ad ad

राजनीति


कांग्रेस-एमालेबीच मध्यराति सहमति, पहिलो कार्यकाल ओली प्रधानमन्त्री

कांग्रेस-एमालेबीच मध्यराति सहमति, पहिलो कार्यकाल ओली प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८१ मंगलबार ६:३३, काठमाडौँ

कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ। संसद्का दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधन गर्ने मुख्य एजेन्डासहित सहमति गरेपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकार विघटनको संघारमा पुगेको छ।  

एक महिनायताका पटकपटकका छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका स्रोतले जनाएको छ। उनीहरुले ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउन सहमति गरेको जनाएका छन्। 

दुई दलबीचको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा नेतृत्व कांग्रेस सभापति देउवाले गर्नेछन्। 

उनीहरुबीच निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी बनेको छ। स्रोतका अनुसार कांग्रेस र एमालेले संविधान संशोधन गरेर मुख्यरुपमा संविधानको समानुपातिक निर्वाचन प्रणाली हटाउन चाहेका छन्।

दुई दलबीच आयोगले दिने सुझावका आधारमा संविधान संशोधन गर्ने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने सहमति भएको छ।

सुरुमा नेतृत्व गर्ने एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति दुई दलबीच भएको छ। यससँगै प्रदेश सरकारमा पनि दुई दलले ३ ३ प्रदेश बाँडेर लिने सहमति गरेका छन्।

उनीहरुले ‘राष्ट्रिय सहमतिको सरकार’ सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने तयारी गरेका स्रोतको दाबी छ। 

एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहित दुई दलका दोस्रो तहका नेताले सोमबार दिउँसो तयार पारेको लिखित सहमतिको मस्यौदामा मध्यराति दुई नेताले हस्ताक्षर गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .