पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुधबार (असार ११ गते) विशेष अदालतमा ८ घण्टाभन्दा बढी समय बिताएका छन्।
पतञ्जलि योगपीठ भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा आज बयान चलेको हो।
बहसमा अख्तियारका तर्फबाट निजी कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त, विशेष सकारी वकिलको कार्यालय प्रमुख मोहन सागर बस्याल, भगवनी देवी गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए।
त्यस्तै नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठले बहस गरे।
बहसका क्रममा इजलासभित्र मोबाइल लैजान प्रतिबन्ध लगाइएको थियो भने बाहिर बहस सुन्ने व्यवस्था मिलाइएको थियो। अदालत बाहिर सर्वसाधारण र नेपाल समर्थक कार्यकर्ताहरूको भिड थियो।
लगभग दिनभरी बहस चलेपछि आदेश कुर्दै नेता नेपालले साँझ साढे ६ बजेपछि अदालतको क्यान्टिनमा आफ्ना वकिलसँगै कालो चिया र उसिनेको मकै खाए।
नेपालको मुद्दामा आजै आदेश आउँदैछ।
जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनी रूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधामन्त्री नेपालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो।
















Shares

प्रतिक्रिया