध्यवासिनीले भनिन्, ‘थाहा छैन।’
‘त्यसोभए रवि लामिछाने चिन्छौ?’
‘चिन्छु।’
रविले ०७६ सालमा एसिड आक्रमणबाट बचेका नारीहरूलाई देवीको रूपमा सम्मान गर्दै विन्ध्यवासिनीसँगै अरूको पनि अन्तर्वार्ता लिएका थिए। त्यहीबेला विन्ध्यवासिनीले उनलाई राम्रोसँग चिनेकी थिइन्।
उज्ज्वलले विन्ध्यवासिनीलाई भने, ‘हो, उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुभएको छ। त्यो पार्टीमा तिमीलाई बोलाउनु भइरहेको छ।’
विन्ध्यवासिनी अकमक्क परिन्। त्यसको केही बेरपछि रवि लामिछानेले नै उनलाई फोन गरेर भने, ‘विन्ध्यवासिनी, म तिमीलाई मेरो पार्टीमा लिएर आउन खोजिरहेको छु। तिमीलाई देश बनाउने ठाउँमा लिएर आउन खोजिरहेको छु। हाम्रो देशमा यति धेरै बेथिति छ, यति धेरै भ्रष्टाचार छ। तिमीजस्तो नारी आउनुपर्छ। तिम्रो सुन्दरता नै यो देशको सुन्दरता हो।’
यो प्रस्तावले विन्ध्यवासिनीको मनमा ठूलो तुफान ल्यायो। उनले कहिल्यै राजनीतिमा जान्छु भन्ने सोचेकी थिइनन्। विछट्टै वितृष्णा थियो। बरु उनी भन्थिन्, ‘जीवनमा हरेक कुरा गर्छु, तर नेता कहिल्यै बन्दिनँ।’
लामिछानेले रास्वपाको समानुपातिक सूचीमा नाम राख्न प्रस्ताव गरेपछि विन्ध्यवासिनी केहीबेर अलमलिइन्। तर बुवासँग सल्लाह गरेपछि अस्पतालको बेडबाटै उनले प्रस्ताव स्वीकार गरिन्।

०७० सालमा जब उनीमाथि एसिड आक्रमण भयो, समाजलाई यो कस्तो अपराध हो भन्ने पनि थाहा थिएन। उपचारको पीडा एकातिर थियो भने अर्कोतिर मानसिक र सामाजिक लडाइँ थियो।
एक वर्षपछि जब अर्की किशोरीमाथि उस्तै आक्रमण भयो, विन्ध्यवासिनीलाई लाग्यो, अब चुप बस्नु हुँदैन। उनले सडकबाटै आवाज उठाउन थालिन्। तेजाब आक्रमण हुनुहुँदैन, तेजाब आक्रमण विरुद्धको एउटा कानुन बनाउनुपर्छ भन्दै उनी सडकमै उत्रिइन्। उनको यो लडाइँले उनलाई एक अभियन्ताको पहिचान दियो।
विन्ध्यवासिनीले राम्रोसँग बुझेकी छन्, राजनीतिमा उनको प्रवेश योजनाबद्ध थिएन, यो त भोगाइ र भाग्यले पुर्याएको गन्तव्य हो। रास्वपाले समानुपातिक सूचीमा उनको नाम राखेपछि जब चुनावको नतिजा आयो, त्यतिबेला पार्टीले २० सिट जित्यो। तर तेस्रो नम्बरमा रहेकी उनको नाम परेन। तैपनि उनले मन बुझाइन्।
तर रास्वपाको सांसद भएको ६ महिनापछि जब ढाकाकुमार श्रेष्ठ मन्त्री बन्नका लागि करोडौँ पैसा बार्गेनिङ गरेको काण्डमा मुछिए र उनको पद खारेज भयो, तब तेस्रो नम्बरमा रहेकी विन्ध्यवासिनीको भाग्य खुल्यो।
सर्वत्र उनी सांसद बन्ने समाचार छाइरहेको थियो। तर यो उपलब्धी हासिल भइसक्दा पनि उनको मनमा पूरा खुसी छाउन सकिरहेको थिएन। ‘खुसी हुने कि नहुने’ मनभित्र द्विविधा थियो।
‘मैले अरूको पद लिएर आएँ भन्ने कुरा पनि थियो। म खुसी केको लागि मनाऊँ र दुःखी पनि केको लागि होऊँ?’ मनमनै यस्तै सोचेकी थिइन्।
सांसद भएपछि भने उनको युद्धको मैदान फेरियो, तर लडाइँ सकिएको थिएन। सडकबाट उठाएको आवाज अब सदनमा उठाउनु थियो। उनले आफ्नो कार्यकालको सबैभन्दा ठूलो लक्ष्य बनाएकी छन्, जलन विधेयक पास गराउने।
‘नेपालमा हरेक वर्ष ६० देखि ६५ हजार मानिसहरू जलिरहेका छन्,’ नेपालखबर ‘संसदमा म’मा आइपुगेकी उनी भन्छिन्, ‘तीमध्ये धेरैजसो निम्न वर्गका छन्। उनीहरूको लागि राज्यले सोच्नुपर्छ।’

सदनमा आइपुग्नुअघिसम्म विन्ध्यवासिनीलाई लाग्थ्यो– यहाँ आएपछि समाजका लागि, जलनपीडितका लागि धेरैथोक गर्न सकिन्छ। तर यथार्थमा संसदमा उनले सोचेजस्तो पाइनन्। कहिलेकाहीँ उनलाई यो एउटा नाटक मञ्चन गर्ने थलो जस्तो पनि लाग्छ, जहाँ सत्ता र प्रतिपक्षको कुर्सीमा बस्दा मान्छेहरूको बोली फेरिन्छ।
उनी भन्छिन्, ‘एउटै मुद्दामा दुई वर्षदेखि कुरा उठाइराख्दा सरकारले नसुनेको कुरा चाहिँ एकदमै तितो लाग्छ।’
०७० साल वैशाख ९ गते बिहान हेटौँडा मेनरोडस्थित आफ्नै पसलमा बसिरहेका बेला भारत उत्तर प्रदेशका दिलिपराज केसरीले उनको अनुहारमा एसिड छ्यापेका थिए। त्यसपछि फरार उनी साढे ५ वर्षपछि मात्रै पक्राउ परे। एकतर्फी प्रेम गर्दै आएका उनले बिहेको प्रस्ताव अस्वीकार गरेको बदलामा विन्ध्यवासिनीमाथि एसिड छ्यापेका थिए।
एसिड आक्रमण यता विन्ध्यवासिनीले भोगेको संघर्ष कम कहालीलाग्दो छैन। उपचार खर्चले परिवारको आर्थिक अवस्था नै लथालिंग भएको थियो। बैंकबाट घरजग्गा लिलाम भएर कालोसूचीमा परेको थियो। जिल्ला अदालत मकवानपुरले केसरी र उनलाई भगाउन सहयोग गर्ने सञ्जयकुमार मण्डललाई क्रमश ८ वर्ष कैद तथा १ लाख जरिवाना र २ वर्ष कैद तथा ४० हजार रूपैयाँ जरिवाना तोकेको थियो।
यतिमात्रै होइन, अदालतले पीडित कंसाकारले १ करोड १४ लाख ८५ हजार उपचार खर्च पाउने फैसला पनि गरेको थिया । ‘पीडितको उपचार खर्चमा लागेको रकम पीडकबाट भराउने र नसकिए सरकारले उपयुक्त ठहर्याएको रकम पीडितले पीडित राहत कोषबाट लिन पाउने,’ फैसलामा प्रस्टसँग उल्लेख थियो।
तर, फैसला कार्यान्वयनका लागि कंसाकारले अनेक दुःख खेप्नुपर्यो। अदालतदेखि प्रधानमन्त्रीको दैलोसम्म, संसददेखि सिंहदरबारसम्म लगातार धाउनुपर्यो। सडकमा हुँदा त पाएकी थिइनन् नै, सांसद हुँदासम्म पनि क्षतिपूर्ति उठाउन गाह्रो भयो। त्यहीकारण प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति सदस्य समेत रहेकी उनी ०८१ जेठमा न्यायका लागि आफ्नै समितिमा उजुरी दिन बाध्य भइन्। समितिको बैठकमा आँखाभरि आँसु पार्दै उनले कानुनमन्त्रीकै अगाडि न्यायको याचना गरेकी थिइन्।
अन्ततः प्रधानमन्त्रीसम्म आफ्नो समस्या पुर्याएपछि र क्याबिनेटबाटै निर्णय भएपछि उनले अदालतले तोकेको क्षतिपूर्ति पाइन्।

विन्ध्यवासिनीको परिचय अब केबल एसिड आक्रमण पीडित होइन, एक अभियन्ता, एक सांसद र हजारौँ पीडितहरूको आवाज पनि हो। चुनावमा उनले मतदातासामु ठुल्ठूला सपना बाँडेकी थिइनन्, मात्र एउटै वाचा गरेकी थिइन्, ‘आमा, म तपाईंहरूको छोरी जोगाउनका लागि राजनीतिमा जाँदैछु।’
आफ्नो कार्यकालमा उनी यही वाचा पूरा गर्न चाहन्छिन्। जलन विधेयक पास गराउनु, महिला हिंसाविरुद्ध लड्नु र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नु उनको संकल्प हो। उनको अनुहारमा एसिडले बनाएको दाग उनको पीडाको प्रतीक होला, तर उनको आँखामा देश बनाउने सपनाको चमक छ।
जीवनका तिता–मिठा अनुभवहरूले विन्ध्यवासिनीलाई आज झन् बलियो बनाएको छ। एसिड छ्यापेको धेरैदिनसम्म ऐनामा अनुहार नहेरेकी उनी अचेल निर्धक्क ऐना हेर्छिन्।
आफ्नो जीन्दगी, राजनीति र संसदप्य अनुभूति सुनाउन आइपुगेकी उनप् केहीबेर नेपालखबर स्टुडियोको ऐनामा आफूलाई नियालेर हेरिन्।
त्यसपछि के भयो?
हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाटः
फोटो/भिडिओः विशाल कार्की

प्रतिक्रिया