राजनीति


कोरोनाका कारण राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण रद्द

कोरोनाका कारण राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण रद्द

मणि दाहाल
फागुन २९, २०७६ बिहिबार ८:१५,

राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न बंगलादेश भ्रमण कोरोना महामारीका कारण रद्द भएको छ। पारस्परिक भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी चैत ९ गते ढाका पुग्ने कार्यक्रम थियो।

बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको एक सयौं जन्मदिनको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने र त्यहाँको संसदलाई समेत सम्बोधन गर्नेगरी उनी बंगलादेश जान लागेकी थिइन्।

‘कोरोनाका कारण राष्ट्रपतिको मार्च २२ देखि हुने तय भएकाे ३ दिने बंगलादेश भ्रमण स्थगित भएको छ,’ बंगलादेशका लागि नेपाली राजदूत बंशीधर मिश्रले नेपालखबरसँग भने, ‘राष्ट्रपतिज्यू बंगलादेशका राष्ट्रपति शेख मुजिबुर रहमानको कार्यक्रममा सहभागी हुने र बंगलादेशको संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो। कोरोना प्रकोप सकिएपछि भ्रमणको नयाँ मिति तय हुनेछ।’

बंगलादेशका राष्ट्रपिता रहमानको सयौं जन्मजयन्तीका दिन चैत ४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथि बनाएर मुख्य कार्यक्रम गर्ने तयारी थियो।

बंगलादेश र भारतका अधिकारीहरुले कोरोनाका कारण सो कार्यक्रम पनि स्थगित भएको जनाएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाउने योजनाको विरोधमा बंगलादेशमा ठूलो विरोध प्रदर्शन पनि भएको थियो। त्यहीबेला बंगलादेश सरकारले ३ जना नागरिकमा कोरोना देखिएको जनाएको थियो।

भारतको नागरिकता संशोधन विधेयक र राजधानी दिल्लीमा भएको दंगा मुस्लिम बिरोधी भएको भन्दै मोदीलाई प्रमुख अतिथि बनाइए कार्यक्रम बिथोल्ने चेतावनी प्रदर्शनकारीले दिएका थिए। कतिपय विश्लेषकहरु कोरोना नभइ सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै मोदीको बंगलादेश भ्रमण स्थगित भएको दाबी गर्छन्।

‘नेपाल–बंगलादेश सम्बन्धमा उल्लेख्य सुधार’
राजदूत मिश्रले बंगलादेश र नेपालबीच उच्चस्तरीय भ्रमणका लागि दुवै पक्षले काम गरिरहेको बताए।

‘पछिल्लो ५ महिनामा नेपाल र बंगलादेशबीच भ्रमणको आदान प्रदानले तीव्रता पाएको छ,’ राजदूत मिश्रले भने, ‘यस अवधिमा सम्बन्धमा उल्लेख्य सुधार देखिएको छ।’

बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद गत कार्तिक २६ मा चार दिने राजकीय भ्रमणमा नेपाल आएका थिए। राष्ट्रपति भण्डारीको निमन्त्रणामा आएका उनले काठमाडौं र पोखरा भ्रमण गरेका थिए।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले फागुनको पहिलो साता बंगलादेशको भ्रमण गरेका थिए। नेपाल र बंगलादेशका सेना प्रमुखहरुले पनि एक अर्को देशको भ्रमण गरेका छन्। पछिल्लो समय दुई देशबीच भारत हुँदै विद्युत् व्यापार गर्ने सम्झौता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .