शेरबहादुर कुँवरको राजनीतिक यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन। सुदूरपश्चिमको दुर्गम जिल्ला अछामको चौरपाटी गाउँपालिकाको एउटा सामान्य परिवारमा जन्मेका उनी पञ्चायतकालमा विद्यार्थी राजनीतिबाट खारिँदै, द्वन्द्वको भुंग्रोमा होमिँदै तीन पटकसम्म सांसद र एकपटक मन्त्री बने।
०६४ मा संविधान सभा सदस्य, ०७४ मा राष्ट्रिय सभा सदस्य भएका उनी ०७९ मा उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
बाल्यकालदेखि नै ‘जनताको शासन’ हुनुपर्छ भन्ने चेतले आज उनलाई देशको नीति निर्माण गर्ने थलोसम्म पुर्याएको छ। तर, यो उपलब्धि यत्तिकै प्राप्त भएको होइन। यसपछाडि चार दशकभन्दा लामो राजनीतिक यात्रामा भोगेका अनेक आरोह–अवरोह, सफलता–संघर्ष र तीता–मीठा अनुभवहरूको उत्तिकै भूमिका छ।
२०३७ सालमा जतिबेला जनमत संग्रह हुँदै थियो, त्यतिबेला उनी कलिलै थिए। तर, त्यही कलिलो उमेरमै उनमा राजनीतिक चेतनाको बीजारोपण भयो। बहुदलको पक्षमा नेताहरू गाउँ पस्दा उनी पनि त्यही लहरमा उभिएका थिए। नेपाली कांग्रेसको पक्षमा नभए पनि बहुदलको पक्षमा लाग्नुपर्छ भन्ने मान्यता उनको बाल मस्तिष्कमा पसेको थियो।
‘मेरो घरमा एउटा कुखुरा पालेको थियो, जनमत संग्रहमा बहुदलले जित्यो भने म त्यो कुखुरा काटेर खान्छु भन्ने ढंगले मैले भित्र–भित्र सोच बनाएको थिएँ,’ नेपालखबरको ‘संसदमा म’मा उनले ती दिन सम्झिँदै भने, ‘तर दुर्भाग्यवश जनमत संग्रहको परिणाम नकारात्मक आयो। त्यसमा मलाई साह्रै नराम्रो लाग्यो।’
त्यसपछि उनी अनेरास्ववियुको विद्यार्थी राजनीतिमा संगठित भए। पञ्चायतको त्यो दमनकारी समयमा राजनीति गर्नु आगोको भुंग्रोमा हिँड्नुजस्तै थियो। उनी आज पनि सम्झिन्छन्, ‘त्यतिबेला अनेरास्ववियुको पूरा नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मलाई कण्ठ गर्नलाई झण्डै–झण्डै एक दिन लाग्यो।’
२०४६ सालको जनआन्दोलनको संघारमा उनले तत्कालीन मण्डलेहरूबाट कुटाइ पनि खाए। ‘६ गते नै म कहाँ मण्डलेहरू आएर, गुण्डाहरू आएर एक्कासि केही नबोली मलाई पिटिदिए,’ उनको जीवनमा यो कहिल्यै भुल्न नसक्ने क्षण बनेर बसेको छ।
बहुदल स्थापनापछि २०५१ सालमा बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारमा भीम रावल पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए। त्यतिबेला पार्टीले कुँवरलाई रावलको स्वकीय सचिवको जिम्मेवारी दियो। त्यो अनुभवले उनलाई सिंहदरबारको कार्यशैली, प्रशासन र कर्मचारीतन्त्रलाई नजिकबाट बुझ्ने अवसर मिल्यो।
‘उहाँसँग मन्त्रालयमा काम गर्न पाउँदाखेरि मलाई प्रशासनसँग कसरी डिल गर्ने, प्रहरीसँग कसरी डिल गर्ने, सुरक्षा निकायसँग कसरी डिल गर्ने र विकासका निर्माणका कामहरूलाई पनि हामीले कसरी अगाडि बढाउँदाखेरि राम्रो हुन्छ भन्ने कुरा थाहा भयो,’ उनी भन्छन्, ‘त्यही अनुभवले पछि जिल्लामा राजनीति गर्दा होस् या सांसद र पछि मन्त्री हुँदा मलाई धेरै सहज भयो।’

०७९ असारमा कुँवर श्रम मन्त्री भए। श्रम मन्त्रालयको जिम्मेवारी लिँदा सुरुमा उनमा उत्साहभन्दा बढी डर थियो।
‘श्रम मन्त्रालयमा जान मलाई आफैँलाई अप्ठ्यारो लागेको थियो किनकि त्यो मन्त्रालयको बाहिर जस्तो छवि थियो, त्यो मेरो स्वभावले, मेरो निष्ठाले मेल खाँदैन कि भन्ने मलाई चिन्ता थियो,’ उनले भने, ‘यद्यपि मेरो आफ्नै खालको स्वाभिमानले गर्दाखेरि त्यो हुन दिइनँ। मन्त्रालयबाट बाहिरिँदाखेरि इमान्दार छवि बोकेको शेरबहादुर कुँवर शरीरभरी फोहोरैफोहोर बोकेर बाहिरिन्छ कि भन्ने डर थियो। तर, जसरी आइयो, त्यसरी नै गइयो।’
कुँवर पहिलोपटक ०६४ सालमा संविधान सभा सदस्यमा निर्वाचित भए। माओवादीको दबदबा रहेको त्यो समयमा धेरै शीर्ष नेताहरूले चुनाव हारे तर उनले सहजै जित निकाले। त्यसपछि राष्ट्रिय सभा हुँदै २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। उनको तीन पटकको संसदीय अनुभवले संसदको बदलिँदो चरित्रलाई प्रस्ट्याउँछ।
‘पहिला–पहिला सांसदहरूको बेग्लै आकर्षण थियो। गाउँठाउँमा आउँदाखेरि पनि मान्छेहरूको भेट्ने घुइँचो लाग्थ्यो,’ उनी आफ्नो पहिले र अहिलेको अनुभवलाई तुलना गर्दै भन्छन्, ‘त्यतिबेला मान्छेहरू आशा र अपेक्षा बढी गर्थे। अहिले त सकेसम्म सांसदहरू नआइदिएको भए हुन्थ्यो, सकेसम्म नेताहरूसँग बोल्न नपरे हुन्थ्यो जस्तो गर्छन्। सांसदको चार्म नै घटिसक्यो।’
उनको अनुभव भन्छ– अहिले संसदप्रतिको जनविश्वास र सांसदको मर्यादामा ह्रास आएको छ। संसदभित्रका गतिविधि र बाहिर जनताको बुझाइमा ठूलो खाडल छ।
‘संसद् भनेको एउटा नाटकको रूपमा परिणत भएको छ,’ उनले भने, ‘त्यहाँ बोलेका कुरा न सुनुवाइ हुन्छन्, न त लागू नै। अनि मान्छेमा यी सांसदहरू पनि बोल्ने त हुन् नि, खाली कराउने मात्रै हुन्, केही हुनेवाला छैन भन्ने मनोविज्ञान बसिरहेको छ।’
सांसद भएपछि संसदीय मर्यादालाई ख्याल गर्नुपर्ने कुँवर बताउँछन्।
‘हामी सांसद भएपछि संसदीय मर्यादा, संसदीय संस्कारलाई चाहिँ मान्नुपर्छ है। संसदीय मर्यादालाई तोडेर जानु हुँदैन। त्यो कसैको लागि पनि राम्रो हुँदैन। कुर्सी फोड्ने, माइक फोड्ने, यो संसदीय मर्यादा होइन। हामीले सभ्य तरिकाले कुरा राख्नुपर्छ, राख्न पाउनुपर्छ,’ उनले भने।

लामो समय नेकपा एमालेमा भीम रावलको निकट र सहयोगी बनेर काम गरेका नेता हुन्, कुँवर। जसकारण आज पनि दुईबीचको सम्बन्धबारे सर्वत्र चासो रहन्छ। एमाले पार्टीबाट अलग्गिएर एकीकृत समाजवादी बनेसँगै यी दुई नेताको बाटो पनि छुट्टियो। कुँवर एकीकृत समाजवादीमा छन् भने रावल एमालेबाट साधारण सदस्य समेत नरहने गरी बर्खास्त भएका छन्। आफूहरूबीच व्यक्तिगत सम्बन्धमा कुनै कटुता नरहेको कुँवर बताउँछन्।
‘मेरो र उहाँको सम्बन्ध भनेको कहिल्यै पनि कटाक्षपूर्ण भएन,’ कुँवरले भने, ‘जहिले पनि हार्दिकतापूर्वक भयो। उहाँका मतदाता र मेरा मतदाता भनेका एकै हुन्। जुन जनताले माया गरेर हामीलाई यहाँ पठाए, उहाँलाई माया गर्ने पनि अछामी जनता नै हुन्, मलाई माया गरेर पठाउने पनि अछामी जनता नै हुन्।’
एमालेमा केपी ओलीको कदमविरुद्ध विद्रोह गर्नुअघि कुँवरले रावललाई भनेका थिए– ‘हामी डिलमा पुगिसक्यौँ, अब तपाईंको पनि कल्याण हुँदैन। तपाईंलाई पनि कत्लेआम गर्छन्, अरूलाई पनि कत्लेआम गर्छन्। हामीले कत्लेआम हुने कि आफ्नो बाटो तताउने?’
तर, रावल एकीकृत समाजवादी जान मानेनन्। उनी राजनीतिमा ठूलो योगदान गरेका रावललाई एमालेले अपमानजनक व्यवहार गरेको बताउँछन्।
कुँवर अब बाँकी रहेको संसदको दुई वर्षको कार्यकालमा महत्त्वपूर्ण कानुन निर्माण र विकासका अधुरा काम पूरा गर्नमा केन्द्रित हुने बताउँछन्।
‘अब बाँकी कार्यकालमा अझै महत्त्वपूर्ण कानुन बनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ,’ उनले भने, ‘किनकि देशलाई निर्देशित गर्ने भनेको कानुनले हो। व्यक्तिले शासन चलाए पनि शासन कानुनले गर्नुपर्छ।’
आफ्नो निर्वाचन क्षेत्रका जनताले दिएको जिम्मेवारीलाई कहिल्यै गलत ढंगले प्रयोग नगर्ने र उनीहरूको चित्त नदुखाउने उनको संकल्प छ।
‘बरु काम नहोस्, तर गलत नहोस् भन्ने मेरो मान्यता छ,’ उनले भने।
हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाटः
फोटो/भिडिओ : सौगात दाहाल

प्रतिक्रिया