राजनीति


सत्ता-शक्तिको अनावश्यक मोहले भ्रष्टाचारतर्फ प्रवेश गराउँछ: राष्ट्रपति पौडेल

सत्ता-शक्तिको अनावश्यक मोहले भ्रष्टाचारतर्फ प्रवेश गराउँछ: राष्ट्रपति पौडेल

नेपालखबर
माघ २८, २०८१ सोमबार ११:०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउन नसकिने बताएका छन्।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकंक्षालाई पूरा गर्नुपर्ने धारणा पनि राखे।

देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मूल मन्त्र बनाएर काम गर्नुपर्ने उनको सुझाव थियो।

नीति, पद्धति, विधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन, सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता भएको उनले उल्लेख गरे।

सत्ता, शक्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवेश गराउने उनको भनाइ थियो।

उनले भने, ‘सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा लैजान सकिँदैन। नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकंक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मूल मन्त्र बनाएर काम गर्नुपर्छ। यसमा नीति, पद्धति, विधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन, सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता हो। सत्ता, शक्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवेश गराउँछ।’

राष्ट्रपति पौडेलले सूचना र प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमा समेत जटिलता थपिएको बताए।

भ्रष्टाचारको प्रकृति र स्वरुप परिवर्तन भइरहेको भन्दै त्यसैअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो।

उनले सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्यसंयन्त्र सधैँ चनाखो रहनुपर्ने सुझाव पनि दिए।

भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि समस्या आएको गुनासो आइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad