ad ad

राजनीति


दीर्घकालीन असर पर्ने कुनै काम नगर्न सरकारलाई एमालेको ध्यानाकर्षण

राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी पुनः अनुरोध
दीर्घकालीन असर पर्ने कुनै काम नगर्न सरकारलाई एमालेको ध्यानाकर्षण

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८१ बिहिबार १५:२३, काठमाडौँ

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्ने ध्यानाकर्षण गराएको छ।

संसद्का दुई ठुला दल मिलेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने समझदारी गरिसेको र त्यसै अनुसार वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता समेत लिइसकेको भन्दै सरकार अल्पमतमा परेको नेकपा एमालेको जिकिर छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै दुई ठूला पार्टी मिल्ने सहमति गरिसकेकाले वर्तमान प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको बताएका छन्। उनले यस्तो अवस्थमा दीर्घकालीन असर पर्ने काम नगर्न, नगराउन र नयाँ बन्ने सरकारमा सहभागी हुन समेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

‘संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ,’ एमालेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ।’

 

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सोमबार राती वर्तमान सत्ता गठबन्धन परिवर्तन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका थिए।

दुई दलबीचको सहमति अनुसार ओलीपछि देउवा आगामी चुनावसम्मै सरकारको नेतृत्वमा रहनेछन्। उनीहरूले निर्वाचन प्रणाली लगायतका विषय बदल्न संविधान संशोधन गर्ने समेत सहमति गरेका छन्।

उक्त सहमतिसँगै नेकपा एमालेले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा रहेका आफ्ना मन्त्रीहरू बुधबार फिर्ता बोलाएको थियो। एमालेको सर्मथन फिर्तासँगै सरकार अल्पमतमा परेको छ।

प्रधानमन्त्री प्रचण्डले भने यसका बाबजुत पनि आफूले राजीनामा नदिने र संसदमा विश्वासको मतको समामना गर्ने बताइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .