ad ad

राजनीति


यी हुन् सरकारले सिफारिस गरेका १८ राजदूत

यी हुन् सरकारले सिफारिस गरेका १८ राजदूत

नेपालखबर
साउन १५, २०८१ मंगलबार ८:५५, काठमाडौँ

सरकारले ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको हो। 

राजदूत सिफारिस हुनेमा नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि छिन्। तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी हुन्।

भारतका लागि शंकर शर्मा नै सिफारिस भएका छन्। राजदूत शर्मालाई अघिल्लो सरकारले फिर्ता बोलाए पनि यो सरकारले पुनः सिफारिस गरेको हो। 

यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका र पूर्वसचिव चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिसमा भएका छन्। 

मन्त्रिपरिषदले चीनका लागि कृष्णप्रसाद ओलीलाई राजदूत सिफारिस गरेको छ। ओली यसअघि केपी ओली नै प्रधानमन्त्री रहेका बेला राष्ट्रिय योजना आयोगको सदस्य थिए।  

मलेसियाका लागि यसअघिकै सिफारिसअनुसार डा. नेत्रप्रसाद तिम्सिनाको नाम पठाइने भएको छ।

साउदी अरबमा नरेशविक्रम ढकाल सिफारिस भएका छन्। उनी यसअघि कतारमा राजदूत भइसकेका थिए। 

त्यसैगरी इजरायलमा पद्मकन्या क्याम्पसका पूर्वप्रमुख धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा प्राध्यापक कपिल श्रेष्ठ, जर्मनीमा डा. शैल रूपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल राजदूत सिफारिस भएका छन्। रिजाल यसअघि इजरायलमा राजदूत भइसकेका व्यक्त्ति हुन्।

त्यसैगरी स्पेनमा सनिल नेपाल राजदूत सिफारिस भएका छन्। नेपाल यसअघि पोर्चुगलमा राजदूत नियुक्त भए पनि कार्यक्षेत्रमा जानै नपाई फिर्ता बोलाइएका थिए। 

त्यसैगरी श्रीलंकामा रामकृष्ण भट्टराई, पोर्चुगलमा परराष्ट्र सहसचिव प्रकाशमणि पौडेल र पाकिस्तानमा सहसचिव रिता धिताल, डेनमार्कमा सुम्निमा तुलाधर र रुसमा जंगब चौहान राजदूत सिफारिस भएका छन्।

मन्त्रिपरिषद्ले चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, श्रीलंकाका वासुदेव मिश्र, दक्षिण अफ्रिकाका दानबहादुर तामाङ, रुसका मिलन तुलाधर र अस्ट्रेलियाका राजदूत कैलाश पोखरेललाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ । श्रेष्ठ, मिश्र र तामाङ माओवादीबाट तथा तुलाधर र पोखरेल एकीकृत समाजवादीबाट सिफारिस भएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .