राजनीति


पूर्वराजाको सन्देशप्रति रवीन्द्र मिश्रको १२ बुँदे व्याख्यात्मक टिप्पणी

पूर्वराजाको सन्देशप्रति रवीन्द्र मिश्रको १२ बुँदे व्याख्यात्मक टिप्पणी

नेपालखबर
फागुन ७, २०८१ बुधबार १६:३१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजाले १० गल्ती गर्दा दलहरूले हजार गल्ती गरेको आरोप लगाएका छन्।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देशबारे सामाजिक सञ्जालमा धारणा राख्दै मिश्रले ‘राजाको सन्देशमा ‍सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारीमा जाने मनसाय भएको’ उल्लेख गरेका छन्।

आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले ‘देश जोगाउका लागि आफूलाई साथ दिन’ आह्वान गरेका थिए। आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन्।

पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। नेपालको उन्नतिका लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ। अब समय आयो। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं।’

मिश्रले पूर्वराजा सक्रिय राजनीतिमा आउन खोजेको संकेत गर्दै भनेका छन्, ‘राजाले त्यसै बोलेका छैनन्।’

मिश्र १२ बुँदामा लेख्छन् :
१) राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन। राजासंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन्। तर ती हजार गल्ती यति गम्भिर भए कि तिनले देशमा #नैतिकसंकट र #ज्ञानकोसंकट चरम अवस्थामा पुर्याएर देशलाई नै #अस्तित्वको संकट उन्मूख बनाइदिए।

२) तसर्थ देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटीबाट शिक्षा लिँदै राजा र राजनीतिक दलहरू एक ठाऊँमा आउन अत्यावश्यक छ। राजाको सन्देशमा ‍सबैले सबैका कमजोरीलाई क्षमा गर्दै ३नवीनसमझदारी मा जाने मनसाय भएको स्पष्ट भाव छ।

३) राजाको आह्वानलाई ठूला दलहरूले पहिलेजस्तै अहंपूर्ण ढङ्गबाट लिने र राजालाई तथानाम गर्ने हो भने अब नेपालको राजनीतिमा हुने ‘सिस्टेमिक ओभरहलिङ’ पद्दतिपूर्ण र शान्तिपूर्ण हुने छैन। त्यो कसैका लागि पनि हितकर हुँदैन।

४) ठूला दलका ठूला नेता राजाको प्रजातन्त्र दिवसको सम्वोधनप्रति सकारात्मक हुन नितान्त जरूरी छ। राजाले त्यसै बोलेका छैनन्। सबै मिल्नुको विकल्प छैन।

५) छिमेकी भारतले पनि नेपालबारेको आफ्नो दृष्टिकोणलाई समिक्षा गरी पुनः दुई खम्बे नीति (संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र) मा फर्किन जरूरी छ। विश्वको सर्वशक्तिमान बन्ने दिशामा रहेको भारतका लागि साँध जोडिएको शदियौँको छिमेकी कमजोर, अविश्वासिलो, अस्थिर र अन्तर्राष्ट्रिय भूराजनीतिको क्रीडास्थल हुनु राम्रो हुँदै होइन।

६) जहाँसम्म देशभित्रका राजसंस्थावादीहरूको कुरा छ, सबै राजसंस्थावादी पार्टी र समूहहरूले तत्काल आ(आफ्नो बैठक बोलाएर अब राजाको आह्वानमा कसरी परिणाममुखी ढङ्गबाट साथ दिने भनेर गहन छलफल गर्न अत्यावश्यक छ।

७) मैले पहिले पनि बोलेको र लेखेको हुँ, झण्डै ८० वर्ष पुग्न लागेका राजाले राजसंस्थाको गरिमालाई कायम राख्दै र देशभरी राजसंस्थाको पक्षमा माहोल बनाउँदै जाने, र, अपवादलाई छोडेर, हामी झगडिया, स्वार्थी, पदलोलुप, घमण्डी, अहंले पूर्ण राजसंस्थावादीहरूले चाहिँ त्यो माहोल बिगार्दै जाने काम निरन्तर रूपमा भएको छ। अब त्यो कार्य तत्काल रोकौँ। नत्र राजसंस्थावादीहरूले, अरू त कुरै छोडौँ, राजसंस्था पुनर्स्थापनाको श्रेय पनि पाउने छैनन्।

८) ठूला दलहरूभित्र राजसंस्था फाल्नु गल्ती भयो भन्ने प्रशस्त साना/ठूला नेताहरू छन्। अब ती नेताहरूले कुरा नचपाइ बोल्न पर्छ।

९) त्यस्तै अनौपचारिक भेटघाट, चिया गफमा राजसंस्था अत्यावश्यक भइसक्यो भन्ने तर ‘पश्चगामी’को ट्याग लाग्ला, विवादमा परिएला भनेर बाहिर चाहिँ शब्दहरू तौलि(तौलि बोल्ने कयौँ नागरिक समाजका अगुवाहरू अब मौन बस्न हुँदैन।

१०) अनि राजालाई झापा गएर भेटेर ‘राजसंस्था पुनर्स्थापना गर्ने पार्टी स्थापना गर्दा ठूलै रकम लाग्छ, त्यो प्राप्त हुन्छ कि हुँदैन?’ भनेर राजासँग घुमाउरो प्रस्ताव गर्ने र रकम नआउने देखेपछि देशै हल्लाउने गरेर घनघोर गणतन्त्रवादी बन्दै पार्टी खोल्ने (हरू) ले अब के गर्ने हुन्, कुन्नी! तिनको पनि बुद्धि फिरोस् भन्ने कामना गर्दछु।

११) जसरी देशको भलाइका लागि अनगिन्ती कमजोरीका अलावा लोकतन्त्र जोगाउनु जनताको दायित्व हो, त्यसैगरी आ–आफ्ना विचारभन्दा माथि उठेर कयौँ कमजोरीका अलावा देशको भलाइकै लागि राजसंस्था जोगाउनु जनताकै दायित्व हो।

१२) छिटै शान्तपूर्ण ढङ्गबाट नवीनसमझदारी र ‘सिस्टेमिक ओभरहलिङ’ को बाटोमा देश गएको देख्न पाइयोस्! प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! #विचारभन्दामाथिदेश, ३देशकालागिनरेश, #नवीनसमझदारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad