नेपालखबरविरुद्ध नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठको निवेदनमा सुनुवाइ सकिएको छ। श्रेष्ठले बिचौलियामार्फत घुस मागेको विषयका समाचार प्रकाशन भएपछि नेपालखबर र बिजमान्डुविरुद्ध श्रेष्ठले निवेदन दायर गरेका थिए।
निषाधाज्ञाको निवेदनमा एकपक्षीय सुनुवाइपछि गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
जेठ २७ गते न्यायाधीश शर्माको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबारे प्रकाशित समाचार हटाउन र थप नलेख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सोही आदेशमा नेपालखबर र बिजमान्डुसँग लिखित जवाफ माग गर्दै बुधबारका लागि छलफलमा झिकाएको थियो।
त्यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा बुधबार बहस नसकिएपछि बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको थियो। बिहीबार प्रतिवादीका तर्फबाट बहस सकिएपछि निवेदक श्रेष्ठका वकिलले जवाफी बहस गरेका थिए।
श्रेष्ठले अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिन माग गरेका छन्। नेपालखबर र बिजमान्डुले भने श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले प्रश्न उठ्नु स्वाभाविक भएको बताउँदै निवेदन नै खारेजीको माग गरेका छन्।
Shares

प्रतिक्रिया