राजनीति


सदनको आवाजः ‘७० करोड कमिसन प्रकरणबारे जानकारी चाहियो’

सदनको आवाजः ‘७० करोड कमिसन प्रकरणबारे जानकारी चाहियो’

नेपालखबर
फागुन १४, २०७६ बुधबार ८:५१,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका सांसदहरुले बुधबार संसद बैठकलाई सम्बोधन गर्दै भ्रस्टाचार प्रकरणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन माग गरेका छन्। उनीहरुले सेक्युरिटि प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामाग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे।

कांग्रेस सांसद राजेन्द्र कुमार केसीले पूर्व सञ्चारमन्त्री संलग्न भएको भनिएको ७० करोड कमिसन लगायत पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए। उक्त प्रकरणसहितका घटनामा सदनलाई जानकारी दिन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

आफ्ना कामको जस लिन संसदको लामो समय लिन सक्ने सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको भिडियो सामाग्रीबारे जवाफदेही नभएको उनको आरोप थियो।
‘जस लिन २–२ घण्टा रोष्टम कब्जा गर्ने प्रधानमन्त्रीजी आज यत्रो ठूला काण्डैकाण्ड मच्चिँदा जवाफ दिनु पर्ने कि नपर्ने?’, उनले प्रश्न गरे।

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा र बिजय मिश्रबीच ७० करोडको भ्रष्टाचारसम्बन्धी अडियो टेप सार्वजनिक भएको धेरै दिन भइसक्दा पनि सरकारले सदनलाई स्पष्ट जानारी नदिएको जनाए। उनले यसबारे सत्य तथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।

सांसद मिना बुढाले ‘७० करोड सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण लगायत अरर्बौ भ्रष्टाचार भइरहदा किन चुप बस्छन् प्रधानमन्त्री ?’भनी प्रश्न गरिन्।

नेकपा सांसद मोहन बाँनियाले सडक देखि सदनसम्म भ्रष्टाचारको विषयले चर्चा पाएको भन्दै भ्रष्टाचारीलाई कारवाही गर्न सरकारले आग्रह पूर्वाग्रह नगर्ने र कारवाहीका लागि खुट्टा नकमाउने उल्लेख गरे।

सांसद रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परेको जनाइन्। उनले उडान सुचारु गर्न सरकारको ध्यानाकर्षण गराइन्। ‘जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गर्ने प्रधानमन्त्रीलाई सिटामोल नपाएर ज्यान गुमाएरका हुम्लाका जनताको माया लागेन?’, उनले प्रश्न गरिन्।

उनले भनिन्, ‘प्रधानमन्त्री ज्यु तपाईले बर्थ डेको केक बोक्ने हेलिकोप्टर चार्टर गरेर खर्च गर्न अलिकति पनि तपाईलाई अप्ठ्यारो लागेन? यही जाडोमा सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाउनु पर्यो । सुत्केरी हुन नसकेर महिलाहरु छटपटाई मर्नु पर्यो । बरु केक चार्टर गर्नुभन्दा औषधीको चार्टर गरेर त्यो हेलिकप्टर हुम्ला पठाईदिउँ, जनता बचाउनुपर्छ भनेर अलिकति पनि तपाईलाई माया लागेन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad