राजनीति


नेपालखबर ‘तत्कालै’मा उपेन्द्र यादव : सरकार ढाल्न दाहाल एकैपटक यता कांग्रेसलाई फोन लगाउँछन्, उता ओलीकहाँ मान्छे पठाउँछन्


अनिल यादव
बैशाख ३ , काठमाडौँ

लोकले देखेकै हो, उपेन्द्र यादव र सिके राउतको राजनीतिक टकराव। मधेसमा यादव–राउत भनौँ या जसपा–जनमत पार्टी, दुवै एक–अर्काको बलियो प्रतिस्पर्धी र विरोधी। तर गत चैत २१ गते अनौठो भयो। सधैँ एकअर्काको उछितो काढ्ने र कहिल्यै एक ठाउँमा नउभिएका यादव–राउत एकै मञ्चमा उभिए, त्यो पनि मोर्चावन्दीको घोषणासहित।

मधेश केन्द्रित सात दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा भएपछि यतिखेर सर्वत्र चासो छ– कसले मिलायो यादव–राउतलाई?

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव सबैको पहलमा यो परिस्थिती निर्माण भएको बताउँछन्।

‘हामीले आफ्नै मिहनेतबाट एक ठाउँ भएका हौँ,’ नेपालखबर ‘तत्कालै’ मा कुरा गर्दै यादवले मंगलबार साँझ भने, ‘हृदयेश त्रिपाठी, महन्थ ठाकुर, राजेन्द्र महतो र सिके राउतको पनि योगदान छ। क्रेडिट सबैलाई दिनुपर्छ।’

लगत्तै यादवले थपे, ‘यतिखेर संघीयता र गणतन्त्र धरापमा पार्ने खेल भइरहेको छ। यस्तो बेलामा संघीय गणतन्त्र र लोकतन्त्रलाई रक्षा गर्ने र त्यसको पक्षमा एक ठाउँमा नउभिने हो भने संघीय गणतन्त्र बेवारिसे भएर सिधिन्छ। त्यसको रक्षा गर्न र विगतका आन्दोलनबाट प्राप्त उपलब्धीलाई कार्यान्वयन, सुरक्षित र संस्थागत गर्न संघीय लोकतान्त्रिक मधेशी मोर्चा बनेको हो।’

जसपा इतिहास निर्माण गरेर आएको पार्टी भएकाले सिके राउतको जनमत पार्टी आफ्नो प्रतिष्पर्धी हुन नसक्ने उनको तर्क छ।

‘सिके राउत हाम्रो प्रतिष्पर्धी होइन। हामी इतिहास निर्माण गरेर आएको पार्टी हो,’ यादवले भने, ‘यद्यपी आन्तरिक रुपले एक अर्काबीच प्रतिष्पर्धा हुन्छ भने त्यसलाई हामीले स्वागत र आत्मसाथ गरौँ। मधेश, दलित उत्पीडित, सीमान्तकृतका मुद्दा ओझेल परेका छन्। त्यसलाई सम्बोधन गराउन, राजनीतिक स्थिरता र आर्थिक समृद्धितर्फ मुलुकलाई लान एक्लाएक्लै प्रयासले सम्भव छैन भनेपछि मिलेर गरौँ भनेर सहकार्यको थालनी गर्ने प्रयास भएको हो।’

मधेश प्रदेश सरकार बनाउँदा कहिल्यै मिल्न नसक्ने, अनि केन्द्रमा मोर्चाबन्दी चाहिने?

‘त्यतिबेला परिस्थिती परिपक्व थिएन,’ जवाफमा यादवले भने, ‘अर्को कुरा मधेशको दुर्भाग्य हो, हामी सधैँ एकआपसमा लड्छौँ। नकरात्मक दृष्टिकोणले बढी हेर्छौ। सहयोगी र सहकार्य भएर अघि बढ्दा परिणाम आउँछ भन्ने सोच धेरै पछि आउँदो रहेछ। ’

मधेशमा पटकपटक मोर्चावन्दी भएपनि लामोसमय टिकेको इतिहास छैन्। यसपटक पनि त्यही दृश्य दोहोरिने त होइन भन्ने जिज्ञासामा यादवको जवाफ छ, ‘भर्खरै जन्मिएको छ, कहिले मर्ला नभनौँ। विगतका अनुभवबाट सिकेर अब टिकाउनुपर्छ। एक्लै गर्न सकिन्न भने मिलेर गर्न सकिने सम्भावनालाई बचाएर लानुपर्छ। अहिलेको मोर्चालाई सबैले दायित्व सम्झिए लामो जान्छ, तर कसैले सत्ताधारी पार्टीसँग मिल्दा फाइदा हुन्छ भनेर क्षणिक सोच राखे भने चल्दैन। एउटा पार्टी चलाउन त अहिले १२ बजिराको छ, ठूला दललाई नै, त्यस्तो अवस्थामा चल्दैन।’

अध्यक्ष यादवसँग नेपालखबरले राजावादीहरुको सक्रियताबारे जिज्ञासा राख्दा उनले उल्टै प्रश्न गरे, ‘राजावाद भनेको के हो? यो कस्तो वाद हो?’

सडकबाट राजतन्त्र ल्याउन सम्भव छैन भन्नेमा उनी निकै प्रष्ट सुनिन्छन्।

‘राजतन्त्र यो मुलुकमा ल्याउँछु भन्ने सोच हो भने अढाई सय वर्ष नेपालमा राजतन्त्रको अनुभव छ,’ यादवले भने, ‘जनताले बलिदान दिएर गणतन्त्र ल्याएको हो। गणतन्त्र आइसकेपछि राजतन्त्रमा फर्किएका मुलुक अपवादवाहेक छैन। फेरि सडकबाट राजतन्त्र आएको इतिहास कहाँ छ? मुलुक पुँजीवादी लोकतन्त्रबाट अगाडी बढिसक्यो। राजतन्त्र भनेको सामान्ती व्यवस्थाको उपज हो। पुँजीवादबाट मुलुक सामान्तवादमा फर्केको इतिहास कहीँ पनि छैन। सामान्तवादबाट दासयुगमा फर्केको इतिहास पनि छैन। पुँजीवादमा विकास भइसकेको मुलुक फेरि जंगल युगमा गएको इतिहास पनि छैन। त्यसकारण इतिहास अगाडी बढ्छ। फर्केर पछाडी जाला भन्ने मलाई लाग्दैन।’

अहिले जनआक्रोशको विकल्पका रुपमा केहीले राजा फर्काउने अभियानमा साथ दिएजस्तो देखिएपनि त्यसले अर्थ नराख्ने उनको तर्क छ।

‘केहीले रिसले राजा भनिरहेका हुन्। राजाले नेपालको हित हुन्छ भन्ने कसैलाई लाग्दैन। सबैले देखेकै हुन् अढाइ सय वर्ष राजा हुँदा के भयो, कति विकास भयो,’ उनले भने। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै केपी ओली नेतृत्वको सरकार ढल्ने र कांग्रेस नेतृत्वको सरकार बन्ने उद्घोष गरिरहँदा हामीले यादवलाई सोध्यौँ– सरकार ढल्नै लागेको हो त?

‘प्रचण्ड भन्न छोड्दिम् अब। पुष्पकमल दाहाल भन्दा पुग्छ। प्रचण्ड छैनन् अहिले। जनयुद्धमा परिवर्तन क्रान्तिका नायक थिए प्रचण्ड। पुष्पकमल दाहाल सत्ता, सरकार र सरकारबाट प्राप्त हुने लाभका नाइके भइसके,’ यादव अलि कडा रुपमा प्रस्तुत भए, ‘अब दाहालजी कतिखेर यो सरकार ढलोस् र म छिरौँला भन्ने दाउमा छन्। उनी यता कांग्रेसलाई फोन गर्छन्, उता ओलीसँग पनि कुरा गर्न मान्छे पठाउँछन्। एकातिर एमाले हटाएर मलाई ल्याऊ भन्ने, उता कांग्रेस हटाएर मलाई ल्याऊ भन्ने। यस्तो फोहोरी खेल प्रचण्डले गर्दैनन् नि। पुष्पकमल दाहालले मात्रै गर्छन्।’

नेपालमा कुनै पनि गठबन्धन सरकार पुरा अवधि नटिकेको स्मरण गराउँदै यादवले यो सरकार पनि चाँडै ढल्न सक्ने दाबी गरे।

हेरौँ, राउतसँगको सम्बन्ध, सरकारको आयु, राजावादीहरुको आन्दोलनबारे नेपालखबर ‘तत्कालै’मा उपेन्द्र यादवले गरेको यो विस्तृत कुराकानी:


फोटो/भिडिओः सौगात दाहाल

बैशाख २, २०८२ मंगलबार २२:१६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad