समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै पनि मन्त्री प्रधानमन्त्रीको वास्तविक कमाइले काठमाडौँमा घर बनाउन नसक्ने ठोकुवा गरेका छन्।
बुधबार संघीय संसद बैठकमा बोल्दै अध्यक्ष भट्टराईले धेरैजसो मन्त्री, प्रधानमन्त्रीको कमाइ अस्वभाविक भएको भन्दै सम्पत्ति छानविन गर्न माग गरेका हुन्। उाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरे।
‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए?’, भट्टराईले प्रश्न गर्दै भने्, ‘हामी त साथीहरुले दिएको लुगा लगाएर, चप्पल पड्काएर हिँडेका थियौँ। आज कसरी सुटेड–बुटेड भयौँ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ? कसरी हाम्रा महल बने?’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गरे। प्रधानमन्त्रीको तेह्रथुमको घरभन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको भए पनि अहिले प्रधानमन्त्री ओलीले काठमाडौँमा महल बनाइसकेको बताए। ‘प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो हेर्दा मेरो गोरखामा रहेको घर त्यो भन्दा राम्रो छ। त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौँ?’ वास्तविक कमाइले कसैको पनि काठमाडौँमा महल बनाउने हैसियत नपुग्ने दावी गर्दै उनले भने, ‘म अलिकति गणितमा चाँसो राख्ने मान्छे पनि हुँ। अर्थमन्त्री पनि भइटोपलेको। मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले काठमाडौँमा घर बन्ने देख्दिनँ, यसको छानबिन गरौँ।’ उनले छानविनका लागि सबैसँग आग्रह समेत गरे।
पूर्वप्रधानमन्त्री भट्टराईले मातातीर्थलगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृति देखाउन खोजिएको आरोप समेत लगाए। मातातीर्थ लगायतको जग्गाका सन्र्दभमा आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, कानूनी र नैतिक रुपमा ठीक रहेको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले निषेध र प्रतिशोधको राजनीति गर्न खोजेको आरोप लगाए।
दुई तिहाइ नजिक रहेको सरकारका प्रधानमन्त्री कमजोर भएर आशंकित हुनुपर्ने अवस्था नरहेको भन्दै भट्टराईले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर डराउनुपर्दैन्।’ डा. भट्टराईले लोकमानले झैँ तर्साएर झुकाउने प्रधानमन्त्रीले सोचेको भए २०५१ सालको प्रसंग सम्झिन आग्रह गरे। जनयुद्ध सुरु गर्नुअगाडि तत्कालीन गृहमन्त्री ओली (हाल प्रधानमनत्री) ज्ञापनपत्र बुझाउन जाँदा सेनाले आफूलाई खुकुरी हानेको स्मरण गराए। उनले त्यसपछि नै जनयुद्ध चर्किएको स्मरण गराए।
भट्टराईले अहिले चारैतिर यतिको चर्चा चुलिएको भन्दै नेपाल ट्रष्टको जग्गा यतीको पोल्टामा कसरी गएका छन् भन्दै प्रश्न पनि गरे। ‘अब यती होल्डिङप्रति नै विशेष अनुराग भएर उसलाई अझै नपुगेको हो, अझै दिनुपर्ने हो ? मोहीहरुले बरु नपाए नपाउन भन्ने चाहना हो भने यो गम्भीर विषय हो, छलफल गरुन्’, उनले भने, ‘यो त दृष्टिकोणको कुरा भयो। जनताको जमिन खोसेर आफ्नो आसेपासेलाई दिने कि जोताहा मोहीलाई दिने हो भन्ने गम्भीर छलफल विषय बन्छ।’
देश भ्रष्टाचारले थिलथिलो परेको भन्दै भट्टराईले एक अर्कालाई दोषारोपण गर्नुभन्दा दोषीलाई दण्डित गर्ने प्रवृति अँगाल्नुपर्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया