राजनीति


ट्रोलको निसाना बनेकी सांसदसँग ‘तत्कालै’: मेरो मातृभाषा नेपाली होइन, अलिअलि अड्किन्छ, हाँस्नुपर्ने किन? (भिडिओ)

‘विद्या भण्डारीले पार्टी सदस्यता लिन मिल्छ, तर नेतृत्वको दाबी गर्न मिल्दैन’

अनिल यादव
साउन १७ , काठमाडौँ

केही दिनअघि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने क्रममा नेकपा एमालेकी सांसद अमृता अग्रहरीले बोलेको भिडिओ यतिखेर सामाजिक सञ्जालमा भाइरल छ। बैठकमा बोल्नका लागि उनलाई सचिवालयबाट थमाइएको लेखोटमा माननीय शब्दलाई छोटकरीमा ‘मा.’ लेखिएको थियो। पढ्ने क्रममा उनले पनि माननीय भन्न छुटाइन्, ‘मा सदस्य’ भनिन्। 

संसदभित्रै एमालेका मन्त्रीहरू नै उनको सम्बोधन सुनेर खित्का छाडेर हाँसे। यही कारण उनी अहिलेसम्म सोसल मिडियामा ट्रोलको सिकार बनिरहेकी छन्। 

तर, सांसद अग्रहरी यो आफूलाई उडाउनुपर्ने र हाँस्नुपर्ने विषय नै नभएको बताउँछिन्। त्यो दिन उनलाई बैठकबारे कुनै पूर्वजानकारी नदिइएको र आकस्मिक बोलाइएका कारण दुई मिनेट पनि तयारी गर्न नपाएको उनी बताउँछिन्।  

‘कर्मचारीहरूले कम्तीमा आधा घण्टा पहिला जानकारी दिनुपर्ने परम्परा छ, तर मलाई एउटा फोन पनि आएन,’ नेपालखबर ‘तत्कालै’मा उनले भनिन्, ‘म जिल्लाबाट सिधै आएर बैठकमा पुगेकी थिएँ। जुन कागज दिइयो, त्यसमा सबै ठाउँमा ‘मा.’ नै लेखिएको थियो। एक ठाउँमा मात्रै माननीय लेखिदिएको भए पनि हुन्थ्यो तर थिएन। त्यहाँ जे लेखेको थियो, त्यही पढेँ। तर जब माननीय मन्त्रीहरू नै हाँस्न थाल्नुभयो, तब मलाई के गल्ती गरेछु जस्तो लाग्यो। यो घटनाले राजनीतिमा मानिसहरू अरूको खुट्टा तान्न मात्रै खोज्छन् भन्ने महसुस भयो।’

उनलाई ट्रोल बनाउनुअघि उनको भाषिक पृष्ठभूमि पनि बुझ्न जरुरी छ। भारतमा फुपूको घरमा हुर्किएको र उतै पढेकाले आफ्नो मातृभाषा अवधी र त्यसपछि बोल्न सक्ने हिन्दी भएको उनले स्वीकारिन्। 

‘म नेपाली हुँ, तर नेपालीभाषी होइन,’ यसअघि संसदमा हिन्दीमा भाषण गरेर चर्चामा आएकी अग्रहरीले भनिन्, ‘नेपाली हाम्रो राष्ट्रिय भाषा हो, बोल्नैपर्छ, तर यो मेरो मातृभाषा होइन। त्यसैले पढ्दा अलिकति अड्केर बोल्छु, जुन स्वाभाविक हो। यसमा आफ्नै पार्टीका मन्त्रीहरू हाँसेको देख्दा अचम्म लाग्यो।’

अग्रहरीलाई हामीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने निर्णयबारे सोध्यौँ। 

‘जुन व्यक्ति देशको सर्वोच्च निकाय रहेको राष्ट्रपति जस्तो पदमा दुई–दुई पटक रहनुभयो, उहाँ फेरि फर्केर त्यही पार्टीको जिम्मेवारी खोज्नु उचित होइन,’ उनले कडा असन्तुष्टि जनाउँदै भनिन्, ‘राष्ट्रपति भइसकेको व्यक्ति पार्टी र देशको अभिभावक भएर बस्नुपर्छ। उहाँले त अब आफूले बनाएको पार्टीलाई आशीर्वाद दिने, शुभकामना दिने र त्यसको उन्नति–प्रगतिको कामना गर्ने हो। फेरि फर्केर आउँछु, मलाई यही पद चाहिन्छ भन्नुले अरू नेताहरूको योगदान र बलिदानको अवमूल्यन हुन्छ।’

अग्रहरीका अनुसार एमालेमा नेताको खडेरी छैन। अध्यक्ष केपी ओलीपछि पनि ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, अष्टलक्ष्मी शाक्य जस्ता नेताहरूको लामो सूची भएको भन्दै उनले भण्डारीको पुनरागमन प्रयासले पार्टीमा अरूलाई निराश बनाउने बताइन्। 

‘उहाँले यो सोच्नुपर्छ कि मैले ठाउँ खाली गरेपछि अरूको पालो आउनुपर्छ। किनभने पार्टीमा सबैको योगदान छ,’ उनले भनिन्।

यद्यपि अग्रहरीले पार्टीको साधारण सदस्यता लिन जोकोहीले पाउनुपर्ने पनि स्वीकारिन्। तर, पूर्वराष्ट्रपतिजस्तो व्यक्तिले सिधै नेतृत्वको दाबी गरेपछि यो समस्या आएको उनको तर्क छ। 

पार्टीभित्र विद्या भण्डारीको आगमनलाई लिएर हलचल चलिरहेका बेला उता मधेसमा भने खडेरीले जमिन सुख्खा बनेको छ। हालै आफ्नो क्षेत्रबाट फर्केकी उनले मधेसमा खडेरीले धान बाली सुकेर किसानहरू रुवाबासीको अवस्थामा रहेको बताइन्। 

‘अहिले मधेसमा धानबाली जलेर नष्ट भइरहेको छ, किसानहरू अत्यन्तै पीडामा छन्,’ उनले भनिन्, ‘आकाशे पानीको भरमा मात्रै खेती गर्ने परम्परा र बढ्दो वन फँडानीले निम्त्याएको वातावरणीय असरले यो समस्या आएको हो। यसको दीर्घकालीन समाधान डिप बोरिङ नै हो। सरकारले मधेस प्रदेशमा केही घोषणा गरेको सुनियो, तर पश्चिम मधेसमा पर्ने कपिलवस्तु, रूपन्देही, नवलपरासीमा पनि अवस्था उस्तै दर्दनाक छ। सरकारले यता पनि तुरुन्तै हरेक निर्वाचन क्षेत्रमा कम्तीमा दुईवटा डिप बोरिङको व्यवस्था गर्नुपर्छ, जसले गर्दा किसानले वर्षौं वर्षसम्म लाभ लिन सक्छन्।’

आफ्नै पार्टी नेतृत्वको सरकारलाई उनले यस विषयमा गम्भीर हुन आग्रह गरिन्। 

अरु के–के भनिन्, हेर्नुहोस् उनीसँग गरिएको कुराकानी नेपालखबर ‘तत्कालै’:
 

साउन १२, २०८२ सोमबार २१:१३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad