ad ad

राजनीति


चुनावसम्मको ‘रोडम्याप’ लिएर समाजवादी मोर्चा ‘शक्तिशाली’ बनाउन प्रचण्डभन्दा माधव बढी सक्रिय

प्रचण्ड–उपेन्द्र–अशोक राईलाई फेरि एक ठाउँ ल्याउने कसरत
चुनावसम्मको ‘रोडम्याप’ लिएर समाजवादी मोर्चा ‘शक्तिशाली’ बनाउन प्रचण्डभन्दा माधव बढी सक्रिय

सागर न्यौपाने
भदौ २९, २०८१ शनिबार १९:५१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साउनको दोस्रो सातादेखि भदौको तेस्रो सातासम्म नेपालका एक दर्जन कम्युनिस्ट नाम गरेका पार्टीका अध्यक्ष र पदाधिकारी भेटे। 

नेपालका कम्युनिस्ट पार्टीको भविष्य संकटमा पर्दै गएको, पुराना पार्टीप्रति जनतामा चरम निराशा रहेको भन्दै उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यदेखि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग वार्ता गरे।

समाजवादी मोर्चामा रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग त उनले पटकपटक भेट गरेकै थिए।

‘अहिले सबै वामपन्थी नेतासँग माधवजीले कुरा गर्नुभएको छ। विप्लवजी, चन्द्रप्रकाश (सीपी) मैनाली, मोहन वैद्य, नारायणमान विजुक्छे लगायत नेतासँग एक चरण कुरा गरिसक्नुभयो,’ एकीकृत समाजवादीका नेपालनिकट एक पदाधिकारीले नेपालखबरसँग भने, ‘सबैसँग एउटै तहको कुरा भएको छ। मिलेर नगए जनताले स्वीकार गर्दैनन्।’ 

आफैँले समर्थन गरेको प्रचण्ड नेतृत्वको सरकार ढाल्न केपी शर्मा ओली तयार भएपछि कांग्रेस–एमालेबीच असार १७ गते मध्यराति गठबन्धन बन्यो। 

मुलुकको स्थायित्वको लागि संविधान संशोधन गर्ने, साना पार्टीको अस्तित्व नराख्न समानुपातिक निर्वाचन प्रणाली हटाउने वा संख्या घटाउने र थ्रेसहोल्ड बढाउने कुरामा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरेका छन्।  

झण्डै दुई तिहाई सांसद भएका संसदका पहिलो र दोस्रो दल मिलेपछि एकीकृत समाजवादी अध्यक्ष नेपाल चुप बस्न सकेनन्। अनि, पुरानादेखि नयाँ कम्युनिस्ट पार्टीका दैलो पुग्न थाले। 

यो क्रम निरन्तर जारी छ। अहिलेसम्म पनि उनले भेटवार्तालाई जारी राखेका छन्।

‘नेपालको कम्युनिस्ट आन्दोलन बचाउने कुरामा उहाँको ध्यान केन्द्रित छ,’ ती पदाधिकारीले थपे, ‘भोलि यो मुलुकमा नयाँ ढंगले कार्यक्रम ल्याउन सकिएन भने अब पुराना पार्टीलाई जनताले स्वीकार्नेवाला छैनन् भन्ने निचोडसहित उहाँ (माधव) भेटवार्ता गरिरहनुभएको छ।’ 

फरक विचार र दृष्टिकोण बोकेका पार्टीलाई पहिला मोर्चामा आवद्ध गराउन उनले जोड गरेका छन्। त्यसपछि एकतासम्म पुग्ने लक्ष्य छ।

‘एकताका लागि पहिला वाम मतको संरक्षण गर्नुपर्छ, त्यसअघि सबै एकै ठाउँ उभिनुपर्छ। संगठित भएर जानुपर्छ। यसमै छलफल केन्द्रित छ,’ अर्का पदाधिकारी भन्छन्। 

तर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र अशोक राई नेतृत्वको जसपालाई मोर्चामा ल्याउने विषय त्यति सजिलो छैन। 

त्यही बुझेका अध्यक्ष नेपालले जसपा अध्यक्ष अशोक राईसँग दुई–तीनपटक  छलफल गरिसके। 

सर्वाेच्च अदालतमा मुद्दा परेर फैसला नआएकाले मात्र उनले कुनै निर्णय दिइसकेका छैनन्।  

उपेन्द्र यादव त मोर्चामै थिए। उनी सरकारमा रहेकै बेला एमाले–माओवादीले दल विभाजन गरेको भन्दै उनी प्रचण्डसँग रुष्ट छन्। तर, नेपालसँग उनले ‘धेरै कुरा मिल्ने’ जवाफ दिएको नेताहरु दाबी गर्छन्। 

सबैले मोर्चामा सहभागी हुन सकारात्मक रहेको सन्देश पठाएको थाहा पाएका एक नेताका अनुसार नेपालले निष्कर्ष निकालेका छन्, ‘समाजवादी मोर्चा कांग्रेस–एमालेसँग प्रतिस्पर्धी बन्छ। तर, अलिकति थप मिहिनेत गर्नुपर्छ।’

‘मुलुकको अग्रगमनका लागि वामधार एकै ठाउँमा उभिनुपर्छ भन्ने हो। मोर्चाको उद्देश्य त्यही हो,’ एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले भने, ‘नेपाली विशेषताअनुरुप समाजवादको तयारीमा लाग्नुपर्छ।’

अर्का पदाधिकारी जगन्नाथ खतिवडाले चुनावसम्म मोर्चा सक्रिय हुन सक्ने बताए।

२०८० असार ४ मा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर ‘समाजवादी मोर्चा’ गठन गरिएको थियो। मोर्चाको संयोजक आलोपालो प्रणाली अनुसार नेपाल र विप्लवले गरिरहेका छन्। 

माओवादी ३२, जसपा नेपाल १२ र एकीकृत समाजवादी १० सहित ५४ सिट रहेको यो मोर्चा संसदमा बलियो वैकल्पिक शक्तिजस्तो देखिन्थ्यो त्यसबेला। 

तर, प्रचण्ड सत्तामा रहँदा मोर्चाको गतिविधि ठप्प भयो। बरु प्रचण्डकै सरकारमा रहेको जसपा नेपाल विभाजन भएर जसपा बन्यो र मोर्चामा १२ सांसद रहेको बलियो शक्ति गुम्यो। 

एकताको पनि प्रयास 
गत साउन १ गते प्रचण्ड सरकारबाट हटे। साउन २ गते मोर्चाको बैठक बसेको थियो। जुन बैठकले सशक्त ढंगले अघि बढ्ने निर्णय गरेको थियो।

मोर्चाले नयाँ कार्यक्रम बनाउनुपर्ने निष्कर्षसहित चार सदस्यीय कार्यदल बनाइएको छ। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा कार्यदलमा छन्।

मिल्न सक्नेलाई मिलाएर मोर्चामा आबद्ध गराउँदै जाने प्रयासमा नेपाल नै लागिपरेका छन्। 

‘मोर्चालाई बलियो गराएर लेफ्टहरुलाई एकै ठाउँमा ल्याउने वातावरण बनाउँदा त्यसको लाभ एकीकृत समाजवादीलाई पनि हुन्छ,’ एकीकृत समाजवादीका दुईजना पदाधिकारीको समान भनाइ छ, ‘भित्रभित्र एकताको वातावरण बनाउने, नजिक हुने, एकले अर्काेलाई सहयोग र समन्वय गर्ने काम भइरहेका छन्।’ 

कांग्रेस–एमालेले चुनावमा गठबन्धन नगर्ने निर्णय गरिसकेका छन्। 

त्यसो त माओवादी केन्द्रले पनि चुनावमा गठबन्धन नगर्ने निर्णय गराएको छ। त्यही भएर पनि अध्यक्ष नेपालले मोर्चालाई बलियो बनाउन चाहेका छन्।

साना दलहरुबीच कार्यगत एकता गराएर मात्र चुनावमा जाँदा त्यसको लाभ लिन सकिने उनको विश्लेषण छ। 

‘वैचारिक, राजनीतिक कुरा धेरै हुने भएकाले यसको काम बाहिर थोरै मात्र देखिन्छ,’ ती पदाधिकारीले भने, ‘मोर्चा बलियो बनाउँदै अगाडि बढाउनुपर्छ। मिल्ने दलबीच एकरुपता ल्याउनुपर्छ।’

उपेन्द्र र प्रचण्डको सम्बन्ध प्रगाढ नभएकोले नेपाल बीचमा बसेर भूमिका खेलेका छन्। यस्तै, अशोक राईलाई पनि सँगै राख्नुपर्ने भन्दै निरन्तर छलफलमा छन्। 

जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङले समाजवादी विचारमा पार्टी प्रतिबद्ध रहेको बताए।

मोर्चाकै एउटा घटकले गरेको व्यवहारले बैठकमा सहभागी नभएको उनले स्वीकार गरे। 

‘कुनै न कुनै रुपमा सहकार्य हुन सक्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .