नेकपा माओवादी केन्द्रलाई अझै पनि धेरैले ताली बजाएर नेतृत्व छान्ने पार्टीका रूपमा हेर्छन्।
१० वर्ष भूमिगत भई १७ वर्षदेखि संसदीय राजनीति गरिरहेको माओवादीले नेतृत्व चयनमा अपनाउने विधि हो- ‘सर्वसम्मति’।
बरु अधिवेशन महिनौँ लम्बियोस्, तर सहमतिबाटै नेता छान्ने प्रक्रियालाई माओवादीले निरन्तरता दिइरहेको छ। पार्टीका तल्ला कमिटी र भ्रातृ संगठनमा पनि सहमति जुटाउन उपल्ला नेताहरूले दबाब दिने गरेका छन्।
तर, अब त्यस्तो दबाबले माओवादीका संगठनात्मक संरचनाहरूमा काम गर्न छाडेको छ। पछिल्लो उदाहरण हो- ऊनिकट अखिल (क्रान्तिकारी) २३औँ राष्ट्रिय सम्मेलन।
अन्तिम समयसम्म सर्वसहमतको प्रयास गरिरहेका नेताहरू केही सीप नचलेपछि अन्तत: चुनावमै जान बाध्य भएका छन्। अब अखिल (क्रान्तिकारी) काे नयाँ नेतृत्व चयन गर्न माघ १२ गते मतदान हुँदै छ।
अध्यक्ष, उपाध्यक्ष र महासचिवसहित सबै पदमा बेग्लाबेग्लै समूहको उम्मेदवारी परेपछि क्रान्तिकारीमा सहमतिको सम्भावना टरेको हो।
मंगलबार (माघ ८) बसेको माओवादी पदाधिकारी बैठकले क्रान्तिकारीको नेतृत्व छान्न चुनावी प्रक्रियामा जाने विषय अनुमोदन गरेको पार्टी सचिव दीनानाथ शर्माले जानकारी दिए।
‘चुनाव लड्न चाहने इच्छुक साथीहरूलाई उम्मेदवारी दिन नरोक्ने निर्णय भएको छ,’ शर्माले नेपालखबरसँग भने, ‘पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्दैन। विद्यार्थी फ्याक्सन इन्चार्जले सहमति गराएर ल्याए ठिकै छ, नत्र निर्वाचन गराएर नयाँ नेतृत्व चयन गर्ने।’
क्रान्तिकारीका विषयमा गरिएको यो निर्णय माओवादी केन्द्रले नेतृत्व चयन गर्न अपनाइरहेको विधिमा आएको बदलाव हो।
यसअघि पार्टी, जनवर्गीय संगठन, विभिन्न निकायको नेतृत्व चयन सर्वसम्मतिबाट गर्ने गरेको माओवादी अब भने बिस्तारै चुनावतिर अघि बढेको पार्टीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले बताए।
‘हाम्रो पार्टी चुनावमा गइसक्यो, अब मानिसले पहिल्यै मानसिकता बनाएर चुनावको लागि तयारी गर्न थालिसके,’ उनले भने, ‘हाम्रो पार्टीको निर्वाचन कमिटी पूर्णरूपमा सक्रिय भएको छ।’
त्यसो त यसअघि २०७४ भदौ १७ गते जनवर्गीय संगठनअन्तर्गत अखिल क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनमा पनि नेतृत्व चयन गर्न चुनाव नै भएको थियो।
तर त्यसले निरन्तरता पाउन सकेन। फेरि क्रान्तिकारीको २२औँ सम्मेलन सर्वसम्मतिबाटै नेतृत्व छानेको थियो।
यसलाई क्रमभंग गर्दै २०७८ पुस ५ गते माओवादीको माथिल्लो तह बागमती प्रदेश समिति चयन गर्दा चुनाव भयो। सरल सहयात्री चुनावी प्रक्रियाबाटै प्रदेश अध्यक्षमा निर्वाचित भए। त्यसपछि अन्य केही प्रदेशले समेत नेतृत्व चयनमा निर्वाचन प्रक्रिया अपनाए।
तर पुस १३-१८ गते भएको पार्टीको महाधिवेशनमा चुनाव नभई प्रचण्ड सर्वसम्मत अध्यक्ष चयन भए। यसले नेताहरू असन्तुष्ट बने। जबकि चुनावमा उठ्ने मानसिकता बनाएर कतिपयले तयारी गरेका थिए। तर, सफल भएनन्।
उपमहासचिव जनार्दन शर्माले नेतृत्व चयनमा लोकतान्त्रिक प्रक्रिया अपनाउनुपर्नेलगायतका माग राखेका छन्। त्यही भएर पार्टीभित्र नेतृत्व चयन गर्दा चुनावमा जानैपर्ने दबाबमा परेका छन् अध्यक्ष प्रचण्ड।
सहमतिका नाममा नेताका अनावश्यक दबाब स्वीकार हुन छाडेपछि पार्टी चुनावतिर लतारिएको सरलको भनाइ छ।
‘अब माओवादी पार्टीभित्र चुनावी प्रतिस्पर्धा स्वाभाविक बनेको छ,’ उनले भने।
चुनावमै जान बाध्य
२०८० फागुन १-३ मा भएको विधान अधिवेशनपछाडि पार्टीका सबैतिर चुनाव गर्ने वातावरण बन्न थालेको सहयात्री बताउँछन्।
विधान अधिवेशनले प्रत्यक्ष चुनावबाट नेतृत्व चयन गर्ने विषय अघि सारेको हो। खुला र समानुपातिक क्लस्टर छुट्याएर प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने निर्णयले माओवादीका नेता-कार्यकर्ता खुसी भएका थिए।
यसको मुख्य योजनाकार उपमहासचिव जनार्दन शर्मा हुन्। शर्माले पार्टीभित्र प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्नुपर्ने भन्दै ७ बुँदे फरक मत राखेका थिए।
पदाधिकारीलगायत समितिका सबै सदस्य प्रत्यक्ष निर्वाचित हुनुपर्ने, उमेर हदको पनि व्यवस्था गर्नुपर्ने, एउटै पदमा दुईपटक भन्दा दोहोरिन नपाइने र तलका कमिटीलाई कार्यकारी बनाउनुपर्ने शर्माको प्रस्ताव थियो। सोही प्रस्तावअनुसार अध्यक्ष प्रचण्डले विधान अधिवेशनमा प्रत्यक्ष चुनावमा जाने घोषणा गरेका थिए।
‘पार्टीभित्र आदेशात्मक सर्वसम्मति भन्ने हुँदैन, प्रक्रियामा जानैपर्छ। प्रक्रियामा गएर निर्विरोध हुनसक्छ,’ बागमती प्रदेश अध्यक्ष सरलले थपे, ‘पहिला त्यस्तो हुँदैनथ्यो। सरर जाने, निर्वाचन आयोग थपना राख्ने र घोषणा गर्ने। अहिले निर्वाचन आयोग सक्रिय हुन्छ। उसले उम्मेदवारसँग शुल्क लिएर फाराम भराउँछ। अनि उम्मेदवारी फिर्ता लिने समय दिन्छ। फिर्ता भए निर्विरोध चुनिन्छ नभए आयोगले आफ्नो समयमा चुनाव गराउँछ।’
माओवादी सचिव दीनानाथ शर्मा पनि सहमतिको प्रयास जारी राख्दै प्रक्रिया पनि सुरु गरिएको बताउँछन्।
‘पार्टीमा लोकतान्त्रिक विधि अपनाउन थालेका छौँ, सहमति भए सहमति, नभए चुनाव। त्यो त पार्टीको पहिलेदेखिकै नीतिगत निर्णय हो,’ शर्माले भने, ‘कतिपय प्रदेशहरूमा चुनावबाटै प्रतिनिधि छनौट गरेका थियौँ। सबै तहमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नेमा पार्टी पुगेको छ।’
यसै क्रममा ३२ वर्षे उमेर हद पारित गरेको क्रान्तिकारी चुनाव गरेर नयाँ नेतृत्व छान्दै छ।
‘पहिला केही ठाउँमा छिटपुट मात्र चुनाव भएका थिए। अधिकांश ठाउँमा सर्वसहमति गर्न दबाब दिन्थे। अब भने सहमति गरौँ पनि भनेका छन् तर, धेरै ठाउँमा चुनावमै गएको छ,’ सहयात्रीले भने।
अहिले पालिका कमिटीहरूमा पनि निर्वाचन गरेरै नेतृत्व छान्ने गरिएको शर्माले बताए।
सोहीअनुसार माघ ७ गते चुनाव गरेरै नुवाकोटको बेलकोटगढी नगर समितिको नेतृत्व चयन गरेको उनी सुनाउँछन्। गोकर्ण न्यौपाने नगर समिति अध्यक्षमा निर्वाचित भएका छन्।
‘सम्मेलनमा कहीँ निर्वाचनबाट र कहीँ सहमतिबाट नेतृत्व चुनिएको छ,’ सचिव शर्माले भने, ‘धेरैजसो ठाउँमा सहमतिबाटै टुंग्याउने गरेका छन्।’
Shares

प्रतिक्रिया