स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बिमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भएपनि व्यवस्थित नरहेको बताएका छन्।
शुक्रबार मन्त्रालयमा स्वास्थ्य बिमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएपनि आवश्यकताअनुसार नभएको बताए।
मन्त्री पौडेलले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बिमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको स्पष्ट पारे। उनले लक्षित समूहले पूर्ण रुपमा लाभ लिनेगरी स्वास्थ्य बिमा अघि बढाउन जरुरी रहेको बताए। स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको उनको भनाई थियो।
नेपालको बिमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेण्ट प्राप्त भएको उल्लेख गर्दै सबै क्षेत्र समेटिने विषय प्रतिवेदनमा रहेको विश्वास व्यक्त गरे।
‘खासगरी नेपालको स्वास्थ्य बीमाका बारेमा धेरै खाले विषयहरु हामीले देखिरहेका छौँ। खासगरी अहिलेको वर्तमान बिबीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत, सुविधा उपलब्ध गराएको छ तर यो आंशिकमात्रै छ। आवश्यकताअनुसारको छैन। व्यवस्थित छैन’, स्वास्थ्यमन्त्री पौडेलले भने, ‘कार्यदल बनाएर अब नेपालको बिमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेण्ट प्राप्त गरेका छौँ। सबै क्षेत्र समेटिएको छ, यसभित्र भन्ने विश्वास छ। नागरिकलाई सुविधान हुनेगरी कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमा हामी लाग्नेछौँ।’
मन्त्री पौडेलले स्वास्थ्य बिमा पाँच लाख पुर्याउँदा कसरी श्रोत सुनिश्चितता गर्ने भन्नेकुरामा पनि प्रतिवेदनमा समेटिएको विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया