राजनीति


ओलीलाई यसरी खट्किनेछ बफादार विश्वासपात्रको अभाव

ओलीलाई यसरी खट्किनेछ बफादार विश्वासपात्रको अभाव

थिरलाल भुसाल
फागुन ८, २०७६ बिहिबार १५:४८,

केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीमध्ये सर्वाधिक विवादित र आलोचना खेपेका मन्त्री थिए– गोकुलप्रसाद बाँस्कोटा।

तर, सार्वजनिक जीवन र आफ्नै पार्टीभित्र जति आलोचित भएपनि प्रधानमन्त्री ओलीका लागि भने उनी सबैभन्दा प्रियपात्र र सक्षम मन्त्री रहिरहे।

बाँस्कोटाका कतिपय अभिव्यक्ति, काम कारबाही र निर्णयलाई लिएर सञ्चार क्षेत्र र नागरिक समाज आन्दोलित नै भएको थियो भने सामाजिक सञ्जालमा निरन्तर उनको आलोचना भइरह्यो।

प्रधानमन्त्री ओलीका सार्वजनिक अनुहार
बाँस्कोटा सञ्चारमन्त्री बनेपछि उनको मन्त्रालयले ल्याएका विभिन्न विधेयक निकै विवादित भए। तिनमा समेटिएका कैयौँ विवादास्पद प्रावधान हटाउन समेत सरकार बाध्य भएको थियो।

प्रधानमन्त्री बनेपछि ओलीले बाँस्कोटालाई राज्यमन्त्रीको रुपमा निकै ‘लो प्रोफाइल’ मा सरकारमा प्रवेश गराए।

राज्यमन्त्री बनेदेखि नै उनी विवादमा आउन थालेका थिए तर उनी जति विवादमा पर्थे, ओलीले बाँस्कोटालाई त्यति नै पुरस्कृत गर्दै गए।

२०७४ चैत २ मा राज्यमन्त्री बनाइएका उनलाई ओलीले २०७५ जेठ १८ गते फुलमन्त्री मात्र बनाएनन्, प्रधानमन्त्रीकै आधिकारिक आवाज र अनुहार (फेस एन्ड भ्वाइस) भनेर बुझिने सरकारको प्रवक्ता नै बनाए।

प्रधानमन्त्रीले आफ्ना निकटतम विश्वासपात्र र प्रायः वरिष्ठ मन्त्रीमध्येबाट प्रवक्ता तोक्ने प्रचलन हुन्छ। सरकार प्रमुखले प्रायः सालीन, कूटनीतिक शैली, वाकपटु र नम्र स्वभाव भएको व्यक्तिलाई प्रवक्ता बनाउन चाहन्छन्। त्यस्तो जिम्मेवारीमा पनि ओलीको नजरमा बाँस्कोटा नै उत्कृष्ट ठहरिए।

डबल मन्त्रालय
गत पुसमा समाजवादी पार्टीका उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले सरकार छाडेपछि रिक्त मन्त्रालयको जिम्मेवारी ओलीले आफ्ना निकटतम दुई मन्त्रीलाई थपिदिए। ती दुईमध्येको बढी रोजाईको सहरी विकास मन्त्रालयको मन्त्री पनि उनै बाँस्कोटालाई बनाए।

एकातर्फ आफ्नै विभागीय काम र सो मन्त्रालयले ल्याएका कानुनका कारण उनी आलोचित रहे भने अर्कोतर्फ समग्र सरकार र प्रधानमन्त्री ओलीको बचाउमा उनले दिने रुखा प्रतिक्रिया, असहिष्णु शैली र अभिव्यक्तिका कारण पनि उनको आलोचना भइरह्यो।

सरकार, विभिन्न मन्त्रालय र सरकारी निकायसँग जोडिएर आउने भ्रष्टाचार, अनियमितता र दुरुपयोगसम्बन्धी सार्वजनिक भएका समाचार, जिज्ञासाप्रति उठेका प्रश्नहरुलाई तथ्यतथ्यांकसहित प्रस्ट्याउने र जिम्मेवार जवाफ दिनुको साटो उनले कटाक्षपूर्ण र आक्रामक प्रतिक्रिया दिन्थे। यही शैलीका कारण उनीप्रति आममानिसमा निकै नकारात्मक छवि बनिरह्यो।

दिगम्बर झा प्रकरण
उनले आफ्नै मन्त्रालय मातहतका निकायमा गरेका नियुक्ति पनि उत्तिकै विवादित रहे।

राम्रो काम नगरेको र असक्षम भनी यही सरकारले बर्खास्त गरेका नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झालाई उनले सोही पदमा पुनः नियुक्त गरे।

त्यसो त, उनलाई सीधै ल्याउन अप्ठेरो भएपछि आवेदन मागी प्रतिस्पर्धाको औपचारिकता पूरा गरिएको थियो।

एक पटक बर्खास्त भइसकेका व्यक्तिलाई ठूलो आर्थिक चलखेल गरेर पुनः ल्याएको भनी संसद्, विपक्षी दल र आफ्नै दलभित्र समेत व्यापक आलोचना भयो। पुनः नियुक्ति गरेको साढे तीन महिनापछि झालाई फेरि राजिनामा गराइयो।

आफैँले हटाएको व्यक्तिलाई किन ल्याइयो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ भने उनले कहिल्यै दिएनन्।

नेपाल टेलिकमकै प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई हटाएकोमा पनि बाँस्कोटाको व्यापक आलोचना भयो।

सत्तारुढ सांसदहरुबाटै राजीनामा माग
केही सातापहिले सत्तारुढ दलका सांसद सुदन किरातीले संसदीय समितिको बैठकमै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियतासँग जोडिएको विषयमा अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा मागे।

एमसीसी सम्झौतासम्बन्धी सञ्चारकर्मीले सोधेको एक जिज्ञासामा मन्त्री बाँस्कोटाले अमेरिकाले चाहेमा संसारको जुनसुकै कुनामा जे चाह्यो त्यही गर्नसक्छ भन्ने अभिव्यक्ति दिएपछि त्यसको विरोध भएको थियो।

‘अमेरिका सर्वशक्तिशाली हो। उसले जसरी इरानी जर्नेल सुलेमानीलाई इराकमा हत्या ग¥यो, त्यसैगरी अन्यत्र पनि गर्नसक्छ’ भनेपछि सो अभिव्यक्तिको विरोध गर्दै सत्तारुढ दलकै सांसद किरातीले उनको राजीनामा मागेका थिए।

त्यसो त केही महिनापहिले गुठी विधेयकविरुद्ध काठमाडौंवासीले आन्दोलन चर्काएका बेला बाँस्कोटाले सो विधेयकको विरोधमा उत्रिनेलाई सामन्तीको संज्ञा दिएका थिए।

त्यसपछि काठमाडौं ७ बाट निर्वाचित नेकपाकै रामवीर मानन्धरले ‘गुठियारलाई सामन्ती भन्ने बाँस्कोटाले क्षमायचाचनासहित राजीनामा दिनुपर्ने’ माग गरेका थिए।

पछि, मानन्धर सहरी विकास मन्त्रालयको राज्यमन्त्री छँदै ओलीले बाँस्कोटालाई त्यही मन्त्रालयको मन्त्री बनाएपछि मानन्धर बाँस्कोटाकै राज्यमन्त्री भएर काम गर्नुप¥यो।

तर, बाँस्कोटाबारे सार्वजनिकरुपमा हुने आलोचना र प्रश्न तथा सत्तारुढ दलकै सांसद तथा नेताले गर्ने मागले प्रधानमन्त्री ओलीलाई भने पटक्कै छुँदैनथ्यो।

त्यसको पछिल्लो उदाहरण हो– गत सोमबार बाँस्कोटाको गृहजिल्लामै पुगेर प्रधानमन्त्रीले गरेको उनको प्रशंसा।

जिल्लावासीका बीचमा उनको मुक्तकण्ठले प्रशंसा गर्दैै प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई देख्नासाथ विरोधीहरु चुप लाग्ने बताएका थिए।

‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्काेतिर अरू सबैजस्तो भएको छ,’ उनले भने, ‘सरकारको विरोध गर्नुप¥यो भने गोकुल बाँस्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन्।’

gokul-baskota8.jpg

कसरी जिते ओलीको विश्वास?
बाँस्कोटाले ओलीको वरिपरि घुमेकै आधारमा उनको विश्वास जितेको धेरैको बुझाइ छ। तर, बाँस्कोटाले आफ्नो व्यक्तिगत क्षमताका आधारमा निर्वाचन क्षेत्र र अन्य ठाउँमा आफ्नो बलियो ‘ग्राउन्ड’ पनि नबनाएका भने होइनन्।

गृहजिल्ला काभ्रेमा उनले केही वर्षयता निकै बलियो पकड बनाएका छन्, जुन उनले यसपटक संसदीय चुनावमार्फत् नै प्रमाणित गरे।

२०७४ को चुनावमा उनले काभ्रे २ बाट आफ्ना प्रतिद्वन्द्वीलाई १८ हजार ७७३ मत अन्तरले पराजित गरेका थिए। उनका प्रतिद्वन्द्वीले ३६ हजार ७५३ मत ल्याउँदा उनले ५५ हजार ५२६ मत प्राप्त गरेका थिए।

प्रधानमन्त्री ओलीजस्तै फराकिलो मतअन्तरले चुनाव जितेर संसद्मा आएपछि बाँस्कोटाको चहलपहल बढ्नै नै भयो।

ओलीनिकट एक नेताका अनुसार एमालेभित्र र ओलीगुटभित्र पनि बाँस्कोटा एक यस्ता अत्यन्त सीमित नेताहरुमा पर्छन्, जसले ओलीलाई निरन्तर साथ दिइरहे। दुई दशकभन्दा बढी समयदेखि कुनै पनि मुद्दा र समयमा ओलीको साथ नछोडेका औँलामा गन्न सकिने नेतामा पर्छन् बाँस्कोटा।

माधव नेपाल तत्कालीन नेकपा–एमालेमा सर्वेसर्वा पार्टीप्रमुख रहेका बेला ओली एकपटक निकै पेलिएका थिए। शक्तिशाली महासचिव नेपालले पार्टीका सबै जिल्ला प्रमुखहरुलाई केन्द्रको स्वीकृतिबिना आफ्नो जिल्लामा कार्यक्रमको अतिथि नबनाउनु भनी सर्कुलर नै जारी गरे।

त्यसबेला ओलीलाई कुनै पनि जिल्ला प्रमुख अतिथिका रुपमा कार्यक्रममा बोलाइएन। तर, त्यसबेला पनि काभ्रेका बाँस्कोटा र बाजुराका कर्णबहादुर थापाले ओलीलाई साथ थिए।

त्यसैले उतिबेला ओलीलाई देशभर पार्टीमा एक्लिँदा पनि ‘दुईजना जिल्ला नेताको मात्र साथ लिएर स्थापित भएको नेता’ भनेर उनीनिकटका नेताहरुले यो प्रसंग पटकपटक स्मरण गर्न रुचाउँछन्।

बाँस्कोटालगायत ओलीनिकट केही नेताहरुले मदन भण्डारी फाउन्डेसनको स्थापना त्यतिबेलै गरेका थिए, जतिबेला एमालेका देशभरका कमिटिहरुमा ओली एक्लिएका थिए। स्थानीय समितिहरुले ओलीलाई अतिथि बनाउने स्वीकृति समेत पार्टी नेतृत्वबाट पाउँदैनथे।

त्यही प्रतिकूल परिस्थितिमा ओलीनिकटहरुले सो फाउन्डेसन स्थापना गरे। जिल्लाजिल्लामा त्यसकै शाखा खोलेर तीमार्फत् कार्यक्रम बनाएर काठमाडौंबाहिर आफ्नो गुटका कार्यकर्तासँग सम्पर्क बढाउने र पार्टीका कार्यक्रमसँग समानान्तर गतिविधि सञ्चालन गरेर ओलीलाई पार्टी संगठनमा हावी हुन सहयोग गरेका थिए। बाँस्कोटा तीमध्येका एक हुन्।

विभिन्न ऐनमौकामा बाँस्कोटाले ओलीलाई राजनीतिक, आर्थिक र पारिवारिकरुपमा समेत निकै भरथेग गर्दै आएका छन्।

२०५८ सालमा जनकपुरमा सातौं महाधिवेशन हुँदा उनले काभ्रेका पूरै प्रतिनिधिलाई ओलीको पक्षमा उतारेर ओलीलाई प्रभावित गर्न सफल भएका थिए।

केही नेताहरुका अनुसार ओली बेलाबेला आर्थिक संकटमा पनि पर्ने गरेका थिए र त्यस्तो अवस्थामा पनि उनलाई सहयोग गर्न बाँस्कोटा चुकेनन्।

‘केही वर्षपहिलेसम्म पनि ओलीलाई विभिन्न कामका लागि आर्थिक जोहो गर्न बेलाबेला स्रोत जुटाउन समस्या पर्थ्यो, त्यस्तो बेला पनि बाँस्कोटाले सहयोग गरेका छन्,’ बाँस्कोटानिकट एक नेकपा नेताले भने। उनका अनुसार अरनिको राजमार्ग हुँदै ‘सीमाबाट व्यापार गर्ने केही व्यापारीदेखि विभिन्न व्यक्तिहरुसँग व्यवस्था गरेर पनि उनले ओलीलाई आर्थिक स्रोत जुटाउने गर्थे।’

२०५१ सालमा नेकपा–एमालेको सरकारमा ओली गृहमन्त्री बनेदेखि नै बाँस्कोटाले ओलीलाई निरन्तर साथ दिँदै र प्रभावित गर्दै आएका हुन्।

एकपटक सम्बन्ध कायम भएपछि बाँस्कोटाले ओलीसँग निरन्तर निकटता र आत्मीयता कायम राख्न सफल भएका छन्।

अहिले ओलीको ‘किचेन क्याबिनेट’ मा रहेका सीमित व्यक्तिमा बाँस्कोटा पनि पर्छन्।

बालकोटमै मन्त्री निवास
ओली प्रधानमन्त्री वा शक्तिमा हुँदा–नहुँदा जहिले पनि बालकोटस्थित निवासमा गइरहने बाँस्कोटा यसपटक ओली प्रधानमन्त्री भएर बालुवाटार सरेपछि ओलीकै घरमा बस्न थालेका थिए। पछि मन्त्री नियुक्त भएपछि ओलीकै घरलाई मन्त्रिनिवासमा परिणत गरी अहिले पनि त्यहीँ नै बस्दै आएका छन्।

केही महिनापहिले मातृका यादवले मन्त्रीले समेत प्रधानमन्त्रीसँग पहुँच पाउन गाह्रो भएको गुनासो मन्त्रिपरिषद् बैठकमै गरेका थिए। प्रधानमन्त्रीभन्दा पहिले त्यसको जवाफ दिँदै बाँस्कोटाले भनेका थिए, ‘ल भोलि १० बजे बालुवाटार आउनुस्, प्रधानमन्त्रीसँग तपाईको भेट पक्का भो।’ उनको यो भनाइ नेकपाको नेतृत्वमा चर्चाको विषय बनेको थियो।

ओलीनिकट नेताहरुका अनुसार निसर्तः सहयोग र मनमा लागेको कुरा अगाडि नै राख्ने बाँस्कोटाको हक्की स्वभाव ओलीलाई मन पर्छ।

बाँस्कोटाकै आलोचना गर्नेहरु पनि प्रायः उनको स्वभावजन्य कमजोरीलाई औँल्याउने गर्थे। तर, जोगाउनै नसकिने भ्रष्टाचार प्रकरणको पासोमा आफ्ना निकटतम विश्वासपात्र परेपछि प्रधानमन्त्री ओलीले उनलाई सो विषय सार्वजनिक भएको केही घण्टाभित्रै पदबाट हटाएका छन्। मन्त्रिपरिषदमा बाँस्कोटालाई प्रधानमन्त्रीले पक्कै ‘मिस’ गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .