नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले तत्कालै सरकारको कामकारबाहीमा प्रश्न उठाएर आलोचना नगर्न पार्टीका नेताहरूलाई आग्रह गरेका छन्। आज मंगलबार आफ्नै निवासमा भेट्न आएका पार्टीका ५ जना नेताले सरकारको कामकारबाहीका विषयमा प्रश्न गरेलगत्तै देउवाले विस्तारै सुधार हुँदै जाने आश्वासन दिएका हुन्।
सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा ७ नेताबीच भएको छलफलको निष्कर्ष पार्टी सभापति शेरबहादुर देउवालाई सुनाउन पुगेका ५ नेतालाई उनले गठबन्धनबीचको ७ बुँदे कार्यान्वयन हुने बताएका थिए।
सोमबार नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा शशांक कोइराला, गोपमानमा श्रेष्ठ, विजय गच्छदार र डा प्रकाशशरण महत चाक्सीबारीमा जुटेका थिए।
आज भने नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छेदार, डा प्रकाशरण महत र गोपालमान श्रेष्ठ बूढानीलकण्ठ पुगेका हुन्।
'संविधान संशोधनदेखि अहिले मन्त्रीहरू भ्रष्टाचारमा मुछिएका विषयमा चौतर्फी आलोचना भइरहेको छ यसमा पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्यो। यसमा जति ढिलो गर्यो उति पार्टीलाई क्षति भइरहेको छ भनेर हामीले कुरा गर्यौँ,' छलफलमा सहभागी एक नेताले भने, 'दाइले (शेरबहादुर)अहिले सरकारलाई असर हुने गरी प्रश्न नगरौँ। सरकारले विस्तारै सुधार गर्दै लैजाला भन्नुभयो।'
छलफलमा सहभागी अर्का नेता डा प्रकाशरण महतले सरकारको काम प्रभावकारी बनाउनेबारे कुरा गरिएको बताए। उनले भने, 'सभापतिले मैले यी कुरालाई सकारात्मक नै लिएको छु। म प्रधानमन्त्रीसँग कुरा गरौँला भन्नुभयो।'
उनले आजको छलफलमा नेता डा शेखर कोइरालाको सक्रियताको विषयमा कुनै छलफल नभएको दाबी गरे।
देउवा कहाँ पुगेका यी नेता सबै पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवालाई सहयोग गरेकै नेताहरू हुन्।
पार्टीको १५औं महाधिवेशनमा देउवा सभापतिमा चुनाव नलड्ने घोषणा गरेसँगै यी नेताहरू देउवालाई समापतिको उम्मेदवार अहिले नै तोक्न दबाब दिँदै आइरहेका छन्। तर देउवा भने यस विषयमा मौन छन्।
Shares

प्रतिक्रिया