ad ad

राजनीति


विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

नेपालखबर
भदौ १९, २०८१ बुधबार १५:२५, काठमाडौँ

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ।

बुधबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले सो विधेयक संशोधनसहित पारित गरेको हो।

सो विधेयक सम्बन्धि समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित गरिएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिइन्।

साथै, समितिको बैठकले सो विधेयक प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्नका लागि सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। 

समितिकी सभापति सुवेदीले भनिन्, ‘समितिको आजको बैठकमा पेस भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित भएको घोषणा गर्दछु। गरिदिनुहुन अनुरोध गर्दछु। माननीय सदस्यहरू समितिको आजको बैठकबाट पारित भएको समितिको प्रतिवेदनलाई प्रतिनिधि सभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था मिलाई दिनका लागि सम्माननीय सभामुख समक्ष पत्रसाथ अनुरोध गरिने व्यहोरा माननीय सदस्यहरूलाई अवगत गराउँदछु।’

बैठकमा समितिका सदस्यहरूले सरकारले दिएको कार्यतालिका अनुसार कानून निर्माण कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिएका थिए। 

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले सरकारले तय गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न पनि सरकारले समयमै कानुन निर्माणको काम सम्पन्न गर्नुपर्ने भएकाले ती विषयलाई पनि समेटेर अघि बढ्न आवश्यक रहेको बताए।

‘सरकारले दिएको कार्यतालिका अनुसार कानून निर्माण गर्ने प्रक्रियालाई बाध्यात्मक बनाउन सकियो भने पनि त्यो अलि व्यवस्थित हुन्छ कि भन्ने मलाई लागेको छ। जस्तै आगामी गाँजा सम्बन्धि विषय हामीले ल्यायौँ। तर त्यो सम्बन्धि नियमनै बनेको छैन। कसरी कार्यान्वयन हुन्छ? यस्तो विषयमा यति समय भित्र त्यो नियम बनाउनु पर्‍यो भन्ने व्यवस्था हुन आवश्यक छ,’ घर्तीले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले तत्काल कुनै विधेयक तर्जुमा गर्नुपरे बाधा नआउने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताइन्।

उनले सरकारले ल्याएको कानुन निर्माण सम्बन्धि कार्यतालिका तलमाथि गर्न नहुने पनि बताइन्।

‘विधेयकमा प्राथमिकता क्रम निर्धारण गर्ने भन्ने छ। त्यसमा एउटा सर्वोच्च अदालतको आदेश र तत्काल कुनै विषयमा विधेयक तर्जुमा गर्नु परेमा त्यसमा कुनै बाधा अवरोध गर्न नहुने कुरा राख्नुपर्दछ,’ सांसद गौतमले भनिन्, ‘तर सरकारले जे कार्यतालिका दिन्छ कानुन निर्माणका लागि। जस्तो एउटा आर्थिक वर्षमा सरकारले जस्तो कार्यतालिका दिन्छ, त्यो कार्यतालिका अनुसार काम हुनुपर्छ भन्ने किसिमको भाषा राख्नुपर्छ भन्ने मेरो कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .