राजनीति


आवासीय चिकित्सकलाई काममा फर्कनासाथ बढेको भत्ता दिने निजी मेडिकल कलेजहरूको प्रतिबद्धता

आवासीय चिकित्सकलाई काममा फर्कनासाथ बढेको भत्ता दिने निजी मेडिकल कलेजहरूको प्रतिबद्धता

आवासीय चिकित्सकहरूको प्रदर्शन


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १९:५७, काठमाडौँ

निजी मेडिकल कलेजले आन्दोलनरत आवासीय चिकित्सकलाई काममा फर्कनासाथ उनीहरूले माग गरिरहेको निर्वाह भत्ता दिने प्रतिबद्धता जनाएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालका अनुसार शिक्षामन्त्री रघुजी पन्तसँग एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीको प्रतिनिधिमण्डलले भेट गरी सो प्रतिबद्धता जनाएका हुन्।

‘छलफलका क्रममा अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले चिकित्सा शिक्षा आयोगको मिति २०८१ र १० र २५ गते बसेको १६औँ बैठकबाट निर्देशन भए बमोजिम सम्पूर्ण आवासीय चिकित्सकलाई बैठकबाट पारित भएको निर्वाह भत्ता मासिक रु. ४८ हजार ७३७ रुपैयाँ मात्र रकम प्राइभेट मेडिकल एन्ड डेन्डल कलेजको तर्फबाट सम्बन्धित शिक्षण संस्थामा उपस्थित हुनासाथ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ’ मन्त्रालयले मंगलबार विज्ञप्तिमार्फत भनेको छ।

साथै, यस्तो सहमति भइसकेको सन्दर्भमा प्रदर्शनमा उत्रेका सबै आवासीय चिकित्सकहरूलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्केर बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

आवासीय चिकित्सकहरू आठौँ तह (४८ हजार) बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभएसम्म आन्दोलन फिर्ता नलिने अडानसहित २७ दिनदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन्।

साथै उनीहरूले निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको अत्यधिक श्रम शोषण हुने गरेकाले एक आवासीय चिकित्सकलाई हप्तामा ७२ घण्टाभन्दा बढी काममा लगाउन नहुने, वर्षको २८ दिन अनिवार्य बिदा दिनुपर्ने, किरिया बिदा र सुत्केरी बिदा आवश्यकताका आधारमा थप्नुपर्ने पनि माग राखेका छन्।

एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले आठौँ तह नभनेपनि सो सरहको सुविधा दिन तयार भएको छ। तर चिकित्सकका अन्य मागबारे भने मन्त्रालयले केही बताएको छैन।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad