महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले बाल सुधार गृहमा प्रहरीले हतियारसहित प्रवेश पाउने प्रावधान राख्न लागिएको बताएकी छन्।
बिहीबारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले बाल सुधार गृहमा प्रहरीले हतियार सहित प्रवेश पाउने प्रावधान राख्न लागिएको बताएकी हुन्।
यसअघि प्रहरीलाई सुधार गृहभित्र जाँदा हातहतियार लिएर जान पाउने व्यवस्था थिएन। जस्तोसुकै झगडा भएपनि हतियोर प्रयोग गर्न पाउँदैन थिए। अब संशोधन हुन लागेको बालबालिका सम्बन्धी अधिकार,२०७५ लाई संशोधन गर्न बनेको विधेयकमा भने भयावह अवस्था आएको खण्डमा नियन्त्रणका लागि अन्तिम अस्त्रको रुपमा हातहतियार चलाउन पाउने व्यवस्था राखिएको बताइन्।
उनले भनिन्, ‘अहिले विद्यमान ऐनमा के छ भने बाल सुधार गृहमा प्रहरीहरुले हातहतियार लिएर जान पाइँदैन। उनीहरु भित्र भएका घटनाहरुको मुकदर्शक भएर हेर्ने बाहेक अर्को विकल्प छैन। त्यसको लागि हामीले अवस्था भयावह भयो कुनैपनि नियन्त्रण गर्नसक्ने अवस्था रहेन भने अन्तिम अस्त्रको रुपमा हतियार प्रयोग गर्न सकिने भनेर संशोधनमा परेको छ ।’
उनले बाल सुधार गृहमा राखिएका १८ वर्ष पार गरिसकेका व्यक्तिहरूलाई अब नुवाकोटस्थित कारागारमा एउटा ब्लक लिएर सार्न लागिएको बताइन्। उनकाअनुसार उक्त भवनमा २५० जना अटाउनेछन्।
‘१८ वर्ष पार गरिसकेका जो बालबालिका सुधार गृहमा छन्, उनीहरुलाई सेप्रेट गर्नुपर्छ। त्यहाँबाट अर्को ठाउँमा राख्नुपर्छ भन्ने प्रश्ताव छ’ उनले भनिन्, ‘नुवाकोटको कारागार भवन जुन छ, त्यसको एउटा ब्लक हामीलाई प्रयोग गर्न भनेर दिनुभएको छ। त्यो २५० जना अट्ने क्षमताको छ। त्यसमा चालु आवमा बजेट पनि विनियोजन गरेका छौँ। छिटै एउटा टोली बनाएर अध्ययन गर्नेछौँ। २५० जनालाई त्यहाँ पठाउनसक्यौँ भने अन्य ठाउँमा रहेको क्लाउडलाई कम गर्नसक्छौँ।’
सचिव बस्नेतले २५० जनालाई सार्नसके सुधार गृहमा भइरहेको भीडलाई कम गर्न सकिने बताइन्।
Shares

प्रतिक्रिया