ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग भएको बताएका छन्।
सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले यस्तो बताएका हुन्। नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको उनको भनाइ छ।
मन्त्री खड्काले देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताए। नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन आग्रह समेत गरे।
उनले भने, ‘काम प्रसस्त भइरहेका छन्। सकारात्मक सोचका साथ काम गरौँ। भएन भएन भन्ने भाष्य तयार गरिएको छ। भएको कुरा नदेख्ने र केही भएन भनेर एउटा वर्ग नै लागेको छ। यो नेपाल विरोधी वर्ग हो।’
उनले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षति नोक्सानीप्रति सरकार गम्भीर रहेको पनि बताए। उनले २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए।
इन्द्रावती गाउँपालिकास्थित भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना अघि बढाइएको जिकिर गरे।

प्रतिक्रिया