ad ad

राजनीति


ओलीले संसद्‌बाट सार्वजनिक गरे मध्यराति कांग्रेस र एमालेले गरेको ७ बुँदे सहमति

ओलीले संसद्‌बाट सार्वजनिक गरे मध्यराति कांग्रेस र एमालेले गरेको ७ बुँदे सहमति

तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन ६, २०८१ आइतबार १४:२५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वाजनिक गरेका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले गत असार १७ गते मध्यराति भएको सहमति सार्वजनिक गरेका हुन्। 

‘खास समयमा यी दुई पार्टीले सहकार्य गरेका छन् र देशलाई परिणाम पनि दिएका छन्,’ ओलीले भने। 

‘नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमति सार्वजनिक गर्न चाहन्छु’ भन्दै ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने लगायतका बुँदा राखिएको बताए।

यस्ता छन् ओलीले सार्वजनिक गरेका सहमतिका बुँदाः
१) आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने। 

२) राष्ट्रिय सहमतिको सरकारले अभ्यासमा देखा परेका सवल र दुर्वल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने। 

३) अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायीक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने।

४) राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र ०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवालले गर्ने। 

५) राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास अभियानलाई तिव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्युनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने।

६) राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्व नेतृत्वदायी भूमिका र समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागीता रहने र अन्य दललाई पनि समावेश गर्ने। 

७) राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने। र जनभावना अनुरुप प्रदेश र स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तिव्रता दिने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .