राजनीति


रावलले भने– पार्टीको नाम गैरकम्युनिस्ट हुन्छ

रावलले भने– पार्टीको नाम गैरकम्युनिस्ट हुन्छ

सागर न्यौपाने
पुस १५, २०८१ सोमबार १४:३३, काठमाडौँ

नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले गैरकम्युनिस्ट पार्टी बनाउने बताएका छन्।

सोमबार उनलाई निवासमै भेट्न पुगेका सुदूरपश्चिमका प्रदेश सांसद डा. तारा जोशी र नेपाली कांग्रेस (बीपी) का नेता कर्ण मल्लसँगको भेटमा उनले सो कुरा खुलाएका छन्। रावलले आफूले देशव्यापी संगठन विस्तार गरेर नयाँ पार्टी बनाउने भन्दै मिलेर जाने प्रस्तावसमेत राखेका छन्।

कांग्रेस पृष्ठभूमि र अन्य राजनीतिक दलबाट आउने नेताहरूलाई समेत मान्य हुने पार्टीको नाम राख्ने रावलको भनाइ रहेको डा. जोशीले जानकारी दिए। ‘उहाँले नयाँ पार्टी बनाउने निश्चित भइसकेको छ,’ जोशीले नेपालखबरसँग भने, ‘कम्युनिस्ट नाम नभएको पार्टी हुन्छ। अब कम्युनिस्ट नाम राख्दिनँ, गैरकम्युनिस्ट नै नाम हुन्छ भन्नुभयो।’

लामो समय कम्युनिस्ट रहेकाले गैरकम्युनिस्ट नाम राख्दा त अप्ठ्यारो होला नि भनेर आफूले प्रश्न गरेकोसमेत जोशीले बताए। यसबारे उनले भने, ‘मैले नै सोधेको थिएँ– तपाईं त लामो समयसम्म कम्युनिस्ट पार्टीमा रहनुभयो. कम्युनिस्टबाट गैरकम्युनिस्ट नाम राख्न अप्ठेरो होला नि त? जवाफमा उहाँले अब कम्युनिस्ट नाम हुँदैन भन्नुभयो।’

नेपाली कांग्रेसको कारबाहीमा परेका नेता कर्ण मल्लको पहलमा आफूहरू रावलको निवासमा गएको जोशीले बताए।

‘अहिलेको अवस्थामा उहाँको राजनीतिक विश्लेषण के हो भन्ने बुझ्न मन लागेर कर्ण मल्लजी र म उहाँको घरमै गएका थियौँ,’ जोशीले भने, ‘उहाँले देशव्यापी भ्रमण गरेपछि नयाँ पार्टी बनाउने निष्कर्ष निकाल्नुभएको रहेछ। त्यसमा सहयोग माग्नुभयो।’

रावलको नयाँ पार्टीमा जानेबारे भने आफूले यसबारे कुनै निर्णय गरिनसकेको बताए। ‘उहाँको प्रस्ताव मिलेर जाऔं भन्ने थियो,’ जोशीले भने, ‘मैले अहिले नै यसबारेमा कुनै निर्णय गरिसकेको छैन भन्ने मेरो जवाफ थियो।’

रावलले पाँच दशक एमालेमा बिताएका थिए। तर, केही दिनअघि बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यसमेत नरहने गरी पार्टीबाट निकाला गरेको छ। यसपछि रावलले नेता-कार्यकर्तासँग छलफल गरेर नयाँ पार्टी खोल्ने तयारी गरेका हुन्।

उनले बुधबार पार्टीको नाम घोषणा गर्न सक्ने सम्भावना छ। ‘मैले पर्सि कार्की ब्यांक्वेट, बबरमहलमा पत्रकार सम्मेलन राखेको छु, म त्यहीँ सबै कुरा भन्छु,’ रावलले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad