नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नो पक्षबाट अनेरास्ववियू क्रान्तिकारीका नवनिर्वाचित कार्यसमितिका नेताहरूको छुट्टै भेला गरी छलफल गरेका छन्।
कलंकीको मेगा ब्यांक्वेटमा राखिएको भेलामा नवनिर्वाचित कार्यसमितिका करिब ६० प्रतिशत विद्यार्थी नेता सहभागी थिए।
शर्मा पक्षका उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ७, सचिव ७ र कोषाध्यक्ष १ जना छन्।
आजको हेड्क्वार्टर भनिने भेलामा २ जनाबाहेक सबै सहभागी भएको एक नेताले जानकारी दिए।
सो भेलालाई शर्माले सम्बोधन गरे।
उनले निर्वाचित टोलीलाई खादा र अबिर लगाइदिए ।
साँझ ४ बजेदेखि ७ बजेसम्म डिनरसहितको भेलामा शर्मा पूरै अवधि बसे। उनले सम्बोधन गर्दै क्रान्तिकारीको हेडक्वार्टर यही रहेको बताए।
उनले भने, 'हामीले क्रान्तिकारीबाट विधिको सुरुवात गरेका छौँ, यसले पार्टीमा पनि निर्वाचन गराउनुपर्छ भन्ने आवश्यकताबोध गराएको छ। अब क्रान्तिकारीको सिंगो टिम यहाँ छ। यो विद्यार्थीको हेडक्वार्टर टिम हो। पार्टी निर्माणमा यो पुस्ता लाग्नुपर्छ।'
अन्य नेताका गुट मात्र भएको शर्माको टिप्पणी थियो।
'पार्टीभित्र खडा भएका विभिन्न अवरोध सामना गर्न तपाईंहरू सफल हुनुभयो,' शर्माले भेलामा राखेको भनाइ उद्धृत गर्दै एक नेताले नेपालखबरसँग भने, 'पार्टीभित्र नयाँ विधि स्थापनाको लागि तपाईंहरुले भूमिका खेल्नुपर्छ।'
सो भेलामा केन्द्रीय सदस्य सुदन किराँती पनि सहभागी थिए। यस्तै भेलामा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, केन्द्रीय सदस्य पदम जोशी, सन्तोष बिस्टलगायत उपस्थित थिए।
अध्यक्ष प्रचण्डले अनेरास्ववियू क्रान्तिकारीको नवनिर्वाचित कार्यसमितिलाई बिहीबार खुमलटार बोलाएर छलफल गरेका थिए। त्यसको २४ घण्टा नबित्दै उपमहासचिव शर्माले बेग्लै भेला गरेका हुन्।
माओवादीमा पकड विस्तार गरिरहेका शर्माले विद्यार्थी नेतालाई आफ्नै टिमबाट अन्यन्त्र जान नदिने रणनीति बनाएका छन्।
सहभागीका अनुसार, भेलामा क्रान्तिकारीका निवर्तमान थुप्रै पदाधिकारी पनि उपस्थित थिए।
३२ वर्षे उमेर हद लगाएपछि पहिलोपटक भएको प्रत्यक्ष निर्वाचनबाट उपमहासचिव शर्मा पक्ष क्रान्तिकारीमा हाबी भएको छ।
Shares

प्रतिक्रिया