ad ad

राजनीति


रेडक्रस विवादमा मलेसियाका प्रस्तावित राजदूत तिम्सिनाको स्पष्टीकरण– मेरो व्यक्तिगत मुद्दा होइन

रेडक्रस विवादमा मलेसियाका प्रस्तावित राजदूत तिम्सिनाको स्पष्टीकरण– मेरो व्यक्तिगत मुद्दा होइन

नेपालखबर
भदौ १७, २०८१ सोमबार १८:१९, काठमाडौँ

मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले आफूमाथि उठाइएका प्रश्नहरूको संसदीय सुनुवाइ समितिमा जवाफ दिएका छन्। सोमबार दिउँसो सिंहदरबारस्थित समिति बैठकमा भएको सुनुवाइका क्रममा उनले मलेसियामा गर्नसक्ने प्रयासदेखि आफूमाथि उठेका प्रश्नबारे जवाफ दिएका हुन्। 

राजदूत तिम्सिनामाथि रेडक्रस सोसाइटीको तदर्थ समितिको अध्यक्ष हुँदा लेटरप्याड र छाप अनधिकृत रुपमा प्रयोग गरी विभिन्न निकायमा पत्राचार गरेको, विज्ञप्तीहरू निकालेको र संस्थाको प्रतिष्ठा र गरिमामा आँच आउनेगरी संस्थाको लेटरप्याड र छापको चरम दूरुपयोग गरेको लगायतका उजुरी परेको थियो। 

सो विषयमा स्पष्टीकरण दिँदै उनले उक्त मुद्दा आफ्नो व्यक्तिगत नभएको दाबी गरेका छन्। 

‘रेडक्रसको मुद्दा मेरो व्यक्तिगत होइन। यो रेडक्रसको विधानमा व्यवस्था गरिएको अध्यक्षले काम, कर्तव्य र अधिकारमा पर्ने अदालत, सरकारको प्रतिनिधित्व गर्दा अदालतमा पनि प्रतिनिधित्व गर्ने भन्ने व्यवस्था छ,’ तिम्सिनाले स्पष्टीकरण दिँदै भने, ‘त्यही व्यवस्थामा रहेर भएको हो। मैले नेत्र प्रसाद तिम्सिनाको होइन, व्यक्तिगत रुपमा लगाएको पनि छैन। संस्थाको समिति अविच्छिन्न उत्तराधिकारी हुने भन्ने संविधानमै लेखिएको छ।’

उनले आफू संस्थाबाट बहिर्गमन भएपछि कुनै सम्बन्ध नरहने पनि स्पष्ट पारे। 

‘म त्यस संस्थाबाट बहिर्गमन भएपछि विधानतः म सँग सम्बन्धित हुँदैन। मैले कब्जा गर्न खोजेको होइन। वार्ता, बहस र छलफललाई लिएर उजुरी बनाइयो,’ तिम्सिनाले भनेका छन्। 

तिम्सीनाले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको अध्यक्ष हुँदा संस्थाको छाप र लेटरप्याड दूरुपयोग गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले उनलाई राजदूत बनाउन नमिल्ने भन्दै समितिमा उजुरी परेको हो।   

‘निज प्रस्तावित राजदूत डाक्टर नेत्रप्रसाद तिम्सीनाले आफ्नो कार्यकाल समाप्त भएपश्चात पनि नेपाल रेडक्रस सोसाइटीको लेटरप्याड र छाप अनधिकृत रुपमा प्रयोग गरी विभिन्न निकायमा पत्राचार गरेको, विज्ञप्तीहरू निकालेको र संस्थाको प्रतिष्ठा र गरिमामा आँच आउनेगरी संस्थाको लेटरप्याड र छापको चरम दूरुपयोग गरेकाले आवश्यक कानुनी कारबाहीका निमित्त जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकोमा उक्त कीर्ते मुद्दा हाल प्रहरीको अनुसन्धानमा रहिरहेको अवस्थामा मुद्दाका आरोपी निज डाक्टर नेत्रप्रसाद तिम्सीनालाई कुन उच्च नैतिक चरित्रको आधारमा राजदूतजस्तो संवेदनशील पदमा नियुक्ति गर्न मिल्छ? तसर्थ निजको सिफारिस अस्वीकृत गरिपाउँ,’ उजुरीमा भनिएको छ। 

‘यो प्रश्न आउँछ कि आउँदैन भन्ने लागेको थियो। सबै माननीयहरूलाई धन्यवाद,’ सोमबार जवाफका क्रममा तिम्सिनाले भने, ‘रेडक्रस विगत ५ वर्षयता समस्याग्रस्त छ। यसको जवाफदेहीता, त्यहाँ भएको भ्रष्टाचार र अनियमितताका बारेमा पनि। मानवीय संस्थामा भ्रष्टाचार हुन्छ भन्नु पनि शिर निहुराउने अवस्था बन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .