राजनीति


सरकार असफल बनाउन पार्टी भित्रैकालाई उचालियोः प्रधानमन्त्री

सरकार असफल बनाउन पार्टी भित्रैकालाई उचालियोः प्रधानमन्त्री

नेपालखबर
फागुन १२, २०७६ सोमबार १०:१३,

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल बनाउन प्रतिक्रियावादीहरुले पार्टी भित्रैका व्यक्तिको महत्वकांक्षा बढाउने काम गरिरहेको आरोप लगाएका छन्।

पार्टीको विभिन्न कमिटीहरुमा अल्पमतमा पर्दै गएका उनले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘पार्टीभित्रै फाटो बनाउन सकिन्छ कि, कसैको महत्कांक्षा बढाएर त्यसलाई प्रयोग गरेर समस्या खडा गर्न सकिन्छ कि भन्दै अनेकौँ शक्ति लागेका छन्।’

कुन शक्तिले पार्टीका नेताहरुको महत्वका‌ंक्ष बढाएको हो, कस्तो महत्वका‌ंक्षा बढाएको हो भन्ने उनले खुलाएनन्।

आन्तरिक जीवनका घटनाक्रमप्रति नरम रुपमा पेश भएका उनले विरोधीहरुले पासो थाप्ने काम गरिरहेको भन्दै त्यसको व्याख्या सुनाए। विरोधीतर्फ संकेत गर्दै उनले भने,‘उनीहरुले अनेक प्रकारका पासो थाप्न खोज्छन्, अस्त्रहरु प्रयोग गर्छन्, प्रचार युद्ध गर्छन् र आक्रमण गर्छन्। फाटो बनाउन सकिन्छ कि, बिगार्न सकिन्छ कि, कसैको महत्कांक्षा बढाएर त्यसलाई प्रयोग गरेर समस्या खडा गर्न सकिन्छ कि, आन्दोलनलाई बदनाम गर्ने, कमजोर बनाउनेतर्फ उनीहरुको ध्यान छ।’

प्रधानमन्त्री ओलाीलाई पोखराको पीएन क्याम्पस नजिक युवाहरुले कालो झन्डा देखाउने प्रयास गरेका थिए। सो विषयलाई उनले आफ्नो मन्तव्यमा उल्लेख गरेनन्। भने, ‘विरोधी शक्तिहरुसँग रचनात्मक कुरा र सुझाव हुँदैन। त्यो हामीले बुझ्नुपर्छ, एकता सुदृढ गर्ने, कुनै भ्रममा नपर्ने र एकतावद्ध ढंगले अगाडि बढ्ने त्यो सफलता र निरन्तरताका पूर्वसर्त हुन्।’

प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलन र समाजवाद निर्माण उद्देश्य पूरा गर्नु आफ्नो उद्देश्य भएको उल्लेख गरे। यी विषय सहज नभएको उनको भनाइ थियो। ‘कम्युनिष्ट आन्दोलन, समाजवादको निर्माण सजिलोसँग कहीँ पनि भएको छैन। त्यो उहिले जतिबेला सशस्त्र संघर्षको जमानामा पनि, अब त्यो अवस्था छैन (सशस्त्र संघर्ष) को, शान्तिपूर्ण अवस्थामा जाँदा पनि सहज ढंगले प्रतिक्रियावादीले,लोकतान्त्रिक विधिबाट अगाडि बढ्छु भन्दा पनि प्रतिक्रियावादीहरुले त्यसलाइ स्वीकार्छन् भन्ने कुरा छैन।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति आक्रामक देखिएका उनले कांग्रेसले गैरविषयलाई लिएर सरकारको आलोचना गरेको आरोप लगाए। ‘केही न केही नाममा आलोचना गरिएको छ, कहिले दौराको रंग मिलेन भनेर, गैरविषयलाई, अंग्रेजीमा नन इस्यु भन्छन् नि, कुखुराको एउटा चल्लाले के टिपेर कुना लाग्छ, अरुलाई के टिप्यो थाहा छैन, पछि लाग्छ्न्, यहाँ यस्तै भएको छ।’ उनले कांग्रेस विरोधको विषयबिनै दिनदिनै माइतीघर गएको जिकिर पनि गरे।

नेपालका कम्युनिस्टबाट विश्वले सिक्न सक्छ

उनले कम्युनिष्टहरुको लागि कुनै समय अनुकुल नभएको बताउँदै अगाडि थपे,‘लोकतान्त्रिक प्रक्रियामा जाँदा पनि स्वीकार्दैनन्। अहिलेको बहुमतीय प्रणालीबाट बहुमत ल्याउन सजिलो नभएको बताउँदै नेपालमा कम्युनिष्टले बहुमत ल्याउनु, लामो समयदेखि फरक–फरक विचार बोकेका पार्टीबीच एकता हुनु विश्वकै कम्युनिष्ट आन्दोलन, प्रगतिशील आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनले शिक्षा लिनसक्छन्। ‘यो असफल भयो भने आन्दोलन उग्रतामा जानसक्छ, सफल हुन सक्दैन, यो आन्दोलन असफल भयो भने निरासामा परिणत भएर दक्षिणपन्थमा जानसक्छ।'

 देशी विदेशी प्रतिक्रियावादीहरुलाइ परास्तै गर्दै अहिलेको अवस्थामा आइपुगेको उल्ललेख गर्दै उनले भने,  ‘हामी आफ्नो लागि मात्र नभइ विश्वकै लागि पनि हामीले सही बाटो समातेका छौँ, एकतावद्ध भएर जानुपर्छ, यो बाटोलाई नछाडौँ। देशीविदेशी प्रतिक्रियावादीहरुको सक्रियता र हमलालाई परास्त गरेर अहिलेसम्म आएका छौँ, अझ अघि जान सक्छौँ। यो असाधारण प्रयास र सही नीतिका कारण हो।’

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरुको लामो व्याख्या गरेका थिए। उनले सरकारले दूरगामी महत्वका र वर्तमानको आवश्यकता अनुसारको योजना तयार गरेको दावी गर्दै भने, ‘यो ६ महिनामा राम्रो काम गरेको देखाउने, एक छिनको पपुलिष्ट हुने कार्यक्रम ल्याउने सरकार हैन।’

काठमाडौंको सडकमा कोही असहाय छैन, सौखिन छन्

एक फरक प्रस‌‌ंगमा सरकारकै कारण काठमाडौ‌ंका सडकमा अहिले कोही असहाय मान्छे नभएको दाबी गरे। सडकमा देखिएका केही असहायहरुलाई भने उनले शौखिन मगन्तेको संज्ञा दिए । ‘काठमाडौैंको सडकमा असहाय मान्छे छैन्। केही सैखिनहरु छ्न्। आउ भन्यो ३५ हजार माग्छ्न्’, उनले भने।

स्वास्थ्य बीमा, कृषिको आधुनिकीकरण पनि सरकारकै देन भएको उनको भनाई थियो। सरकारले रोजगारी सिर्जना गरेकाले नै पछिल्लो समयमा विदेश जाने युवाहरु घटेको जिकिर पनि गरे। ‘अहिले विदेश जाने क्रम स्थिर छ किनकि रोजगारी यहीँ सृजना भएको छ’ उनले भने,‘खाडी जानु भनेको ५० डिग्रीको प्रेसर कुकरमा बस्नुजस्तै हो, त्यता किन जानू, यहाँ उत्पादन गर्नुहोस्, त्यहाँ बेच्दा पैसा आउँछ भनेर मैले तेह्रथुपममा भनेँ।’

प्रधानमन्त्री ओली कुरैकुरामा हिमाली क्षेत्रमा पाइने च्याङ्ग्राले मिनरल वाटर र औषधि खाएकाले त्यसको माग बढी भएको विषयमा पनि प्रवेश गरे। उनले हिमाली चौँरीबाट उत्पादित चीज तिब्बतमा बेच्नसके ५ गुणा बढी मूल्य पाइने बताउँदे यहाँको विविधतालाई उपयोग गर्दै प्रांगारिक कृषिमा जोड दिनुपर्ने उल्लेख गरे।

उनले सरकारका सफलतामा नवलपुरमा फलामखानी संचालनको तयारी, किमाथांका नाकाको बाताबे ,पुर्व पश्चिम रेलमार्गको तयारी तथा निजगढ विमानस्थल निर्माणको चरणलाई पनि जोडे। निजगढमा केही विवाद रहेको स्वीकार्दै उनले त्यो विवाद टुंग्याउने र विमानस्थल बनाउने उद्घोष पनि गरे। आफ्नै पानी जहाजको प्रसंग निकाल्दै उनले गंगा नदी हुँदै समुद्रमा आफु्नै झण्डा भएको पानीजहाज चलाउने कुरा पनि दोहोर्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad