गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको दाबी गरेका छन्।
नेपाल प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको जिकिर गर्दै सरकार नढल्ने बताएका हुन्।
उनले भने, ‘साथीहरूले सरकार ढल्छ ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ।’
पछिल्लो समय संविधानका साथै संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधि देखापरिरहेको उल्लेख गर्दै उनले त्यस्तो शक्तिलाई जनताले नरुचाउने बताए।
लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै उनले लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चारमाध्यम हुने गरेको कुरा विगतमा भोगिसकेको बताए।
अघिल्लो पुस्ता तथा नयाँ पुस्ताको अथक प्रयासबाट वर्तमान संविधान बनेको उल्लेख गर्दै उनले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए।
नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उनले वर्तमान संविधानलाई पनि अन्त्य गरी मुलुकलाई पुन: अँध्यारोतर्फ धकेल्न नदिइने चेतावनी दिए।
लोकतन्त्रमा कमीकमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उनले यसमा नागरिक सर्वोपरि हुने धारणा राखे।
संविधानविरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्नेलाई राजनीतिक रूपमा जवाफ दिनुका साथै कानुनबमोजिम पनि अघि बढिने गृहमन्त्री लेखकले बताए।
फरक प्रसंगमा उनले आमाको नाममा नागरिकता प्रदान गर्ने सम्बन्धमा विधेयक अघि बढाइसकिएको र समस्या चाँडै समाधान हुने विश्वास दिलाए।
आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेयताका नौ महिनामा कानुनी एवम् नीतिगत व्यवस्था प्रभावकारी बनाउनेतर्फ लागेको दाबी उनले गरे।
आवश्यक विभिन्न कानुन संसद्मा प्रस्तुत हुने गरी तयारी भइरहेको उनको भनाइ छ।
अपराध नियन्त्रण, लागुऔषध, आत्महत्या, साइबर अपराधजस्ता विभिन्न चुनौती सामना गर्ने कुरामा सरकार दृढ रूपमा अघि बढेको उनले बताए।
गभर्नर नियुक्ति गायत विषयमा समस्या नरहेको भन्दै उनले सही व्यक्तिलाई सही स्थानमा ल्याइने दाबी गरे।
यस्तै शिक्षककका माग सम्बोधन गर्न पनि सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकको भनाइ छ।
Shares

प्रतिक्रिया