ad ad

राजनीति


‘नयाँ दल’को जिम्मा ३० वर्ष निरन्तर पार्टी चलाएका नेतालाई

१८ सय प्रतिनिधिमध्ये झाँक्रीबाहेक कसैले किन गरेनन् विरोध?
‘नयाँ दल’को जिम्मा ३० वर्ष निरन्तर पार्टी चलाएका नेतालाई

गीता चिमोरिया
असार २१, २०८१ शुक्रबार २१:४९, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दसौँ महाधिवेशनबाट पार्टी अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भए। महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन्। लामो रस्साकस्सी र नेताहरूको छलफलपछि महाधिवेशनको पाँचौ दिन बिहीबार यी नाम घोषणा गरिँदा फ्लोरले ताली बजाएर अनुमोदन गर्‍यो।  

अध्यक्ष मण्डलका अध्यक्ष नेता झलनाथ खनालले अध्यक्षमा नेपाल, सम्मानित नेतामा आफ्नै नाम र महासचिवमा भुसालको नाम सुनाएर यी नामहरू निर्विरोध रहेकाले अनुमोदन गरिदिन आग्रह गरेका थिए। अध्यक्ष, महासचिव र सम्मानित नेतामा तीनजनाको नाम अनुमोदन भएपछि खनालले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम सचिवालय बैठकबाट टुङ्गो लगाइने जानकारी गराए र प्रज्ञा प्रतिष्ठानको हलमा उपस्थित १८ सय प्रतिनिधिलाई बिदा गरे।

पाका र पुरानै नेता नेतृत्वमा दोहोरिएपछि नेपालका राजनीतिक दलहरूमा युवा नेतृत्वको खडेरीका विषयमा फेरि एकपटक बहस सुरु भएको छ। 

पार्टी सचिव रामकुमारी झाँक्रीले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य सचिवालयले टुङ्गो लगाउने घोाषणाको विरोध गरिन्। अध्यक्ष र महासचिव सर्वसम्मत भए पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य सचिवालयले टुङ्याउनेगरी सहमति नभएको उनको भनाइ थियो। 

नेतृत्वको कार्यशैलीमा असन्तुष्टि जनाउँदै नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाएका माधवकुमार नेपाललाई हातमा समाएर डोर्‍याउँदै नयाँ पार्टी निर्माणमा बलियो साथ दिएकी झाँक्रीले विरोधमा उठाएको हात नेताहरूले देखेनन्। 

हलमा आफ्नो आवाज मधुरो सुनिएपछि झाँक्रीले अलि चर्को आवाजमा सामाजिक सञ्जालमा लेखिन्, ‘अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो। तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्‍यौँ/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो? को पदाधिकारी, को सदस्य, खै त खनाल कमरेड?’

नेतृत्व चयनमा असन्तुष्टि भए पनि झाँक्रीबाहेक अरू नेताहरूले प्रश्न उठाउन सकेनन्, न हलमा, न सामाजिक सञ्जालमा। उनीहरुलाई नेतृत्वमाथि प्रश्न गर्न के ले रोक्यो त, पाएको पद जाला भन्ने डरले?

‘पद त्याग्नुपर्छ भन्ने कुनै चिन्ता होइन। त्यो ठूलो विषय पनि होइन। तर अहिले जे गरियो/जे भएको छ, त्यो अहिलेको परिस्थितिको आवश्यकता देखिएकोले त्यसो भएको हो,’ सुदूरपश्चिममा प्रदेश सांसद समेत रहेका समाजवादीका केन्द्रीय सदस्य नरेश शाही भन्छन्।

शाहीले अहिलेको परिस्थिति भनेर इङ्गित गर्न खोजेको विषय पछिल्लो एक हप्तादेखि गर्माएको नेपाली राजनीति हो।

‘नेपाली कांग्रेस र नेकपा एमाले एकताबद्ध भएर जाने कुरा देखिएको छ,’ शाही भन्छन्, – ‘संसदका दुई ठूला पार्टीहरू मिलेर जाने कुरा संसदीय व्यवस्थामा आफैँमा एउटा नयाँ विषयजस्तो हो। दोस्रो कुरा, हाम्रो दसौँ महाधिवेशन विद्रोहपछिको पहिलो हो। पहिलो महाधिवेशनमा आएका प्रतिनिधिहरूको मनोविज्ञान एउटा, एकताबद्ध भएर जानुपर्छ भन्ने र दोस्रो अहिलेकै नेतृत्वलाई अनुमोदन गरेर जानुपर्छ भन्नेखालको मनोविज्ञान देखिएको छ। त्यसो हुनाले महाधिवेशनमा आएका प्रतिनिधिहरूको त्यो भावनालाई पनि सम्बोधन गर्ने कुरा हो।’

पार्टी गठनको सुरुवाती चरणमा भएकाले पनि सिंगो टिम एकताबद्ध गर्न यस्तो निर्णय भएको उनको दाबी छ। शाहीले भनेजस्तै हालकै नेतृत्वलाई निरन्तरता दिने मनोविज्ञानका प्रतिनिधि कसरी छानिएका थिए भन्ने अर्को चासोको विषय हो।


एकै व्यक्ति ३० वर्षदेखि कार्यकारी 
एकीकृत समाजवादीका अध्यक्ष नेपाल गएको ३० वर्षदेखि निरन्तर नेतृत्वमा छन्। 

२०४९ माघमा भएको नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशन (काठमाडौं) बाट महासचिव निर्वाचित मदन भण्डारीको २०५० मा निधन भयो। 

पाँचौँ राष्ट्रिय महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गर्दै नयाँ नेतृत्व निर्माण गरेको थियो। २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी महासचिव भण्डारीको निधन भएपछि केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवपछि तेस्रो वरीयतामा रहेका माधवकुमार नेपाललाई महासचिव चयन गर्‍यो। ०४९ पहिलो पटक पाँचौ महाधिवेशनबाट पार्टी अध्यक्ष प्रणालीमा गएको थियो।  
 
२०५४ माघमा नेपालगञ्जमा सम्पन्न एमालेको छैटौँ महाधिवेशनबाट माधवकुमार नेपाल नै महासचिव चुनिए, जुन कार्यकारी पद थियो। अध्यक्षमा मनमोहन नै रहे। 

२०५६ साल वैशाख १३ गते अध्यक्ष मनमोहन अधिकारीको चुनाव प्रचार अभियानका क्रममै निधन भएपछि स्थगनमा रहेको अध्यक्ष पद महाधिवेशनबाटै खारेज गरी सातौँ महाधिवेशनले माधवकुमार नेपाललाई पार्टीको एक मात्र पदाधिकारीका रुपमा महासचिव निर्वाचित गर्‍यो। 

सातौँ राष्ट्रिय महाधिवेशन २०५९ माघमा जनकपुरमा भएको थियो। 
  
जनकपुरमा भएको महाधिवेशनमा केपी शर्मा ओलीले एमालेलाई बहुपदीय संगठनात्मक संरचनामा लैजाने प्रस्ताव अघि सारेका थिए। जसमा उनले नेता वामदेव गौतमको समेत साथ लिएका थिए। तर मतदानमा जाँदा आफू कमजोर हुने देखिएपछि उनले सो प्रस्ताव फिर्ता लिए।  

दश वर्षे द्वन्द्व सकिएर मुलुक शान्ति प्रक्रियामा गएपछि २०६४ मा पहिलो संविधान सभाको निर्वाचन भयो। नेपाल निर्वाचनमा आफू पनि पराजित भए भने पार्टी पनि तेस्रो भयो। निर्वाचनमा अनपेक्षित पराजयपछि उनले महासचिव पदबाट राजीनामा दिए। 

उनले राजीनामा दिएपछि केन्द्रीय कमिटी बैठकले झलनाथ खनाललाई महासचिव बनाउने निर्णय गर्‍यो। 

२०६५ मा रुपन्देहीको बुटवलमा भएको आठौँ महाधिवेशनले सातौँ महाधिवेशनमा केपी शर्मा ओलीद्वारा प्रस्तुत भई स्थगन भएको पार्टी जीवनको लोकतान्त्रीकरण सम्बन्धी प्रस्तावलाई पारित गरी पार्टीलाई बहुपदीय सामूहिक नेतृत्वमा रुपान्तरण गर्ने निर्णय गर्‍यो। 

महाधिवेशनमा पहिलो पटक प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भयो। आठौँ महाधिवेशनबाट अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित भए। खनालले अध्यक्षमा केपी ओलीलाई पराजित गरेका थिए।  

पार्टीको वरिष्ठ नेतामा नेपाल, नेतामा ओली र उपाध्यक्षमा वामदेव गौतम र विद्या भण्डारी चयन भए। पद वरिष्ठ नेताको भए पनि नेता नेपाल भूमिकाका हिसाबले शक्तिशाली थिए।   

२०७१ असारमा काठमाडौँको भृकुटीमण्डपमा भएको नवौँ महाधिवेशनबाट नेता माधवकुमार नेपाललाई ५६ मतले पराजित गर्दै केपी ओली अध्यक्षमा निर्वाचित भए। 

त्यसपछि पार्टीमा नेपालको शक्तिको अभ्यास विस्तारै कम हुँदै गयो। ओलीसँगको सम्बन्ध भने २०५९ मा जनकपुर महाधिवेशनबाटै बिग्रिसकेको थियो। जनकपुर महाधिवेशनमा उनले एकतर्फी हिसाबले प्रतिनिधि चयन गरेको आरोप छ। जसका कारण ओलीले महासचिव प्रणालीलाई खारेज गरी पार्टीलाई सामूहिक नेतृत्व र अध्यक्षात्मक प्रणालीमा लैजान गरेको प्रस्ताव फिर्ता लिनुपरेको थियो।    

२०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा विघटन गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतियो। माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्न थालेपछि पार्टीका शक्तिशाली अध्यक्ष ओलीले २०७७ चैतमा नेपाल र भीम रावललाई ६ महिनाको लागि निलम्बन गरे। पार्टी हित विपरीत गुटबन्दी र अनुशासन हिन काम गरेको आरोप लगाउँदै पार्टीले कारबाही गरेपछि २०७८ भदौमा नेपालले नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) निर्माण गरे। 

२०७८ मा नेकपा एमालेबाट विद्रोह गरेर आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गरेका नेपालले दसौँ महाधिवेशनबाट आफैँलाई अध्यक्षमा सर्वसम्मत गराए। अध्यक्षमा नेता घनश्याम भुसालले प्रतिस्पर्धा गर्ने चर्चा भए पनि अन्ततः उनी महासचिव बन्दै नेपाललाई अध्यक्ष मान्न तयार भए। पार्टीमा पुरानै नेतृत्व दोहोरिँदा न कोही युवाले प्रश्न गर्ने आँट गरे, न त पुराना नेताले युवालाई नेतृत्व हस्तान्तरण गर्ने उदारता देखाए। पार्टीभित्रका पुराना नेता र युवा दुवैथरीको एउटै बहाना रह्यो, पार्टी नयाँ छ। 

यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पनि उसैगरी पुरानै नेतृत्वलाई चयन गरेको थियो।

नेपालका राजनीतिक दलहरूमा किन पुरानै नेता नेतृत्वमा दोहोरिरन्छन्? 

पद्मकन्या क्याम्पस, राजनीतिशास्त्र विभाग प्रमुख सविताकुमारी मल्लिक यसलाई चेतनाको कमी भन्छिन्। 

‘म यसलाई चेतनाको कमी भन्छु। किनकि चेतना भएको भए त अब मैले गरेर सकिसकेँ, अब अरूलाई पालो दिऊँ, युवा नेतृत्वलाई त्यही हिसाबले ट्रेन गरौँ र अगाडि बढाऊँ भन्ने हुनुपर्ने हो। तर के देखिन्छ भने, मैले यत्रो वर्ष आफ्नो जीवन यसैमा बिताएँ भने यो मेरो पेवा हो, मैले नै पाउनुपर्छ भन्नेजस्तो देखिन्छ,’ उनले भनिन्, ‘कोही आफ्नो विरोधमा गयो, उर्जाशील युवाहरू आए भने उनीहरूले आफ्नो ठाउँ ओगट्छन् भन्ने हिसाबले उनीहरूलाई कसरी पन्छाउने भन्नेमा नेताहरू लाग्ने गरेको देखिन्छ।’

अधिकांश नेताहरुमा आफूले राजनीतिमा खर्च गरेको समयको प्रतिफल आफ्नो उत्तराधिकारीले पाउनुपर्छ भन्ने धारणा रहेको उनको भनाइ छ।

‘जुन एकदमै गलत हो,’ मल्लिक भन्छिन्, ‘राजनीति भनेको त जसले राम्रो नेतृत्व दिन सक्छ त्यसलाई लिएर अगाडि बढाउने हो। राजनीति गर्न सक्ने, भिजन र मिसन भएकोे मान्छेलाई अगाडि ल्याउने हो।’

त्यसैले नेताहरूको अवकाशको उमेर तोकिनुपर्ने उनको राय छ।

‘राजनीतिक नेताहरूको पनि रिटायरमेन्टको उमेर तोकिनुपर्छ,’ मल्लिक भन्छिन्, ‘त्यो भयो भने मात्रै नेपालको राजनीति सुधारिन्छ। होइन भने त यो नेपालको राजनीति सधैँ यस्तै ढुलमुल अवस्थामा रहिरने हो।’

तर, त्यो काम सजिलो नभएको उनको भनाइ छ।

‘किनकी नीति निर्माण तहमा उनीहरू नै छन्। तर कठिन भए पनि यो एकदमै आवश्यक छ,’ उनले भनिन्।     

विश्लेषक राम गुरुङ भने राजनीतिमा सशक्त युवा पुस्ता आउन नसक्दा पनि पुराना विस्थापित हुन नसकेको विश्लेषण गर्छन्।  

‘कुनै पनि राजनीतिक दलमा देखिएका, जनता/कार्यकर्ताका माझमा चिनिएका, अन्त्यन्तै प्रभावशाली छाप छोडेका, नेतृत्व हाँक्न सक्छन् भन्ने योग्यता दक्षता बनाएका नेतृत्व नदेखिएकाले पनि नयाँले पुरानोलाई हस्तक्षेप गर्ने आँट गरेनन् होला,’ उनले भने, ‘अर्को कुरा, ६० देखि ३० वर्षबीचको जुन युवा समूह छ, त्यसको संख्या चाहिँ हरेक राजनीतिक दलमा खुम्चिने क्रमको देख्छु म। युवाहरूको संख्या जति सानो हुँदै जानु भनेको पार्टीभित्र पुराना वा वरिष्ठ भनिएका नेतालाई पालो दिने, हस्तक्षेप गर्ने वा विकल्प दिने मान्छे कम हुँदै जानु हो।’

नेतृत्वका लागि आफूलाई सशक्त बनाउन नसक्नु युवा पुस्ताको कमजोरी कि सशक्त युवा नेतृत्व तयार गर्न नसक्नु पुराना नेताको कमजोरी? यसमा पार्टी सञ्चालन पद्धति जिम्मेवार रहेको उनको ठहर छ। हरेक पार्टीमा व्यक्तिकेन्द्रित राजनीति हाबी भएको उनी बताउँछन्।

‘व्यक्तिकेन्द्रित राजनीति हाबी हुँदा के हुन्छ भने त्यो संगठनको विधि/पद्धतिहरू, प्रक्रियाहरू भन्दा पनि कसको नजिक हुँदा मैले के पाउँछु भन्ने मनस्थिति, मूल्य र मान्यता विकास भएर जाने भएको कारणले गर्दा व्यक्तिलाई चुनौती दिने अर्को कोही तयार हुँदैन,’ गुरुङ भन्छन्, ‘दोस्रो कुरा, नेपालका राजनीतिक दलहरू किन चलिराखेका छन्, राजनीतिक दलहरूको संगठन किन चलाइराख्नु परेको छ भन्ने सैद्धान्तिक आधारहरू क्रमश उहाँहरूले भुलिसक्नु भएको छ। बरु व्यक्तिले जे सोच्छ, त्यो सोचेको कुरा प्रधान भएको छ। सोहीकारण पनि राजनीतिक दलमा नयाँ पुस्ता आउन सक्दैन।’

यो समस्याको बनिबनाउ समाधान नभएकाले युवाहरुसँग हस्तक्षेपको विकल्प नरहेको उनी बताउँछन्।

‘युवा पुस्ताले के गर्न जरुरी छ भने दीर्घकालिन रुपमा पार्टी संगठन पनि बचाउँदै, दोहोरिरहने नेतृत्वको विकल्पमा अझै सशक्त, अझै उम्दा र बलियो युवा नेतृत्व तयार गर्नुपर्ने छ,’ उनी भन्छन्, ‘यो छोटो समयमा सम्भव हुँदैन। त्यसका लागि कार्यकर्तासँग जोडिनै पर्छ, जनताको समस्यामा भिज्नैपर्छ, मतदातासँग गएर भेट्नै पर्छ। जनता/मतदाता मेरो पछाडी छन् भन्ने पुष्टि गर्नैपर्छ, कार्यकर्ताले मलाई रुचाएका छन् भन्ने पुष्टि गर्नैपर्छ। तर, त्यो अभियान शीर्ष नेतृत्वलाई देखाउने र उनीहरूसँग शक्तिको लागि मोलमोलाइ गर्ने किसिमको हुनु भएन।’    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .