मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा २०७९ को चुनावमा ठूलो मतान्तरले पछि परेको नेकपा माओवादी केन्द्रले यसपटक नेपाली कांग्रेस र एमालेलाई कडा टक्कर दिने देखिएको छ।
यसपटकको उपचुनावमा एमाले र माओवादीले कांग्रेसकै पूर्वकार्यकर्तालाई उठाएका छन्। जसका कारण कांग्रेसलाई यो सिट सुरक्षित गर्न निकै मुस्किल हुने देखिएको छ।
अघिल्लोपटक नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको ग्रामथान गाउँपालिकाको अध्यक्षमा यसपालि तीन दलबीच कडा टक्कर हुने स्थानीय नेताहरू बताउँछन्। पूर्वराज्यमन्त्री समेत रहेका माओवादीका विजय विश्वास यसपटक आफ्नो पार्टीको माहोल धेरै राम्रो देखिएको दाबी गर्छन्।
अघिल्ला चुनावको अवस्थाबारे उनी भन्छन्, ‘धरानमा हर्क साम्पाङ र काठमाडौँमा बालेनको पनि पहिले मत कहाँ थियो र! तर पछि आयो नि। हो यस्तै हुन्छ यसपालि मोरङमा, पहिले हाम्रो कम मत भए पनि यसपालि बढेको छ। चुनाव जित्छौँ।’
नेकपा एमालेको ग्रामथान गाउँपालिका कमिटी अध्यक्ष सत्यनारायण माझीले पनि माओवादीले अघिल्लो चुनावमा भन्दा मत बढाउने बताउँछन्।
२०७९ को निर्वाचनमा नोपाली कांग्रेसका जयप्रकाश गच्छदार थारुले एमाले उम्मेदवार शिवनारायण माझी थारुलाई १५ सय बढी मतान्तरले पछि पारेका थिए। त्यो चुनावमा माओवादीका विजयकुमार सरदार फराकिलो अन्तरले तेस्रो भएका थिए।
कांग्रेसका जयप्रकाश ७ हजार ६०५ मतसहित निर्वाचित हुँदा एमालेका शिवनारायणले ६ हजार ९३ र माओवादीका विजयकुमारले २ हजार ७२७ मत मात्रै पाएका थिए।
तर गाउँपालिका अध्यक्षमा निर्वाचित जयप्रकाशको मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। यसपटकको चुनावमा त्यहाँ सबै दलले उम्मेदवार फेरेका छन्।
यसअघिको मतभारमा पनि राम्रै फेरबदल हुने एमालेका गाउँपालिका कमिटी अध्यक्ष माझी बताउँछन्।
माओवादीलाई बलियो बनाउने २ आधार
माओवादी एकाएक कसरी बलियो बन्यो भन्ने प्रश्नमा स्थानीय नेताहरू उसले उठाएका उम्मेदवार र अहिले चलिरहेको चुनावी अभियान मुख्य भएको बताउँछन्। यो क्षेत्रमा सांगठनिक रुपमा माओवादी कमजोर छ।
तर यसअघिका संघीय चुनावमा निरन्तर माओवादी उम्मेदवार नै निर्वाचित हुँदै आएका छन्। मोरङ क्षेत्र नं ४ मा २०७४ सालमा र २०७९ मा पनि माओवादीका अमनलाल मोदी निर्वाचित भए।
मोदीलाई एमाले र कांग्रेसले पालैपालो साथ दिएर चुनाव जिताएका थिए। २०७४ मा एमालेसँग गठबन्धन गरेर निर्वाचित भएका मोदी २०७९ मा नेपाली कांग्रेससँगको गठबन्धनबाट निर्वाचित भएका हुन्।
तर अहिले उनीहरूले त्यतिबेला दिएको साथले आफैलाई कमजोर बनाउने अवस्था भएको कांग्रेसका निर्वाचित जनप्रतिनिधि बताउँछन्।
‘हामीले नै मोदीलाई त्यसबेला घरघरमा लगेर हाम्रा नेता कार्यकर्तासँग भेट गरायौँ, चिनजान गरायौँ नजिक बनायौँ। उहाँ अहिले त्यही सम्बन्धबाट नजिक भइरहनु भएको छ र हाम्रो मत तानिरहनु भएको छ,’ ती जनप्रतिनिधिले भने, ‘उहाँ अहिले पनि हाम्रो सांसद भएकाले धेरै मत तान्ने देखिन्छ।’
मोदीले कांग्रेसमा जस्तै एमालेका कार्यकर्तासम्म पनि २०७४ को चुनावका बेलाको सहकार्यलाई देखाएर साथ लिन खोजिरहेका छन्। यसले केही मतदाता प्रभावित हुने उनीहरूको आकलन छ।
माओवादीलाई बलियो बनाउने अर्को आधार उम्मेदवार छनोट भएको उनीहरूको बुझाइ छ। माओवादीले यसअघिको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नमोनारायण माझीलाई गाउँपालिकामा उम्मेदवार बनाएको छ। उनी २०७४ को निर्वाचनमा कांग्रेसबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए।
तर २०७९ मा पार्टीले उनलाई दोहोर्याएर टिकट नदिएपछि असन्तुष्ट थिए। २०७९ मा वडा नं १ मा स्वतन्त्र उम्मेदवार बन्दा ५५४ मत पाएका थिए। जुन वडामा माओवादीको २२७ र निर्वाचित कांग्रेस उम्मेदवार सुरेशकुमार माझीले ७१८ मत ल्याएका थिए। एमाले उम्मेदवार ७०९ मत ल्याउँदै झिनो मतले पराजित भएका थिए।
नमोनारायणको व्यक्तिगत लोकप्रियताका कारण पनि यसपटक मत बढ्ने उनीहरू आकलन गर्छन्। माओवादीले जति मत बढाउँछ कांग्रेसको उति नै घट्ने भएकाले तीन पक्षीय प्रतिस्पर्धा हुने उनीहरूको बुझाइ छ। जसका कारण कांग्रेसको टाउको दुखाइ बढेको छ।
एमाले पनि स्थानीय तहमा बलियो देखिएको छ। यसअघिको निर्वाचनमा पनि एमालेले ७ मध्ये ५ वटा वडाध्यक्ष जितेको छ। नेपाली कांग्रेस र माओवादी एकएकवटा वडामा मात्रै विजयी भएका छन्।
आफ्नो मत जोगाए जित्ने कांग्रेस–एमालेको दाबी
माओवादीले प्रभाव बढाउँदै लगे पनि यसपटक आफ्ना उम्मेदवार निर्वाचित हुने आशामा कांग्रेस र एमाले पनि देखिएका छन्। कांग्रेस यसअघिको मत सुरक्षित गर्न सके चुनाव जितिनेमा ढुक्क छ। यसअघि अन्य दलको भन्दा उसको १५ सय बढी मत थियो।
तर कांग्रेसको मत घट्ने र माओवादीको बढ्ने भएकाले आफूले चुनाव जित्ने एमालेको आकलन छ। यसअघि अधिकांश वडाअध्यक्ष जितेको र उपाध्यक्ष पनि आफ्नै रहेकाले पार्टी एक भएर लाग्दा यसपटक जित्ने विश्वासमा एमाले देखिन्छ।
एमालेले पनि यसपटक आफ्ना उम्मेदवारले कांग्रेसको मत तान्ने दाबी गरेको छ। एमाले उम्मेदवार अघिल्लो महाधिवेशनमा मात्रै नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका थिए। उनले कांग्रेसको मत तान्ने र आफूले चुनाव जित्ने दाबी एमालेको छ।
तुलसीरामका दाइ बैजनाथ विश्वास २०७४ मा कांग्रेसबाटै ४ नं को वडाध्यक्ष निर्वाचित भएका थिए। बैजनाथ अहिले पनि ४ नं निर्वाचन क्षेत्रको पार्टी सभापति छन्। तर यसअघि उनलाई वडाध्यक्ष जिताउन भूमिका खेलेका तुलसीराम अब एमालेका उम्मेदवार बनेका छन्।
तर कांग्रेस भने ७३ वर्षीय बलराम सरदार थारु गाउँपालिकाको अध्यक्ष बन्नेमा ढुक्क छ। यसअघि आफैले जितेको स्थान भएकाले पनि यसपटक गुम्न नदिने कांग्रेसको दाबी छ। बलराम कांग्रेसका पूर्वमहासमिति सदस्य समेत हुन्।
नेपाली कांग्रेस गाउँपालिका कार्यसमिति उपसभापति राजेशकुमार माझीले आफ्ना उम्मेदवारको पक्षमा यसपटक पार्टी एकढिक्का रहेको दाबी गरे।
‘यसअघिका निर्वाचनमा कांग्रेसमा गुटउपगुट विभाजित हुन्थे। कोही बागी उठ्थे तर यसपटक पार्टी एकढिक्का छ। जसरी पनि जित्नुपर्छ भन्ने पक्षमा कार्यकर्ताहरू खटिएका छन्,’ माझीले भने, ‘पहिलेजस्तो हाम्रा कार्यकर्तामाझ लडाइँ छैन।’
चुनावी सभामा केन्द्रीय नेताहरू पनि आएको उनले सुनाए। उक्त क्षेत्रमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विजय गच्छदार, महेश आचार्य लगायतका नेताहरू गएका थिए।
यसपटकको उपचुनावलाई गठबन्धन नगरी भिडिरहेका दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। आफ्ना पूर्वकार्यकर्ताहरूलाई नै लगेर अन्य दलले उम्मेदवार बनाएको भए पनि त्यसले उनीहरूकै दलमा विवाद बढाएको कांग्रेस नेताको दाबी छ।
उपसभापति माझीले भने, ‘हाम्रो मत तान्न हाम्रै पूर्वकार्यकर्ताहरूलाई लगेर अन्य दलले उठाएका छन्। तर त्यसले उहाँहरूको पार्टीमा विवाद बढाएको छ। पार्टीमा लामो समय खट्नेले टिकट नपाउने, चुनावको बेला टिकट निश्चित भएपछि मात्रै आउनेलाई टिकट दिएपछि उहाँहरूलाई पनि आफ्नो मत जोगाउन मुस्किल छ।’
यसअघिको निर्वाचनमा ८ जना उम्मेदवार रहेको गाउँपालिका अध्यक्षमा यसपटक १६ जनाले उम्मेदवारी दिएका छन्। यी तीन ठूला दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीका सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्तिका बुद्धिचन विश्वास थारु, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारु र मंगोल नेसनल अर्गनाइजेसनका भरत राई उम्मेदवार छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजु मुसहर, नेपाल समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरी, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी र स्वतन्त्र नमनारायण चौधरी थारुले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।
Shares

प्रतिक्रिया