ad ad

राजनीति


मेलम्चीको पानी उपत्यकामा वितरण गर्न कार्य योजना बन्दै

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न कार्य योजना बन्दै

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ११:८,

 मेलम्चीको पानी काठमाडौं ल्याईसकेपछि गरिने वितरणका लागि कार्ययोजना बन्ने भएको छ।

 शुक्रबार खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मन्त्रालयमा भएको छलफलमा मेलम्चीको पानी वितरण गर्न कार्य योजना बनाउने विषयमा छलफल भएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले कार्य योजना बनाएर पानी वितरण गर्ने तयारी गरिरहेको छ।

छलफलमा मन्त्री मगरले पानी वितरण प्रणाली र चुहावटमा बढी ध्यान दिन केयूकेएललाई निर्देशन दिइन्। पाइप फुटेर चुहावट भए तुरुन्त फिल्डमा गएर मर्मत गरिहाल्न मन्त्री मगरले निर्देशन दिएकी हुन्। मेलम्चीको पानी काठमाडौं आउनुपूर्व अहिले भईरहेको चुहावटमा ध्यान दिन उनले केयूकेएलको ध्यानाकर्षण गराएकी हुन्।

मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भईसकेपछि अहिले वितरण भईरहेको पुरानै प्रणालीबाट उपत्यकाका विभिन्न ठाउँहरुमा वितरण गर्ने र नयाँ वितरण प्रणालीबाट पछि वितरण गर्दै जाने केयूकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले बताए। सुन्दरीजलमा बनेको प्रशोधन केन्द्रमा मेलम्चीको १७ करोड लिटर पानी प्रशोधन भइसकेपछि त्यही पानी सुरुवाती चरणमा पुरानै पाइपलाइन प्रणालीबाट वितरण गर्ने योजना रहेको शाक्यले सुनाए।

‘उपत्यकाका घर घरमा पुरानै प्रणालीबाट पानी वितरण गर्दै लगिनेछ’, शाक्यले भने, ‘नयाँ पाइप लाइन प्रणालीलाई पनि हरेक दिन सँगसँगै परीक्षण गरिनेछ। एकै चोटी पानी नयाँ प्रणालीबाट वितरण गर्दा समस्या आउला भनेर यसो गर्न लागिएको हो।’ मेलम्चीको पानी पहिलो चरणमा अनामनगरस्थित नयाँ पाइपलाइन वितरण प्रणालीबाट वितरण गर्ने तयारी रहेको छ। सुरुवातमा ५ सय १० वटा धाराहरुमा पानी वितरण हुनेछ। अहिले काठमाडौं उपत्यकामा २ लाख २१ हजार ६ सय धाराहरु बनिसकेका छन्।

पानी वितरण गर्दै जाने र द्रुत तरिकाले चुहावट (लिकेज) पनि मर्मत गर्ने योजना अनुसार नै शाक्यको संयोजकत्वमा मेलम्चीको पानी वितरण तयारी समिति पनि बनाइएको छ। उक्त समितिले द्रूत गतिमा लिकेज मर्मत गर्न फिल्डमा प्राविधिक टोली खटाउने छ।

मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) को निर्माण सम्पन्न भईसकेको छ । अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिने छ। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले आरुबारी, बाँसबारी, महांकाल, खुमलटार, बालाजु, भक्तपुरको टिगनी, महाराजगन्ज, कीर्तिपुर, र धोबीघाटमा पोखरीको निर्माण गरिसकेको छ।

यसैबीच बैठकमा मन्त्री मगरले कोरोनाको सम्भावित संक्रमणबाट सावधानी अपनाउनु पर्ने भन्दै खानेपानीको महसुल तिर्नुपर्ने समयावधि एक महिना थप गर्न निर्देशन दिएकी छन्। एक महिनापछि पनि जरिवाना तिर्न नपर्ने गरी महसुल तिर्ने समयावधि बढाउन पनि उनले केयूकेएललाई निर्देशन दिइएन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .