ad ad

राजनीति


झलनाथको प्रश्न : हामीले टाउको जोडेर मात्रै नेतृत्वमा सहमति हुन्छ?

झलनाथको प्रश्न : हामीले टाउको जोडेर मात्रै नेतृत्वमा सहमति हुन्छ?

नेपालखबर
असार ३, २०८१ सोमबार १३:५४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतीमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।

सोमबार अखिल नेपाल महिला संघ (समाजवादी)को वैचारिक मुखपत्र महिला संकल्प–२ को विमोचन समारोहलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्। 

उनले पार्टीको आगामी महाधिवेशनबाट सहमतीमा नेतृत्व चयन गर्नुपर्ने भन्दै निश्चित आधारमा मात्रै सहमतिमा नेतृत्व चयन हुनसक्ने बताए। 

‘हामी जुटेको भनेकै एउटा वैचारिक, राजनीतिक कार्यदिशाको आधारमा, नीतिको आधारमा, सिद्धान्तको आधारमा, एउटा लक्ष्यको आधारमा तपाई हामी जुटेका छौँ। पार्टी भनेको त्यस्तै हो। त्यो निश्चित आदर्श, सिद्धान्त, नीतिको आधारमा हुने कुरा हो। त्यसरी नै नेतृत्व निर्माण पनि सही वैचारिक, राजनीतिक, आधारमा हुन्छ। सहमतीका साथ गर्नुपर्छ, एकदम ठिक हो,’ खनालले भने, ‘तर त्यो सहमती केमाथि आधारित हुनुपर्‍यो? वैचारिक, राजनीतिक कार्यदिशा, नीति, सिद्धान्तमाथि आधारित हुनुपर्‍यो। त्यस्तो आधारित सहमतीको नेतृत्व निर्माण गर्‍यौँ भने त्यो सुनमा सुगन्ध हुन्छ। त्यसकारण सुनमात्रै नबनाऔँ, सुगन्ध आउने सुन बनाऔँ।’

साथै, नेताहरूको टाउको जोडेर मात्रै सहमति नहुने भन्दै वैचारिक, राजनीतिक कार्यदिशा तथा नीति र सिद्धान्तमा आधारित भएर पार्टीको नेतृत्वका लागि सहमति गर्नुपर्ने उनको भनाइ थियो। 

‘नेतृत्व निर्माण गर्ने भनेको कमरेडहरुले भनेजस्तै एकदमै सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्छ। तर सहमति भनेको के त? सहमति भनेको केमाथि आधारित हुन्छ? यसो हामीले टाउका जोडेर हुन्छ कि? अकंमाल गरौँ कमरेडहरू भनेर हुन्छ कि? के ले हाम्रो एकता गर्छ? तपाईं हामी सबै के आधारले यहाँ जुटेका छौँ?’ उनले प्रश्न गरे।

सम्मानित नेता खनालले हाल पार्टीभित्र ८ प्रतिशत मात्रै महिला सदस्यहरू रहेको भन्दै धेरै भन्दा धेरै महिला तथा श्रमिक महिलाहरुलाई पार्टीमा संगठित गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .