राजनीति


योगेशले भने– पाथीभरामा बन्ने केबलकारले कुनै पनि संस्कृति र आस्थालाई कमजोर पार्दैन

योगेशले भने– पाथीभरामा बन्ने केबलकारले कुनै पनि संस्कृति र आस्थालाई कमजोर पार्दैन

तस्बिरः सरोज बैजु


नेपालखबर
माघ १६, २०८१ बुधबार १३:७, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका नेता एवं ताप्लेजुङका संघीय सांसद योगेश भट्टराईले पाथीभरामा बन्ने केबलकारले कुनै धर्म, संस्कृति र आस्थालाई कमजोर नपार्ने दाबी गरेका छन्। 

ताप्लेजुङ जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल पाथीभरामा केबलकार निर्माणबारे बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै उनले त्यहाँ मुख्य मन्दिरलाई असर गर्ने गरि कुनै पनि संरचना समेत नबन्ने दाबी गरे।

‘केबलकार निर्माण गर्ने कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरका परियोजना प्रस्ताव तथा वातावरणीय मूल्यांकन प्रतिवेदनका आधारमा हेर्दा केबलकारको संरचनाले कुनै पनि धर्म, संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन,’ भट्टराईले भने, ‘अहिले यसमा असहमति जनाउनु भएका साथीहरुको के भनाइ छ भने कान्छीथाम भन्दा माथिबाट केबलकारको डब्बा जाने भयो, यो आस्थामाथि समस्या भयो। त्यो यर्थात होइन।’

मुल मन्दिरभन्दा ८ सय मिटर बाहिर केबलकारको माथिल्लो स्टेशन बन्ने र त्यहाँ होटेल समेत नबन्ने उनको भनाइ छ। ‘केबलकार माथिल्लो स्टेशन मुल मन्दिरभन्दा ८ सय मिटर बाहिर छ, यो पनि अहिले सार्वजनिक विवादमा ल्याइएको विषय हो,’ भट्टराईले भने, ‘केबलकारले मन्दिरको ढोकामै मान्छेहरु पुग्ने भए। त्यहाँ फोहोर हुनेभयो भन्ने खालको चर्चा मैले सुनेको छु।’ 

उलने थपे, ‘माथि केबलकारको टुप्पोमा कुनै होटेल पनि बन्दैन। कुनै रेस्टुरेन्ट बन्दैन। कुनै अन्य संरचना बन्ने छैन।’ 

केबलकार नहुँदा वृद्ध र बालबालिकालाई त्यहाँ पुग्न समस्या हुने गरेको भट्टराईको भनाइ छ। उनले भने, ‘त्यहाँ जाने बाटो अप्ठ्यारो छ। स्थानीय मानिसलाई २ घण्टा। कम हिँड्नेलाई ४ घण्टा। कसैलाई ६, ७ घण्टा लगाउनुपर्ने अवस्था छ। अपाङ्गता भएकाहरुले जानसक्ने अवस्था कम छ। बालबालिका, वृद्धवृद्धाहरुको समस्या छ। त्यसले गर्दा कतिपयले बोकाएर जानुपर्ने अवस्था पनि हामीले देखेका छौँ।’

भट्टराईले २५ हजार रुख काट्न लागेको भन्ने प्रचार भएको भन्दै यो पनि सत्य नभएको बताए। ‘२५ हजार रुख खाट्ने भनेर प्रचार गरेको मैले देखेको थिएँ,’ उनले भने, ‘तर, मैले वन मन्त्रालयको प्रतिवेदन मगाएर हेर्दा २ हजार १ सय १२ वटा रुख काटिन्छन्। त्यसमा पनि ठूलो रुख जम्मा २ सय ७ वटा मात्रै काटिन्छन्। बाहिर जुन २५ हजार रुख काटेर वातावरतीय क्षति पुर्‍याउने भन्ने चर्चा छ, त्यो सही छैन।’

यस्तो छ पाथीभरामा केबलकारबारे योगेशको धारणा : 

  • १. संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवि मुकुम्लुङ केबलकार प्रा.लिले ताप्लेजुङमा अवस्थीत पाथीभरामा केबलकार निर्माणके काम सुरु गरेको हो।
  • २. ताप्लेजुङ जिल्लामा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरु केबलकर बन्नु पर्छ भन्ने पक्षमा रहेका छन।
  • ३. केबलकार निर्मणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घट्ना पुग्यो।
  • ४. पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रुपले सुन्दर पर्यटकीय स्थल हो।
  • ५. जहाँ वर्षेनी नेपालका विभिन्न भाग ,भारतका सिक्किम, दार्जिलिङ, असाम, पश्चिम बंगाल, उत्तरप्रदेश, विहार लगायतक क्षेत्रबट ठूलो मात्रामा श्रद्धालु दशनार्थी आउने गरेका छन।
  • ६. पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्याङ्कअनुसार गतवर्ष करिब ३ लाख तीर्थालु र पर्यटकहरुले पाथीभरा भ्रमण गरेका थिए भने वर्षेनी यो संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको छ।
  • ७. पाथीभरालाई शक्तिको प्रतिक देविको रुपमा बुझिन्छ खस,आर्य लिम्बु राई (किराँत) गुरुङ,तामाङ शेर्पा, मगर, नेवार, लगायतका सवै जात र विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मालम्बीहरुले समान रुपले अस्था र विश्वास दर्शाउने साझा स्थल हो पाथीभरा।
  • ८. ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार,जलश्रोत,पर्यटन र कृषि हो। तुलनात्मक रुपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो। ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ। त्यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर ताप्लेजुङबासीहरुको आर्थिक रुपान्तरणम उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङबासीहरुको साझा धारणा रहेको छ।
  • ९. भौगोलिक रुपले विकट ठाँउमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस बृद्ध–बृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबलकर उपयुक्त विकल्प हुनेम दुईमत छैन।
  • १०.केबलकार को निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने अनुमान गरिएको छ। यसबाट ताप्लेजुङबासीको रोजगारी,आर्थिक उपार्जन,स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र सम्रगतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ।
  • ११.निर्माण कम्पनीले प्रस्तुत गरेको म्एच् र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताब तथा वातावणीय प्रभाव मुल्याङकन  प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन। पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ। पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ। पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिईने छैन। रुख तथा पोल गरेर २११२ कटान हुनेछ। बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन।
  • १२.ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत्त आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरु तथा विदेशमा रहुन भएका नेपाली दिदीबहिनी तथा दाजुभाईले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौ। र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङबासीहरुको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सवैमा निवेदन गर्दछु।
  • १३.   २०८१ मघ १२ गतेको घटना प्रति दुख व्यक्त गर्दछु। त्यसक्रममा घाईते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी,शसस्त्र प्रहरी बलका जवानहरु तथा नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।साथै घाईतेहरुको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछु।
  • १४. पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलापहरु अघि बढाउन माग गर्दछु।
  • १५. लोकतन्त्रम विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु। त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ। समस्याको समाधान बार्ता र संवादकोृ माध्यमबाट गरिनु पर्दछ। परिस्थीतिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाब भडकिने खालका गतिविधिले कसैको हित गर्दैन। यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरप्mतार भएका व्यक्तिहरु रिहा गर्न, घाइतेहरुको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु।
  • १६. केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजस्व, स्थानीय कर लगायतका आर्थिक कोष  परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षिय समिति निर्माण गर्न उपयुक्त हुनेछ। साथै केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्वाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्दछ।
  • १७. केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निशुल्क सेवा दिने घोषणा गर्नु पर्दछ। प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नु पर्दछ। रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ। केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ स्थानीय शिक्षा,स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ।
  • १८ पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मूख्यमन्त्रीले लिनु भएको तत्परर्ताप्रति धन्यवाद व्यक्त गर्दछु। कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु।
  • १९. ताप्लेजुङको समग्र विकासमा एकताबद्ध रुपले अघि बढ्न सवै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गर्दछु। सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सवैमा अपिल गर्दछु।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad