स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ। सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई स्वर्णलक्ष्मी सहकारीमा बयान गराउन काठमाडौँ ल्याइएको हो। उनलाई बिहीबार साँझ विमानमार्फत काठमाडौँ ल्याइएको हो।
रविलाई काठमाडौँ ल्याएपछि विमानस्थल आसपास सडकमा रास्वपाका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनी पक्राउ परेदेखि नै फसाइएको भन्दै रास्वपाले विरोध गरिरहेको छ।
शुक्रबारदेखि उनको बयान गराउने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले बताए। यसअघि यही मुद्दामा कास्कीबाट ल्याएर पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र कुमार रम्तेलको पनि बयान गराइएको थियो।
रविविरुद्ध ५ वटा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ। पहिलो चरणमा प्रतिवादी नबनाए पनि पुरक जाहेरीपछि सबै ठाउँमा अनुसन्धान भइरहेको छ।
Shares

प्रतिक्रिया