प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा ऋणसम्बन्धी कुनै कुरा नभएको बताएका छन्।
उनले चीनबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘जे प्राप्त गरेका छौँ त्यो ऋण होइन। ऋणको सारंगी किन बजिरहेको छ? पटकपटक भनेका छौँ यो ऋण होइन। ऋणसँग यो सरोकार राख्दैन। परियोजनअनुसार छुट्टाछ्ट्टै सहमति हुन्छ।’
‘अस्ति मैले आमसभै (दरबारमार्गको जागरणसभा) देखि कुनै ऋण लिन हामी जाँदै छैनौँ? ऋणसम्बन्धी कुनै कुरा पनि चलेन। मैले यहाँ बोलेकै थिएँ,’ उनको भनाइ यस्तो थियो, ‘कुरा पनि चलेन, छलफल पनि भएन। हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाको कुरा गर्यौँ।’
उनले हरेक परियोजना कसरी कार्यान्वयन गर्ने भनेर पछि छुट्टै छलफल र सम्झौता गरिने पनि स्पष्ट पारे।
‘हरेक परियोजनाअन्तर्गत पछि हामी छुट्टै छलफल र एग्रिमेन्टहरू गर्छौँ, त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा,’ प्रधानमन्त्री केपी ओलीले प्रस्ट्याए, ‘अहिले हामीले जे प्राप्त गरेका छौँ, त्यो ऋण होइन भन्ने कुरा धेरैपल्ट भनिएको छ। अब धेरै दोहोर्याउन नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन । ऋणको कुरा कहाँबाट आउँछ यो ? सधैँ ऋण, ऋण, ऋण किन यो रट? सारंगी किन बजेको छ यसरी ऋणको ? होइन भनेर त हामीले पटकपटक भनिराख्या छौँ । छैन भनेर पटकपटक भनेका छौँ । त्यसकारण ऋणसँग यो सरोकार राख्दैन । कार्यान्वयनका क्रममा हरेक परियोजनाका लागि सम्झौताहरू छुट्टाछुट्टै हुन्छन्।’
यस भ्रमणमा भएका सम्झौता र समझदारीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।
‘भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) अन्तर्गत विभिन्न परियोजनाहरूको सम्झौता भएको छ, जुन सम्झौताबाट नेपालले अधिकतम लाभ लिने सक्नेछ,’ प्रधानमन्त्री ओलीले भने।
नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा सम्झौता बुधबार भएको छ। बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष ली सुसेले हस्ताक्षर गरेका थिए।
प्रधानमन्त्री ओलीले र उनका चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा मंगलबार नेपाल र चीनबीच अन्य ९ वटा दस्तावेजमा हस्ताक्षर भएको थियो। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी ती सम्झौतामा हस्ताक्षर गरिएको हो।
नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरे। त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी ‘प्रोटोकल’मा समझदारी भयो। विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान पनि भयो। स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो।
सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, गरिबी निवारणलगायत क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा समेत छलफल भएकोले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास उनले व्यक्त गरे।
चीन सरकारका तर्फबाट विसं २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब २ अर्ब ७० करोड रूपैयाँ) का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान ५० करोड आरएमबी (करिब ९ अर्ब ३४ करोड रूपैयाँ) घोषणा भएको पनि उनले विमानस्थलमा जानकारी दिए।
नेपाल र चीनले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई देशबीच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्नुका साथै सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश गरिएको उनको भनाइ थियो।
‘यसपटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्जाल, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्यलगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरू अघि सारेका छौँ। यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु,’ उनले भने।
भिडिओमा हेर्नुहोस्:
Shares

प्रतिक्रिया