राजनीति


स्विट्जरल्यान्ड प्रस्थान गर्दै राष्ट्रिय सभाध्यक्ष दाहाल

स्विट्जरल्यान्ड प्रस्थान गर्दै राष्ट्रिय सभाध्यक्ष दाहाल

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०८१ शुक्रबार १३:५७, काठमाडौँ

अन्तर-व्यवस्थापिका संघको १४९औँ महासभामा सहभागी हुन ९ (नौ) सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल आज (शुक्रबार) राति प्रस्थान स्विट्जरल्यान्ड गर्दै छन्। 

यही असोज २७ देखि आगामी कात्तिक १ (अक्टोबर १३-१७) सम्म अन्तर-व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको स्विट्जरल्यान्डको जेनेभामा सञ्चालन हुने उक्त महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल आजै राति २:१५ बजे कतार एयरवेजको क्यूआर ६४५ उडानबाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहसचिव/प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्। 

उनका अनुसार जनेभा जाने टोलीमा प्रतिनिधि सभाका सदस्यहरू सुनिता बराल र निशा डाँगी, राष्ट्रिय सभाका सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल, संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेय, संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र राष्ट्रिय सभाध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा सहभागी हुनेछन्। 

संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त र विश्व शान्तिको मूल्यमान्यताप्रति दृढता व्यक्त गर्दै महासभामा अध्यक्ष दाहालले शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयको ‘जेनरल डिबेट’मा नेपालबाट तर्फबाट सम्बोधन गर्नेछन्। 

महासभामा गभर्निङ काउन्सिलको २१४औँ अधिवेशनका बैठक सञ्चालन हुनेछन्। अधिवेशनले नियमित औपचारिकताका अतिरिक्त सन् २०२५ का लागि अन्तर-व्यवस्थापिका संघको बजेट पारित गर्ने कार्यसूची छ। 

यस्तै आईपीयूको फोरम अफ योङ पार्लियामेन्ट्स र फोरम अफ वुमन पार्लियामेन्ट्समा सांसदद्वय सुनिता बराल र निशा डाँगीले सहभागिता जनाउनेछन्। साथै स्ट्यान्डिङ कमिटी अन डेमोक्रेसी एन्ड हुम्यान राइट्स, स्ट्यान्डिङ कमिटी अन पिस एन्ड इन्टरन्यास्नल सेक्युरिटीलगायतमा सांसद तारामान स्वाँर र कृष्णप्रसाद पौडेलले सहभागिता जनाउने तालिका छ। 

त्यसैगरी अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर-व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम पनि छ।

महासभासँगै संसद्का‌ महासचिवहरूको संगठन एसोसिएसन अफ सेक्रेटरी अफ पार्लियामेन्ट्सका बैठक हुनेछन्। ती बैठकमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सहभागिता जनाउने छन्। 

महासभामा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ३ गते शनिबार राति १  बजे नेपाल आइपुग्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad