राजनीति


स्वास्थ्यमन्त्री पौडेलको प्रस्ताव: संघीयता बोझिलो र खर्चिलो भयो, पुनरवलोकन गरौँ

स्वास्थ्यमन्त्री पौडेलको प्रस्ताव: संघीयता बोझिलो र खर्चिलो भयो, पुनरवलोकन गरौँ

प्रदीप पौडेल


नेपालखबर
चैत २४, २०८१ आइतबार १७:२, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीयता बोझिलो र खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन्। शुक्रबार नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो र खर्चिलो भएको संघीयताको पुनरवलोकन गर्न जरुरी रहेको बताएका हुन्।  

‘वास्तवमा जनतालाई अधिकार दिलाउने सन्दर्भमा संघीयता परिस्कृत स्वरुप हो। तर हाम्रो संघीयता बोझिलो छ। हाम्रो संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो, खर्चिलो बनेको स्थिति छ,' उनले भने, 'डिजिटल करेन्सी प्रयोग गर्ने स्थिति नभएसम्म यो मुलुकमा पारदर्शीता कायम हुने स्थिति भएन। त्यसैले अब हामीले नेपाललाई डिजिटलाइजेसनमा लिएर जानुपर्छ।'

पौडेलले खर्चिलो र बोझिलो भएको संघीयतालाई छरितो बनाउन सांसद, मन्त्रिमण्डल, प्रदेश र स्थानीय तहहरूको संख्यासमेत घटाउनुपर्ने बताए। 

'अब सांसदको संख्या २७५ होइन २०१ मा झारौँ। केन्द्रीय मन्त्रिमण्डलको संख्या २५ बाट १५ मा झारौँ, प्रदेशको संख्या एक तिहाइ घटाउँ। प्रदेशमा पनि एउटा मुख्यमन्त्री, एउटा वित्तमन्त्री र एउटा प्रशासनमन्त्री मात्र राखौँ र पालिकाहरूको संख्या पनि घटाउँ,' उनले भने, 'बरु वडाको संख्या बढाउँ। यसरी हामीले खर्चिलो बनेको संघीयतालाई छरितो बनाउन सक्छौँ। राजनीतिक संरचनाहरू छरितो भइसकेपछि प्रशासनिक संरचनासमेत छरितो बनाउने बाटो खुल्छ। सुरक्षा संरचना पनि छरितो बनाउने बाटो खुल्छ। संघीयता पुनरवलोकन गरौँ।’

न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad