नेकपा (मसाल) ले भारत र पाकिस्तानलाई आपसी छलफलद्वारा कश्मीर समस्या समाधान गर्न आग्रह गरेको छ।
बिहीबार बसेको पार्टीको पोलिटब्यूरो बैठकले द्वन्द्वरत दुई छिमेकीलाई वार्ताद्वारा समस्या हल गर्न आग्रह गरेको बैठकपछि महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा जनाइएको छ।
मसालले कश्मीरको समस्या बल्झिनुका पछाडि त्यहाँका जनतालाई आत्मनिर्णयको अधिकार नदिनु रहेको पनि ठहर गरेको छ।
संयुक्त राष्ट्र सङ्घ, भारत र पाकिस्तानले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारसम्बन्धी पहिले नै भएको सम्झौता कार्यान्वयन गर्न पनि मसालको आग्रह गरेको छ।
यस्तो छ, प्रेस वक्तव्य
भारतद्वारा पाकिस्तानमाथि गरिएको सैनिक आक्रमण तथा त्यसबाट उत्पन्न स्थितिमाथि विचार गर्नका लागि आज उपलब्ध पी।बी।एम। सहित नेकपा (मसाल) को केन्द्रीय कार्यालयको बैठक बसेको थियो। त्यो छलफलद्वारा निकालिएको निष्कर्षलाई सार्वजनिक गर्नका लागि यो वक्तव्य जारी गरिएको छ।
१) भारतद्वारा पाकिस्तानका विभिन्न स्थानमा सैनिक आक्रमण गरिएको छ। त्यसबाट कुन प्रकारको स्थिति उत्पन्न हुनेछ र युद्धले कुन प्रकारको रूप लिनेछ रु त्यो कुरा सम्भवतः आउने दिनमा नै थाहा हुनेछ। जे होस्, भारत र पाकिस्तानका बिचमा युद्ध हुन्छ भने त्यसले ती दुबै देशलाई ठुलो क्षति पुऱ्याउनुका साथै पूरै दक्षिण एसियामा पनि त्यसले असर पार्नेछ र त्यसको विश्वभरमा नै प्रभाव पर्नेछ।
२) समाचार माध्ययमद्वारा प्राप्त जानकारीअनुसार भारतले आतङ्कवादीमाथि नै आक्रमण गरेको भने पनि त्यो आक्रमणबाट कैयौँ निर्दोष महिला र बालबालिकाको पनि हत्या भएको छ। त्यस प्रकारको कारबाहीलाई अवश्य पनि न्यायसङ्गत भन्न सकिन्न र हामीले त्यस प्रकारको कारबाहीको विरोध गर्दछौँ।
३) भारत र पाकिस्तान दुबै आणविक शक्तिसम्पन्न राष्ट्र हुन्। त्यो युद्धको क्रममा अणुबमको पनि प्रयोग भयो भने त्यसबाट ठुलो क्षति पुग्नेछ। त्यसकारण हामीले यो कुरामा जोड दिन्छौँ कि उनीहरूका आपसी मतभेद वा समस्यालाई परस्परमा छलफल गरेर टुङ्ग्याउनका लागि कोसिस गर्दै युद्धलाई रोक्न दुबै देशले ध्यान दिनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ। त्यसका लागि हामीले संयुक्त राष्ट्र सङ्घ र विभिन्न अन्तर्राष्ट्रिय संस्थाको पनि ध्यान आकर्षित गर्न चाहन्छौँ।
४) पहलगामको घटना अवश्य पनि आतङ्कवादी घटना हो। संसारमा जहाँ पनि निःशस्त्र र निरपराध जनतामाथि गरिने कुनै पनि हिंसात्मक कारबाही आतङ्कवादी कारबाही हो र हामीले त्यसको सधैँ विरोध गर्दै आएका छौँ र पहलगामको आतङ्कवादी कारबाहीको पनि हामीले तीव्र शब्दमा विरोध र भर्त्सना गर्दछौँ।
५) पहलगामको हत्याकाण्डपछि सम्बन्धित अपराधीलाई पत्ता लगाएर उनीहरूलाई आवश्यक दण्डसजाय गर्न नै सही र न्यायोचित कार्य हुन्थ्यो तर त्यसको नाममा कुनै देशमाथि आक्रमण गर्नु र त्यसरी युद्धको स्थिति तयार पार्नु अवश्य पनि सही कुरा होइन।
६) कश्मीरका जनताले लामो समयदेखि जनमत सङ्ग्रहद्वारा आफ्नो भाग्यको फैसला गर्ने आत्मनिर्णयको अधिकारका लागि सङ्घर्ष गर्दै आएका छन्। अहिले कश्मीरका इलाकामा एकातिर भारतले र अर्कोतिर पाकिस्तानले कब्जा जमाएका छन्। त्यसरी कश्मीरका जनता ती दुबै देशद्वारा पीडित छन्।
७) पहिले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा र भारत र पाकिस्तान दुबै देशको सहमतिमा कश्मीरका जनतालाई जनमत सङ्ग्रहद्वारा भारत र पाकिस्तानमध्ये कुनै देशमा मिल्ने वा स्वतन्त्र रहने निर्णय गर्न दिने सम्झौता भएको थियो तर पछि भारतले स्वयम् आफ्नै सहमतिमा भएको त्यो सम्झौतालाई अस्वीकार गऱ्यो र पूरै कश्मीरमा आफ्नो अधिकार भएको दाबी गऱ्यो। त्यसले कश्मीरमा जनमत सङ्ग्रह गराउन पनि अस्वीकार गऱ्यो। कश्मीरका जनताले गत करिब ७ दशकदेखि आफ्नो भाग्यको फैसला गर्न जनमत सङ्ग्रहको लागि आन्दोलन गर्दै आएका छन्। त्यो सम्झौता लागु नभएको हुनाले नै कश्मीरमा अशान्ति छ। कश्मीरका जनताले जनमत सङ्ग्रहका लागि गरिरहेको आन्दोलन न्यायपूर्ण छ र हामीले त्यसलाई दृढतापूर्वक समर्थन गर्दछौँ।
८) कश्मीरका जनताले जनमत सङ्ग्रहका लागि गरिरहेको न्यायपूर्ण आन्दोलनको सिलसिलामा त्यहाँ आतङ्कवादी गतिविधि पनि देखा पर्ने गरेका छन्, जसको ताजा उदाहरण पहलगामको घटना हो। कश्मीरमा कतिपय आतङ्कवादी गतिविधि हुने गरेको भए पनि त्यो कारणले कश्मीरका जनताको जनमत सङ्ग्रहको न्यायपूर्ण मागलाई गलत बताउनु वा दबाउनु अवश्य पनि सही हुने छैन।
९) कश्मीरसम्बन्धी विवादका कारणले भारत र पाकिस्तानका बिचमा कैयौँ पल्ट युद्ध भएका छन् र अहिले पनि युद्धको स्थिति उत्पन्न भएको छ। जबसम्म कश्मीरका जनताको जनमत सङ्ग्रहको न्यायपूर्ण मागलाई पूरा गरिने छैन, कश्मीरको तनावपूर्ण अवस्था कायम रहिरहनेछ र शक्तिको बलमा त्यसलाई दबाउन कहिल्यै पनि सम्भव हुनेछैन। त्यसैले संयुक्त राष्ट सङ्घको मध्यस्थतामा तथा स्वयम् भारत र पाकिस्तानको बिचमा भएको सहमतिअनुसार कश्मीरमा जनमत सङ्ग्रह गराएर त्यहाँका जनतालाई आफ्नो भाग्यको फैसला गर्ने अधिकार दिनु नै अहिलेको कश्मीरमा देखा परेको तनावपूर्ण स्थिति र अशान्तिको समेत समाधान हुनेछ। त्यो अवस्थामा दशाब्दियौँदेखिको पाकिस्तान र भारतका बिचको तनावपूर्ण सम्बन्धमा पनि सुधार हुनेछ।
Shares

प्रतिक्रिया