राजनीति


प्रचण्डले भने– जनार्दन र हरिबोलको मतको सम्बोधन भएको छ, बाँकी महाधिवेशनबाट

प्रचण्डले भने– जनार्दन र हरिबोलको मतको सम्बोधन भएको छ, बाँकी महाधिवेशनबाट

नेपालखबर
पुस २२, २०८१ सोमबार १३:३७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र फरक मत राख्ने नेताहरुको विषय सम्बोधन भएको र बाँकी महाधिवेशनबाट टुंग्याउने बताएका छन्।

सोमबार दोस्रो दिनको बैठक प्रारम्भ गर्दै उनले आफ्नो संक्षिप्त धारणा राख्ने क्रममा यस्तो बताएका हुन्। प्रचण्डले पार्टीभित्र आन्तरिक एकता कायम भएको र उपमहासचिवद्वय हरिबोल गजुरेल र जनार्दन शर्माको मतको सम्बोधन भएको बताए।

‘पार्टी भित्रको आन्तरिक एकता कायम हुन्छ,’ उनको भनाइ छ, ‘ जनार्दन र हरिबोल गजुरेलको मतहरुको समेत सम्बोधन भएको छ।’

उनले बाँकी रहेको विषय महाधिवेशनमा जाँदा बहस गरेर टुंग्याउने बताए। ‘केही बाँकी रहेका मतलाई महाधिवेशनमा जाँदा बहस गरि हल गर्न सकिन्छ,’ प्रचण्डको भनाइ छ। 

उनले बैठकलाई ‘एकता र बिजयको बैठक’को संज्ञा दिएका छन्। ‘यो बैठक एकता र बिजय को बैठक हो,’ बैठकमा ७ मिनेटजति बोलेका प्रचण्डले भने, ‘सबै मिलेर पार्टी निर्माण गरौं।’

शर्माले गत साउन अन्तिम साता बसेको स्थायी समिति बैठकमा ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो फरक मतसहितको प्रस्ताव पेस गरेका थिए। त्यसमा प्रचण्डलाई नेतृत्व नेतृत्व हस्तान्तरण गर्न सुझाव दिँदै त्यसका विभिन्न विकल्प पेस गरिएको थियो। 

गजुरेलले भने प्रचण्ड प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकारबाट राजीनामा दिँदै पार्टी कार्यालयमा आफ्नो प्रस्ताव दर्ता गराएका थिए। त्यसमा पार्टी बिग्रिएको भन्दै त्यसका लागि सुधार गर्नुपर्ने विषयबारे सुझाव दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad