ad ad

राजनीति


आफ्नै ‘क्याबिनेट चिकित्सक’ डा शैललाई देउवाले दिए जर्मनीको राजदूत उपहार

आफ्नै ‘क्याबिनेट चिकित्सक’ डा शैललाई देउवाले दिए जर्मनीको राजदूत उपहार

नेपालखबर
साउन १५, २०८१ मंगलबार १५:९, काठमाडौँ

सरकारले सोमबार विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सिफारिस सूचीमा डा. शैली रुपाखेतीको पनि नाम अटाएको छ। उनी जर्मनीका लागि राजदूत सिफारिस भएका हुन्। 

‘करियर डिप्लोम्याट’का रूपमा जर्मनीमा राजदूत रहेका रामकाजी खड्कालाई विस्थापित गरेर रुपाखेती जान लागेका छन्। यद्यपि, जर्मनी गएका खड्काको चार वर्षे कार्यकाल सकिन अझै समय बाँकी छ। उनी २०७८ पुसमा राजदूत बनेर जर्मनी गएका थिए।

खड्कालाई विस्थापित गरेर जर्मनी जान लागेका रुपाखेतीको कूटनीतिसँग भने कुनै साइनो छैन। उनी मूलतः शल्य चिकित्सक हुन्। 

उनी ललितपुरको सानेपास्थित स्टार अस्पतालका सञ्चालक हुन्। सन् २०१७ देखि उक्त अस्पतालको प्रबन्ध निर्देशक रहेका छन्।

नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटघाटमा डा. शैल रुपाखेती (बायाँबाट क्रमशः तेस्रो)

नेपाली कांग्रेसकी नेतृ एवं परराष्टमन्त्री आरजु राणा देउवासँग राम्रो सम्बन्ध बनाएका डा. रुपाखेतीले कांग्रेस सभापति शेरबहादुर देउवा २०७८ मा प्रधानमन्त्री हुँदा क्याबिनेट चिकित्सकका रूपमा नियुक्ति पाएका थिए।

२०७८ माघ २४ को मन्त्रिपरिषद् बैठकले उनलाई सचिवसरहको सुविधामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकका रूपमा नियुक्ति दिएकाे थियो। 

पोखराको मणिपाल अस्पतालबाट एमबीबीएस गरेका रुपाखेतीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेका थिए। केही समय उनले अमेरिका गएर पनि पढेको वैयक्तिक विवरणमा देखिन्छ।

जनरल सर्जरी र ल्याप्रोस्कोपिक सर्जरीमा उनको विशेषज्ञता रहेको छ। डा. रुपाखेती सोसाइटी अफ सर्जन्स नेपालका महासचिवसमेत हुन्।

कोभिड–१९ का बेला पीसीआर परीक्षण र व्यवस्थापनका पक्षमा योगदान गरेको भन्दै बारबरा फान्डेसनले उनलाई पुरस्कृत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .