ad ad

राजनीति


सार्वजनिक यातायातमा किन चढे रास्वपाका नेताहरू?

सार्वजनिक यातायातमा किन चढे रास्वपाका नेताहरू?

नेपालखबर
साउन २०, २०८१ आइतबार १९:१०, काठमाडौँ

दुई दिने क्लोज क्याम्प (बन्द कार्यशाला) को दोस्रो दिन शनिबार बिहान आ–आफ्नै साधनमा पार्टी कार्यालय पुगेका रास्वपाका नेताहरू साँझ घर फर्कने बेलामा सार्वजनिक यातायात चढेर फर्किए। 

कार्यशाला सकिएपछि अबको पाँच दिन सबै नेताहरू सार्वजनिक यातायात चढ्ने निर्णय भयो, सोही अनुसार शनिबार साँझबाटै यो निर्णय लागू भयो। 

रास्वपाले क्लोज क्याम्पमा दुई दिनसम्म विभिन्न समूह बनाएर छलफल गरेको थियो। कार्यशाला सकिँदै गर्दा सभापति रवि लामिछानेले सांसद र केन्द्रीय नेताहरू पाँच दिनसम्म सार्वजनिक यातायात चढ्ने प्रस्ताव गरे, सभापतिको प्रस्तावमा सबैले सहमति जनाएपछि हिजो साँझैबाट नेताहरू सार्वजनिक यातायातमा हिँडेका हुन्। 

सार्वजनिक यातायात सुधारका लागि आवश्यक नीति बनाउन पहिला समस्याको पहिचान गर्नुपर्ने भन्दै रास्वपा नेताहरूले यो अभियान चलाएका हुन्। अभियान अन्तरगत अब बुधबारसम्म उनीहरू सार्वजनिक यातायात चढेरै आफ्नो काममा निस्कनेछन्। 

सार्वजनिक यातायातमा नागरिकले भोग्नुपरेको समस्या र त्यसको सुधारका लागि रास्वपाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। यही उद्देश्य अनुसार सभापतिको प्रस्ताव आएको हो। 

‘क्लोज क्याम्प सकिँदैगर्दा सबैजना अध्ययनको लागि सार्वजनिक यातायात चढ्ने भन्ने कुरा भयो। कस्तो छ सार्वजनिक यातायात, सार्वजनिक यातायातमा सुधार गर्नुपर्ने कुराहरू, पछि हामीले आफ्नो तर्फबाट सदनमा सार्वजनिक महत्वको प्रस्ताव पनि राख्न सक्छौँ,’ सहप्रवक्ता प्रतिभा रावल भन्छिन्, ‘त्यसको अध्ययनका लागि सांसद र केन्द्रीय नेताहरू पाँच दिनसम्म सार्वजनिक यातायातमा यात्रा गर्ने कुरा भएको हो।’

शनिबार साँझ पार्टी कार्यालयबाट निस्कएपछि सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू डाक्टर तोसिमा कार्की, निशा डाँगी लगायतका नेताहरू सार्वजनिक यातायात चढेर आफ्नो गन्तव्यमा पुगे। 

उपसभापति डीपी अर्याल आज दिउँसो सार्वजनिक यातायात चढेर काभा भलिबल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आए। 

‘चढ्न त म हिजो साँझ र आज बिहान पनि सार्वजनिक यातायातमै हिँडे तर अहिलेचाहिँ अलि लामो यात्रा गरेर आएँ,’ अर्यालले भने, ‘सार्वजनिक यातायात भनेको सबैभन्दा महत्त्वपूर्ण हो नि, त्यही कारणले यसलाई अध्ययनको रुपमा लिएका छौँ। केही सिकिएको छ, हामीलाई नीति निर्माणका लागि काम लाग्ने केही टिप्सहरू भेटिएको छ।’ 

यो पाँच दिनको बीचमा कोही नेतालाई आपत परेको खण्डमा भने निजी यातायात प्रयोग गर्न पाउने छुट रहेको सहप्रवक्ता रावलले जानकारी दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .